भर्खर पाँच वर्ष पुगेर छ वर्षमा प्रवेश गरेको थिएँ। घरमा मेरो भविष्य र शिक्षादिक्षाको बारे चिन्ता सुरु हुन थालेको छ। कहाँ पढाउने, कसरी पढाउने, के पढाउने जस्ता विषयमा कुरा भइरहन्थे।
मेरो बुबा विदेश हुनुहुन्थ्यो। अब बुबासँगै ममी पनि विदेश जाने भनेर सबै कुराको तयारी भएको थियो। एउटा कुरा मात्र बाँकी थियो- मलाई कहाँ राख्ने? मामाघर, अरु आफन्तकोमा कि होस्टेलमा। अन्ततः म होस्टेलमा रहने भएँ।
मेरा लागि नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरु सबै नयाँ थियो। त्यसमाथि म नाबालक न केही बुझ्छु न केही गर्न सक्छु। गर्न सक्ने भनेको एउटा मात्र काम थियो- बुबाममी भन्दै धुरुधुरु रुने। तर म रोएको कसले सुन्ने?
सुनिहाले भने पनि 'कति रोएको यो केटो!' भन्थे। बानी परेका दाइदिदीले पछि गिज्जाउँथे। बुबाममीको फोन आउथ्यो कहिले कहिले।
'बाबु आत्तिएको त छैनौ नि! नआत्ती बस, पढ,धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ। तिम्रो लागि भनेर हामी विदेश आएर दुःख गरिरहनु परेको छ।'
तर उहाँहरुलाई के थाहा मलाई अहिले उहाँहरुको मायाको खाँचो भन्ने कुरा। एउटाले कमाएर एउटा मसँगै बसेको भए पनि त हुन्थ्यो नि!
केही समयपछि विस्तारै बानी पर्दै गयो। साथीसंगी, शिक्षक र कहिलेकाहीँ फलफूल र कपडा लिएर भेट्न आउने आफन्तसँग रमाउने बानी परिसकेको थियो। बुबाममीभन्दा बढी नजिक र आत्मीय भइसकेका थिए। तर पनि बुबा ममीको माया र साथको अभाव भएको महसुस पलपलमा हुन्थ्यो।
जसोतसो गरेर भएपनि आफूलाई सम्हाल्नुको विकल्प थिएन। गाउँका साथी, छिमेकीहरु, गल्लीहरु, ऐसेलुका झ्याङहरुको खुब याद आइरहन्थ्यो।
ममीले आफ्नै हातले बनाएको खाना आफ्नै हातले खुवाएको याद त झन् दिनदिनै आउँथ्यो। होस्टेलको खाना पानीमा नुन हालेको रसमा भात मुछेर खाए सरह हुन्थ्यो। हुन त घरमा १/२ जनालाई खाना बनाउनुमा र ३०/४० जनालाई खाना बनाउनुमा धेरै फरक पर्थ्यो तर पनि भोको पेटलाई शान्त बनाउन खानु पर्थ्यो। अर्को विकल्प पनि त थिएन।
कहिलेकाहीँ फोनमा कुराकानी हुँदा मेरै लागि नै परदेशमा आएर पसिना बगाइरेको कुरा गर्नु हुन्थ्यो। मेरो भविष्यको यति चिन्ता लिनेले मलाई ममीको न्यानो काख र मायाको आवश्यकता छ भन्ने कुरा किन नबुझेको होला?
समयसगैँ म पनि जिम्मेवारी हुँदै गएँ। पढाइ पनि ठिकै चलिरहेको थियो। साथीहरुसँगको रमाइलोको कुनै सीमा नै हुँदैन थियो। गल्ती पनि खुब गरिन्थ्यो तर शिक्षकको फन्दामा परेमा एकले अर्कोलाई दोष लगाइन्थ्यो त कहिले गल्ती ढाकछोप गर्ने कोसिस गरिन्थ्यो।
साथीहरुले होस्टेलमा सुर्ति, बिडी, चुरोट, रक्सी लुकिलुकि खाने आदत बसालिसकेका थिए। मेरो भने त्यतातर्फ खासै ध्यान गएको थिएन। बुबाममी दशैँमा आउने कुरा थियो तर के-के मिलेन रे!
'अहिलेको दशैँमा पनि नआउने भयौँ, नआत्ति बस बाबु हामी अर्को दशैँमा त आइहाल्छौँ नि। एक वर्ष त हो नि' बुबाले भन्नुभयो।
बुबाममीलाई नभेटेको चार वर्ष पुगेको थियो। पहिले त बेलाबेला आइरहनु हुन्थ्यो तर यसपालि लामो समय भयो। अहिले म कक्षा ९ मा पुगिसकेको थिएँ।
बुबाममी नआउने समाचारले न्यास्रो बनायो। चुरोट नखाने म न्यास्रो मेट्न चुरोट खान थालेँ। विस्तारै कुलतमा लागेका साथीहरुसँगको संगत बढ्न थाल्यो। चुरोट, बियर,रक्सी लुकिलुकि त्यो पनि होस्टेलमा जतिबेला सहज हुन्छ त्यति बेला नै खाने आदत बसिसकेको थियो।
यसरी खाँदा खुब आनन्द आउथ्यो। मन हलुका हुन्थ्यो र साथीहरुसँग खुलेर कुरा गर्ने माहोल बन्थ्यो। होस्टेलमा केटीहरु पनि थिए। कुनै केटीमा कुलतको मोह हामीमा भन्दा कम थिएन।
साथीहरुले होस्टेलमा नै अवैध यौन सम्पर्क राखेछन्। यो कुरा सबै स्कुल,कलेजभरि फैलियो। यस्तो कुरा सुनेर म झसंग भएँ। केटाहरु यतिसम्म हरामी छन् भन्ने कुरा मैले सोचेको पनि थिइनँ।
केटीहरु पनि यस्तो संवेदनशील कुराहरुलाई कति हल्का रुपमा लिएका होलान्! गल्ती दुवै पक्षको भयो। विद्यालयले अभिभावक बोलाएर उनीहरुकै जिम्मामा लगाइदियो।
पछि केटाहरु होस्टेलभित्र कुलत सेवन गर्छन् भन्ने कुरा विद्यालय प्रशासनले थाहा पाएपछि मसहित केही साथीहरुलाई निष्कासन गर्दियो।
यो कुरा बुबाले थाहा पाउनु भएछ। खुब गाली गर्नु भयो- 'तेरो लागि सबै छोडेर विदेश आएर दुःख गरिरहेका छौ, तँ भने मति बिगारेर बसेको छस्। तँलाई मैले यही गर्न भन्या हो? यही गर्लास् भनेर होस्टेलमा राख्या हो?'
तर उहाँलाई के थाहा कि म कुलतमा फस्नुको कारण उहाँहरु नै हो। माया र साथ दिने बेला एक्लो बनाएर गए, अझ मेरो चिन्ता लिन्छन्! साह्रै रिस उठिरहेको थियो। तर जेजस्तो भए पनि बुबाममीको दु:खलाई बुझ्नुपर्छ।
म विद्यालय गएर प्रिन्सिपलसँग अब सुध्रिने र राम्रोसँग पढ्ने वाचा गरेर फर्केँ। ममीलाई मरो चिन्ता छ भने नेपाल आउनुहोस् नत्र छोरा नभन्नुस् भन्ने उर्दी लगाएँ। यो कुराले ममीलाई छोएछ क्यारे, एक हप्तामा नै नेपाल आउनुभयो।
धेरै वर्षपछि ममीको हातको खाना र साथले छुट्टै खुसी र आनन्द मिल्यो। कक्षा १० पनि प्रथम श्रेणीमा उत्तीर्ण भएसँगै उच्च शिक्षाको लागि ढोका खोल्यो।
होस्टेलमा राखेर सन्तानको पढाइमा प्रगति हुन्छ भन्ने जुन भ्रम छ, त्यो भ्रमबाट सबै मुक्त हुन जरुरी छ। होस्टेलमा बसेर पढेर उत्कृष्ट नतिजा त आउला तर व्यवहारिक, सामाजिक शिक्षा सिक्ने मौकाबाट वञ्चित हुन्छन् भने घर परिवार समाजको माया महसुस गर्न सक्दैनन्।
त्यसैले आफ्नो सन्तानको शैक्षिक सर्टिफिकेट, भविष्यको सफलतालाई ध्यानमा राखेरभन्दा वर्तमानमा साथमा राखेर व्यवहारिक र सामाजिक शिक्षा सिक्ने अवसर दिनुहोस्। जीवनमा आउने कठिन परिस्थितिको सामना गर्दै जीवनको अर्थ बारे बुझ्छ भने त्योभन्दा उत्कृष्ट शिक्षा अरु हुन सक्दैन।
अभिभावकको माया र ममता बिना कुनैपनि सन्तान मानसिक रुपमा स्वस्थ रहन सक्दैन। त्यसैले आफ्नो सन्तानलाई आफू अभिभावक भएकोमा माया र साथको कमि हुने महसुस हुन नदिने कोसिस गर्नुहोस्।