त्यहाँ पर दोबाटो छ
दोबाटोमा के हुन्छ
यो हामी दुवैलाई थाहा छ।
र यो पनि झन् स्पष्टै छ
त्यहाँबाट हाम्रो बाटो अलग हुन्छ।
तनको बाटो अलग भए पनि
मनले किन मान्दै मान्दैन
छुटिएर गए पनि याद
हो यादले सम्झाइरहन्छ।
तिमी मेरो हुनै सक्दिनौ
न म तिमीलाई आफ्नो भन्न सक्छु।
तर पनि किन मन मान्दै मान्दैन!
दिमागभन्दा दिल हावी हुन्छ
नजाँनिदो यो सम्बन्धलाई
किन किन मनले मान्दै मान्दैन।
तिमी पहिला नै बन्धनमा थियौ
म तिम्रो बन्धनभन्दा बाहिर छु
मनलाई थाहा छ यो बन्धन
तर किन किन बन्धनको नियम
अर्को मनले मान्दै मान्दैन!
कहिलेबाट हामी नजिक भयौ?
अनि किन नजिक भयौ?
कहिलेसम्म नजिक हुन्छौ?
यो केही थाहा छैन
तर टाढा हुन मन मान्दै मान्दैन
किन-किन छुट्ने कुरा मान्दै मान्दैन!
साथीमात्रै हामी हुँदै होइनौँ
तर पनि सबैलाई साथी भन्ने गर्छौं
दुनियाँलाई ढाँटे पनि किन-किन
आफ्नै मनलाई ढाँट्न सक्दैनौँ
थाहा छैन कतिजेन्ल ढाँट्न सक्छौ?
कति जनालाई ढाँट्न सक्छौ?
थाहा छैन किन यस्तो हुन्छ?
एकैछिन नदेख्दा एकअर्कालाई
छटपटीले भित्र भित्रै पोल्न थाल्छ
न भन्न सक्छौँ एकअर्कालाई
तर पनि किन यस्तो हुन्छ?
छटपटीले किन-किन यति सताउँछ!
जुन सम्बन्धलाई दिने कुनै नाम छैन
गन्तब्यको कुनै ठाम छैन
अर्थहीन मिलनको कुनै काम छैन
तर पनि किन-किन तनदेखि मनसम्म
अनि मनदेखि तनसम्मले चाहिरहन्छ!