जति गर्न छ गरिहालिस्,तथानाम गरिस्
चित्कार सुनाईस्, घर पनि उजाड पारिस् निकैको
हाहाकार पारिस्, तमाम गरिस्
म अब निर्वीज भएँ, आइज फेरि युद्व गर
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।
म मास्क लगाउँछु, सेनिटाईजर घस्छु, भ्याक्सिन लिन्छु
दूरी कायम गर्छु, तर लखेट्छु तँलाई
काढा खान्छु, कसरत गर्छु,
भाप लिन्छु, गार्गुल गर्छु, टिक्न दिन्न तँलाई
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।
मैले सिकेँथेँ सबै कलाहरू
आर्ट अफ लिभिङ, तैँले सिकाइस्
आर्ट अफ डाइङ, भुत्रो गर्छस् अब
आइज अब तयार छु म, देखाई दिन्छु तिरिमिरि झ्याइँ
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।
बसेँ त म तीस दिन अस्पतालमा
दुई महिना घरैमा
युद्व गरेँ, लाखौं खर्च पनि गराईस्
इस् लान सकिस्, म त अब गोर्खे वीर
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।
अब कार्यालय पनि जान्छु
लकडाउनमा कथा कविता पढ्छु
गीता र महाभारत पढ्छु
सिक्छु युद्व गर्ने तरिका, लखेट्छु तँलाई
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।
तैँले रूप फेर्छस् रे, म पनि फेर्छु
तैँले फोक्सो खान्छस् रे
भयो जति खाइस् खाइस्, म निष्प्राण हुन्न अब
भोगेँ, देखेँ सिकेँ अनि अब के लछारपाटो लाउँछस्
कालजयी भएँ म अब, जा तँ अब तेरै मुलुकमा
निस्तार छैन अब, म तयार छु खेल्छस् लाप्पा?
ल तयार र तर्खर गर, पामर, पाङ्दुरे, सिल्लड
तँ जस्ता यहाँ कति आये कति गए,
नाथे के गर्छस् तैँले गर
के खालो सार्छस् सार।