सयवर्षमा आउँछ भन्छन् कुनै एक महामारी ।
विश्वभरीनै विनाश गर्छ लिई रूप प्रलयकारी ।।
यसपाला यसले कोरोनाको रूप लिएर आयो ।
भय, पीडा र मृत्युको बिगुल बजाउँदै आयो ।।
नमिलाऊँ हात भनि दुई हात जोड्न सिकायो ।
हाम्रो सनातन संस्कार राम्रो भनि चिनायो ।।
मुखमा त्यो मास्कको कोर्को लाउन सिकायो ।
सबैलाई मिचीमिची हात धुने पाठ सिकायो ।।
अनावश्यक कसैलाई भेट्न जान सबै हरायो ।
सञ्चो बिसञ्चोको खबर मोबाइलमा आयो ।।
रोगी भेट्न जाऊँ कहीँ रोग सर्ला भन्ने डर ।
भेट्न नजाऊँ त सम्बन्ध हराउला भन्ने डर ।।
इष्टमित्रको साक्षात दर्शन अब दुर्लभ नै भयो।
दर्शन गरौं रोग पनि आउला भन्ने डर भयो ।।
बिरामी आमा भेट्नै नहुने कस्तो बेला आयो ।
दागबत्ती दिन घाटसम्म जानै नमिल्ने भयो ।।
श्राद्ध पनि अचेल गुरूले अनलाइन गराउँछन् ।
पितृको भाग गुरूले के अनलाइन पठाउँछन् ?
पितृले सोधे बाबु! पिण्ड अनलाइन पठाउँछौ ?
मिल्दैन भने कि आफू आउँदा लिएरै आउँछौ ?