तिम्रो आँगनको डिलमा अलग्गै बसेर
तिर्खा र घामले असिन पसिन भएर
एक घुट्को पानीको लागि
अञ्जुली थाप्न विवश मेरी आमा।
तिम्रो रछ्यान नजिकै बसेर
एक ढीँडी खुर्सानीको सितानमा
एक डल्लो ढिँडो खाएर हलो जोत्ने
अनि उस जन्मको कमाइ भनेर थाप्लो ठोक्दै
निमेक गरेर मलाई पाल्ने मेरा बा।
तिमीले निर्माण गरेका चार तले पद-
मुखिया, काजी, बाजे र बराजु
तिमीले निर्माण गरेका पाँच तलो सम्बोधन
तँ, तिमी, तपाईँ, हजुर र ख्वामित,
हामीलाई दिएको तीन खाले सम्बोधन
डाङ्ग्रा, डुम र चमारे!
मेरा बराजुले अज्ञानताले माने
मेरा बाजेले चलेको चलन भनेर माने
मेरा बाले विरोध गर्न नसकेर माने
तर म अब मान्नेवाला छैन।
'न शूद्र मतिं दद्यात्'
शूद्रलाई पढाउनु हुन्न भन्यौ
तिमीले पुण्यवाचन गर्दा पढ्ने वेदको मन्त्र
'यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः।
ब्रह्माराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय।।'
(यजुर्वेद २६.२) ले
सबैको कल्याण गर्ने वेद चारै वर्णलाई पढाउनु भन्छ
तर तिमीले शिक्षामा सिन्डिकेट लगायौ।
मैले बुझेको ब्रह्माण्डमा सबै बराबर छन्
तिमीले दैनिक अर्घ चढाउने सूर्यले
सबैलाई बराबर ताप दिन्छन्
त्यहाँ भेदभाव छैन।
तिम्रो लाज ढाक्ने कपडा सिलाउने दमै
तिम्रो खेत जोत्न फाली बनाउने कामी
हरिस अड्याउन नारा बाट्ने सार्की
श्रमको ज्याला थाप्न पर्व कुर्नु पर्ने
बालीघरे प्रथा मान्दै
दशैँ, माघे सङ्क्रान्तिमा भाग बटुल्दै हिँड्नु पर्ने
अनि दमैलाई पुच्छर, कामीलाई काँधो
भनेर बासी मासु उठाउँदै हिँड्नु पर्ने !
छुवाछुतलाई संग्रहीत गर्ने राणा शासन ढल्यो
उत्पीडनको पञ्चायत ढल्यो
युग बदलियो,
संविधान बदलियो
कानुन बदलियो
तर दुर्भाग्य!
अझै तिमी किन बदलिएनौ बराजु?
मैले बुझेको संरचना दुई किसिमको हुन्छ
प्रकृति निर्मित संरचना
मानव निर्मित संरचना
प्रकृति निर्मित संरचना बुझ्न सक्नु पर्छ
मानव निर्मित संरचना फेर्न सक्नु पर्छ
उत्पीडन, छुवाछुत मानव निर्मित संरचना हो
यसलाई फेर्न पर्छ
हामी बदलिइसक्यौँ
बराजु! अब त तिमी पनि बदलिनु पर्छ।