प्रत्येक वर्ष ढाँटका
पुलिन्दा एकोहोरो
पढिन्छ
एउटा लम्बेतान
प्रकृयाको जालोले
खिच्दा खिच्दै
कति सपना गर्वमै
तुहाइन्छ
कति बेपर्वाह बेवारिसे
छाडिन्छ
सरकारी कार्यालयका
कोठा कोठामा
भ्रष्टाचार विरोधी नारा
ठस्स ठस्ति गराएझैं
म्यानपावर कम्पनीलाई
पैसा बुझाएर
ठगिएका निर्दोषहरु
न्याय माग्न जाँदा
रातो बाकससँग
रातो कलमको
रातो अक्षरले
लेखिएको सरकारी
हस्ताक्षर खै
कति बेला साटिन्छ।
भ्रमको खेती
बोझिलो हुँदै जान्छ
खानीको कोइला बलेझैँ
बजारले आश, त्रास र
जिउने आधारका रकेटहरु
प्रक्षेपण गर्छ।
आँखाले चञ्चलता
कायम गरेझैँ
कानले इच्छाशक्ति
दोब्बर छ भनि
मनलाई थपथपाएझैँ
वर्षौंदेखि एक वर्षमा
एक पटक मूर्ति झैँ
मौन भएर
सुनिसकेपछि
जिजीविषामा भने
रफ्फु मारिसकेको
भेटिन्छ।
महाभारत र चुरे
श्रृंखला आँखाका
परेलाहरु
खोल्दा बितिक्कै
न्यानो सेकेन्डमा
गायब हुने
रातो पासपोर्ट
बेच्ने मानव तस्करलाई
मन्त्री बनाएर सुशासन
कायम गरे झैं
बजेटले महंगी
बढाएर उखान
टुक्काले हँसाउँछ
संसद विघटन गरी
समृद्धि ल्याउछ
पहिला खोप अनि
मात्र भोट भन्नेहरुलाई
गधाको हाँसोले
हिनहिनाउँदै
अदालतको निर्णय पूर्व
चुनाव प्रचार गराउँछ।