मानव सभ्यताको विकासको
एक सुन्दर नमूना,
सामन्तवाद र तानाशाहीतन्त्रको
हुर्मत लिने बाहुबली,
तमाम गणहरुको मुहारमा
मुस्कान छर्ने
पूर्वतिरबाट उदाउने
सुनौलो प्रकाश पुञ्ज,
सुशासन र समानताको
प्रतिक्षामा झुलिरहेका
कविलाहरुको आशा र भरोसाको
आधार, गणतन्त्र।
मेरो यो हिमाली मुलुकमा,
परिवर्तन प्रक्रियाको
एक उत्परिवर्तन अर्थात्
म्युटेशनको रूप सरह,
विकृत र कुरुप शरीर लिएर
गलित एवम् थकित
सेरेब्रल पाल्सी बिरामी सरह,
घिस्रिरहेछ, तन्किरहेछ,
लक्ष्य विहीन, दिशाविहीन यात्रामा,
गणतन्त्र।
म घोत्लिन बाध्य छु आज,
साँच्चै मैले के गोदावरी फूल गुमाएँ?
अनि सट्टामा रंगीचंगी कागजी फूल
हातमा लिएर खुब रमाएँ?
होइन भने,
मेरी आमाको मुटुको टुक्रा माथि
एक अवैध सन्तान सरह
बेहद अपमान किन?
सर्वोत्कृष्ट शासन पद्धति
गणतन्त्रको उपहास किन?
कि यस्तै
शंकर भगवान या भनौं
जनताको बरदानले मात्तिएको भष्मासुर
या धेरै मान्छे मारेर खान सफल
रक्त पिपासु ड्राकुला जस्ताहरुको
जबर्जस्ती करणीबाट जन्मिएको,
नचाहिएको औलाद, अर्थात्
अनावश्यक भार हो, गणतन्त्र?