फेरि त्यो दिन आउनेछ
सबैजना एकपल्ट फेरि रमाउनेछन्
अनि देशमा
डर हैन, हर्ष र शान्ति छाउनेछ।
आरामले सुतिरहेको छोरालाई
'स्कुल जान पर्दैन?'
भनेर
आमाले जबरजस्ती उठाउनेछिन्।
बस लिन आउनेछ
अनि
गीत गाउँदै विद्यार्थीहरु स्कुल जानेछन्।
एसेम्ब्ली ग्राउन्डमा हुनेछ
पढाइ ल्यापटपमा होइन, विद्यालयको कक्षामा हुनेछ
अनि अन्तिम बेन्चमा बस्नेले
फेरि, चोरी चोरी चाउचाउ खानेछन्।
बाटोमा एम्बुलेल्स होइन, स्कुलका बसहरु गुड्नेछन्
अनि फेरि एउटी आमाले
छोरा घर आउन किन ढिलो भो भनेर
बस चालकलाई फोन गर्नेछिन्।
फेरि त्यो दिन आउनेछ
सबैजना एकपल्ट फेरि रमाउनेछन्
अनि देशमा
डर हैन हर्ष र शान्ति छाउनेछ।
चोकचोकमा नेपाल यातायातका बसहरु,
माइक्रोबस र सफा टेम्पोको जाम लाग्नेछ।
ठेलमठेल गरेर गन्तव्यमा पुग्न
कोही कोचिएर उभिनेछन्
कोही टेम्पोमा झुन्डिनेछन्।
अनि
मानिसहरु आवत जावत गर्न
सिडिओको कार्ड होइन
छुटको लागि कलेजको कार्ड देखाउने छन्।
चालकहरु समातिनेछन्
मापसेमा पर्नेछन्
कोही मिलाएर उम्कनेछन्।
सोझासाँझा फस्नेछन्।
अनि फेरि पहिले झैं
सिटमा पुरुष बसेर
गर्भवती महिला उभिनेछिन्।
फेरि त्यो दिन आउनेछ
सबैजना एकपल्ट फेरि रमाउनेछन्
अनि देशमा
डर हैन, हर्ष र शान्ति छाउनेछ।
फेरि पशुपतिनाथ मन्दिरमा
मलामी र लासको भिड नभई
दर्शन गर्ने हजारौं भक्तजनहरुको लाइन हुनेछ।
मृतकका आफन्तको चित्कार नभई
फूलमाला बेच्ने र खुवा बेच्नेको बुलावट सुनिनेछ।
अनि फेरि एकपटक,
पशुपतिनाथबाट फर्केकासँग विछोड र पीडा नभई
हातमा फूलमाला, चन्दन अनि ओठमा मुस्कान हुनेछ।
फेरि त्यो दिन आउनेछ
सबैजना एक पल्ट फेरि रमाउनेछन्
अनि देशमा
डर हैन, हर्ष र शान्ति छाउनेछ।
फेरि पनि मानिसहरु पिकनिक जानेछन्
निर्मलालाई न्याय भनेर चोकचोकमा दियो बत्ती बाल्नेछन्।
विभिन्न निहुँमा हड्तालहरु हुनेछ
नाराबाजी सुनिने छ
इन्धनको अभावमा तस्करी बढ्नेछ
जुलुस तथा शक्ति प्रदर्शन हुनेछ
अनि फेरि अर्को एकपल्ट,
स्वास्थ्य नीति सुधारको लागि
डा. गोविन्द केसी अन्सन बस्नेछन्।