'अघिबाट बोलाउँदै छु, आउनु के खाना खान।'
उता कोठाबाट अनुले ठूलो स्वरमा कराइ। हतार-हतार मोबाइल फालेर भनेँ, 'आउँदै छु त बाबा, कति कराएकी!'
'ए आफू बोलाउँदा आउनु छैन, अझै मलाई दोष!' उनीले जवाफ दिइन्।
चुप लागेर पस्किएको खाना खान थालें। थोरै थप्न त मन थियो तर आँट भनेँ गरिनँ, उनको रिसले रातो भएको मुहारलाई देखेर।
जति नै उनी रिसाए पनि के गर्नु, माया त उनकै लाग्छ। यो माया भन्ने कुरा पनि खुर्सानी खाएजस्तै रहेछ। पोल्छ भन्ने थाहा हुँदाहुँदै पनि परिने। अरुबेला खासै काममा सहयोग नगर्ने म आज भने भाडा माज्न जाने तर्खरमा थिएँ। तर आफैँ माझ्न थालिन्।
मैले नम्र स्वरमा भनेँ, 'मै माझुँला नि।'
झर्किँदै भनिन्, 'पर्दैन!'
त्यो शब्द सुन्ना साथ मेरो सात्तो उड्यो। चुप लागेर अर्को कोठा तिर लागेँ। अर्को कोठाको खाटतिर पल्टिँदै मोबाइल फेसबुक चलाउन थालें। उनी भनेँ उता सानो स्वरले रिसले मुर्मुराउँदै थिइन्।
अरु दिनभन्दा आज अलि धरै आवाज निकालेर भाडा माझ्दै थिइन्। उनीले भाडा माझेको कम, बजाएको ज्यादा सुनिएको थियो। सबै काम सक्काएर कोठामा आइन् र खाटको कुनामा गएर पल्टिन्।
मसँग रिसाएकी थिइन्। त्यसैले के कुरा निकालेर बोलुम् झैँ हुँदै थियो। अनि नम्र हुँदै सोधेँ, 'कस्तो भयो त आजको दिन?'
एकैछिन त केही जवाफ दिइनन् तर अलि पछि भनिन्, 'राम्रै गयो।'
हाम्रो बीचमा एउटा सिरानी राखिन् र उता मुख गरेर सुतिन्। मलाई भने उनी रिसाएर मन नै कस्तो अमिलो भयो। त्यसैले, 'रिसाएको हो र?' भनेर सोधेँ।
हैन भने पनि क्रियाकलापले हो भन्दै थियो। सधैँ मुस्कुराई रहने मेरी अनु आज भने केही फरक थिइन्। मैले उनको हात च्याप्प समाएर भनेँ, 'किन सानो कुरामा रिसाएकी अनु?'
'हामी कलेजमा हुँदा लुकीलुकी फोनमा बोल्दा, सँगै बस्दा, हिँड्दाका यादहरु सम्झिऊ त। तिमीसँग बिताएका ती हरेक पलहरु मेरा लागि अविस्मरणीय छन्।'
अचानक उनी कराइन्, 'तर तिमी पनि पहिलेको जस्तो रहेनौ। जति बेला पनि फेसबुक, साथीभाइ र अफिस। मेरा लागि भनेर कति नै समय दिएका छौ र?'
त्यो कुराले म झसंग भएँ। के बोल्ने, के नबोल्ने जस्तो भयो। उनीले थपिन्, 'आफै भन त तिमी पहिलेको जस्तो छौ र?'
यो कुराले मैले आफ्नो कलेजको पहिलो दिन सम्झिएँ र पहिलो पटक देख्दा उनी प्रतिको भावना उनीलाई पोख्न थालेँ। 'करिब करिब एक दशक भयो होला है तिमीलाई पहिलो पटक मैले देखेको पनि?'
उनीले केही प्रतिक्रिया नदिए पनि मैले आफूलाई रोकिनँ र त्यो दिनका कुरा र भावनाहरु उनलाई भन्न सुरु गरेँ।
'कलेजको पहिलो दिन थियो। स्कुलको 'ए प्लसको' सर्टिफिकेट लिएर लाइनमा बस्दै थिएँ। कसैलाई पनि चिनेको थिइनँ। कलेजको पहिलो दिन भएकाले आफ्नो नाम दर्ता गराएर आफ्नो नयाँ कक्षा कोठामा जाने तर्खरमा थिएँ।
आफ्नो नाम दर्ता गर्ने पालो आयो। मैले आफ्नो नाम, ठेगाना सबै कुरा बताउँदै थिएँ र अन्तिममा त्यहाँको सरले सोध्नुभयो, 'कुन फ्याकल्टी?' मैले जवाफ दिएँ, 'साइन्स।' यति भनेर आफ्नो नयाँ कक्षा कोठातर्फ के लाग्न लागेको थिएँ अचानक पछाडिबाट कसैले मलाई कोट्याउँदै बोलायो।
त्यही बेला थियो मैले तिमीलाई पहिलो पटक देखेको। झ्याप्प तिमीलाई देख्दा त ज्यान नै चिसो भएर आएको थियो। अनि तिमीले सोध्यौ,'तिमी पनि साइन्स फ्याकल्टी कै हो?' मेरो भने खासै केटीहरुसँग बोल्ने बानी थिएन। त्यसैले अक्मकिँदै जवाफ दिएँ 'अँ।'
तिमी त्यो दिन अति नै राम्री देखिएकी थियौ। मेरो ध्यान भने तिम्रो मनै लोभ्याउने ति आँखा र छुमछुम लाग्ने तिम्रा ती राता गलामा हरायो। मनमनै तिम्रो सुन्दरताको प्रशंसा गर्दै थिएँ। तिमीलाई सिधा नजरले हेर्न पनि सकिरहेको थिइनँ।
त्यो दिन हामी सँगै कक्षाकोठामा प्रवेश गरेका थियौं नि, याद छ होला नि तिमीलाई? दिनहरु बित्दै गए, हामी पनि अझ नजिक हुँदै गयौँ। म भने तिमीसँग पहिलो नजरमै मायामा परेको थिएँ तर भन्न भनेँ सकेको थिइनँ। किनभने तिमीलाई गुमाउने डर मनमा थियो।
यसरी नै दिनहरु बित्दै गइरहेका थिएँ। हामी दुवै कलेजबाट राम्रो अंकले उत्तीर्ण भयौँ। कलेज पनि सक्कियो तर मैले आफ्नो मनका कुरा भने तिमीलाई कहिले भन्न सकिनँ।
भ्यालेन्टाइन डे पनि नजिकिँदै थियो। तिमीसँग मेरो भेटघाट भने भई नै रहेको थियो। साथीहरुले पनि आफ्नो मनका कुरा तिमीलाई भन भनेर कहर गर्दै थिए। भ्यालेन्टाइनको दिन पनि आयो, साथीहरु घरमै आएर मलाई तयार पार्दै थिए।
कोही मेरा कोट मिलाउँदै थिए त, कोही कपाल। अनि अन्त्यमा मेरो हातमा गुलाबको फूल एउटा साथीले थम्याउँदै शुभकामना दियो। मैले तिमीलाई रेस्टुरेन्टमा बोलाएको थिएँ। केही क्षणको प्रतिक्षापछि तिमी पनि त्यहाँ आइपुग्यौँ।
हामी आफ्नो पढाइको बारेमा कुरा गर्दै थियौं। म भने आफ्नो मनको कुरा बताउने सही मौकाको खोजिमा थिएँ। हामीले धेरै समय एकअर्कासँग बिताए पनि आफ्ना मनका कुरा भने दुवैले खोलेका थिएनौँ।
मैले तिमीलाई तलको बगैँचामा लगेँ। त्यहाँको वातावरण शान्त थियो। लामो सास फेरेर तिमीलाई 'आई लभ यू' भन्न खोज्दै थिएँ। तर, मेरो मुखबाट भने 'आई.. आई..' मात्र निस्किएको थियो।
मुटुको धड्कन पनि बढ्न थालेको थियो। अनि तिमी मुसुक्क मुस्कुराउँदै भन्यौ 'आई लभ यु टू।' मैले त्यो क्षण खुसीले आफूलाई रोक्न सकिनँ, गहभरि आँसु लिएर मैले तिमीलाई अंगालोमा बेरी नै रहेँ। कति मिठा थिए है ती यादहरु अनु?'
उनले जवाफ दिइनन्। त्यसैले म उनीलाई कोट्याउँदै बोलाएँ। उनी त निदाइसकेकी रहिछन्। म भने उनी निदाइसकेको पत्तै पाइनँ। एकोहोरो बोलिरहेको पो रहेछु।
यो सबै पुराना कुराहरु सम्झिँदै थिएँ। पुरानो म र अहिलेको ममा तुलना गर्दै थिएँ। मैले आजकाल आफ्नो अमूल्य समय उनीलाई दिन सकेको थिइनँ। उनी रिसाउनु पनि स्वभाविक नै हो। बिहे अघि उनीलाई दिने समय र अहिले उनीलाई दिने समय र मेरो बानीमा पनि परिवर्तन आएको मैले महसुस गरेँ।
उनी उता फर्किएर सुतिरहेकी थिइन्। उनीलाई बोलाएर निन्द्रा पनि बिगार्न मन लागेन। भोलि बिहानदेखि घरका काममा सहयोग गर्नेछु र मोबाइलमा खेरा फाल्ने समय उनीलाई दिनेछु भन्दै आफूले आफैलाई वाचा गरेँ। र, मोबाइलले बढाएको दूरीलाई मायाले भर्ने वाचा गर्दै म निदाएँ।