गर्मी महिना, बाले आँगनको डिलको रुखमुनि बसेर डोरी बाट्दै हुनुहुन्छ। चार कान्लामुन्तिर हली दाइले हलो जोत्दै। म बरन्डामा कापी किताब फिँजाएर होमवर्क गर्दै छु तर लेखिरहने मन पटक्कै छैन। घरी यता घरी उता माखो उडेको हेरिराछु।
'खुरुखुरु पढ्, नत्र फेरि हली बन्लास्!'
बाको आवाजले म तर्सिएँ। मभन्दा पनि रुखमा बसेका चराहरु बढी तर्सिए छन् क्यारे, भुर्र उडेँ।
'हली दाइले पढेका भए हाम्रो खेत आफसेआफ जोतिन्थ्यो र? ट्याक्टर भए नि हलो भए नि जोत्ने साधन र पढेको भए पनि नपढेको भए पनि जोत्ने मान्छे त चाहिन्थ्यो नि।'
'उम्रदैको तीन पात, पढ्ने जाँगर छैन अनि अनेक कुरा गर्छ। पढेपछि ठूलो मानिस होलास् भनेर पढ् भनेको।'
'ठूलो मानिस त म जन्मदैँ भैसकेँ। भाइ-बहिनीले ठुल्दाइ र अरु सबैले ठूले भनेर बोलाउँछन्।'
'खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरा जान्ने! भर्खर चारमा पढ्छस् अहिल्यै ठूलो मान्छे भइन्छ? बोलाउनलाई ठूले भनेर बोलाए पनि तँ त जेठो मात्र होस्। ठूलो मान्छे हुन त धेरै पढ्नु पर्छ। १२, १६, १८ कति हो कति अनि राम्रो काम गर्नु पर्छ। बल्ल ठूलो मान्छे भइन्छ। नत्र त फेरि हली।'
'अनि हली दाइ कसरी सानो मान्छे? उहाँ त हाम्रो अन्नदाता। हजुरआमाले भन्नुभाको ब्रम्हा हाम्रो सृष्टिकर्ता, विष्णु हाम्रो पालनकर्ता अनि महेश्वर संहारकर्ता। मलाई हली दाइ साँच्चैको पालनकर्ता लाग्छ। फोटोको मूर्तिको जस्तो होइन।'
'फेरि बाह्र-सत्ताइस कुरा गर्यो। भुरो भएर पनि नेताले झैँ भाषण छाट्छ। तँलाई पिटाई नपुगेको।'
बाले हात तन्काउँदै अलि परको सिर्कनो टिपेर मतिर सोझाएपछि मेरा तल-माथिका ओठ चपक्क एकआपसमा टाँसिए।
जेठको अन्तिम तिरको उखरमाउलो गर्मी। बाले आँगनका डिलमा बसेर एउटा आँखाले मैले पढेको र अर्को आँखाले हलीदाइले हलो जोतेको हेरिरहनु भएको थियो। मैले यसो कपीले हम्कन थालेँ भने पनि त्यही डाइलग दोहोराउनु हुन्थ्यो-
'खुरुखुरु पढ्, फेरि हली बन्लास्!'
मलाई भने कतिबेला खोलामा जाम्ला र दिनभरि पौडी खेलम्ला भन्ने भाको छ। गर्मी दिनमा पनि खोलामा डुबुल्की लगाउन पाइएन भने स्कुलमा बिहान पढाइ भएको के सार! बिहान पाँच बजे उठेर आँखा मिच्दै स्कुल जानको दुःख मात्रै। यसो बाको आखाँ छल्न पाए...
बरु बेलुका बाको गाली र भोलि स्कुलमा होमवर्क नगरेको कारणले गर्दा सरको दुई चार लठ्ठी त सजिलै पचाइन्थ्यो।
'माहिला, बारीको कुनाकानी सबै राम्रोसँग जोत् है बाझै रहला।'
लौ बाले मतिर हेरेर तल हलो जोत्दै गरेको हली दाइलाई कराउनु हुन्छ। बाको त घुचुक्कतिर पनि आँखा छन् कि क्या हो! बरु तलै जानु नि।
आज बाको आँखा छल्न सकिएला जस्तो छैन।
बरु अस्तिको दिन कति रमाइलो भएको थियो। खोलामै धेरै खेल खेलियो। कसले सबैभन्दा छिटो पौडन सक्छ। पानी भित्र को धेरैबेर बस्न सक्छ? कसले सबैभन्दा माथिबाट हामफाल्न सक्छ? सबै खेलमा म नै फर्स्ट। बेलुका बाको गाली खान तयार भएर घर आएको त, बा नै घरमा आइपुग्नु भएको रहेनछ।
आमाको त घुर्कीमात्रै हो।
'दिनभर घाममा डुलेर आउने कुकुर, तँलाई खानै दिन्न आज भोकै सुत्।'
म लुरुक्क परेर सुत्न गएँ। भोकले निन्द्रा लागेन। सबैजना सुतिसकेपछि चालो उठेर भान्सामा गएँ। अँगेनाको छेउमा खाना ढाकेर राखिदिनु भएको रैछ। एक सिता नफालिकन खाना खाएर सुत्न गएँ। ढोका घरक्क गरेको कसैले सुनेन जस्तो लागेको थियो तर एकैछिनपछि आमा भान्सामा जानुभयो।
'कति बाठो केटो हो, भाडा माझ्नका दुःखेले मैले जसरी ढाकेर राखेको थिएँ त्यसैगरी ढाकेर राखेको!' आमा हाँस्दै बाहिर आउनु भयो।
'अघि त खानै दिन्नँ भन्नु भाको थियो त। मैले नखाएसम्म हजुरलाई पनि त निन्द्रा लाग्दो रैनछ नि।'
आमाको मायाले मन भक्कानियो। ओढ्नेले आँसु पुछेँ तर नाक पुछ्न मन लागेन। रुमाल चाहियो। जुरुक्क उठेर बत्ती बालेँ।
म झल्यास् भएँ।
हे भगवान! म त खाडी मुलुकमा पो छु। कस्तो मन त नेपालमै पुगेछ। घरमै। अझ बाल्यकालमै।
रुमाल भेटिनँ। धुन थुपारेको कपडाबाट एउटा कपडा झिकेर नाक पुछेँ। घडी हेरेँ, रातको एक बजिसकेछ।
कति गर्मी हो। यता आएबाट पानी एक थोप्लो छिट्याएको थाहा छैन। हैन, यिनीहरुको इन्द्र भगवान छैनन् कि क्या हो?
एसीको पावर बढाएँ। यो एसीले तनको गर्मी घटाउला मनको गर्मी हटाउन त घरमै पुग्नुपर्छ। हाम्रो गाँउमा न त एसी न फ्यान। गर्मी छल्न कि पौडी खेल्यो कि छाहरीमा बस्यो। मन शितल भएपछि तन शितल त्यसै हुन्छ। बत्ती निभाएर फेरि बिछौनामै पल्टिएँ।
'मेरो लागि हो र तेरै लागि हो पढ् भनेको' बाले बेलाबेलामा दोह्राइरहने अर्को डाइलग।
अरूले त आफ्नो लागि पढ्छन्। मैले त बाकै लागि पढेको। लेख्दा लेख्दा मेरो दाहिने हातको माझि औँलाको नङको ठिक मुन्तिर देब्रेपट्टि उठेको ठेला देखेर आमा कहिलेकाहीँ टिठाए पनि बा कहिल्यै टिठ अभिव्यक्त गर्नु भएन। सायद मैले पढ्न अल्छी गर्छु भनेर होला।
आफ्नो इच्छाअनुसार गर्न पाउने भए त म त कहिल्यै पानीबाट बाहिरै निस्किन्न थिएँ होला। प्रोत्साहन पनि पर्थेन, बाले गालीमात्र नगरेको भए अहिले त म देशको नाम राख्ने पौडीबाज हुन्नेँ होला।
हुन त बालाई मात्र किन दोष दिनु, सहरको स्विमिङ पुलमा पौडी खेल्नेहरु मात्र पौडीबाज हुन्छन् जस्तो लाग्थ्यो मलाई पनि। अहिले पो बुझ्दैछु पौडी खेल पौडीने क्षमतासँग सम्बन्धित हुन्छ न कि स्विमङ पुलसँग।
खेलाडीलाई पनि काम नपाएका भन्ने हाम्रो समाजमा श्रमिकलाई त झन् सम्मान नै छैन। हली दाइको निधारबाट चुहिएको पसिना देखेर बाले मेरो छोरो भविष्यमा यो बनोस् भन्दा पनि हली नबनोस्, जागिर खावोस् भन्ने चाहानु हुन्थ्यो।
व्यापार गर्दा त पढेको मान्छे किन जागिर नखाएको? भनेर समाजले प्रश्न गर्छ। श्रमिक कामलाई घृणाको दृष्टिकोणले हेरिने कारणले म र मजस्ता धेरै युवा विदेशमा श्रमिक बन्नु परेको छ।
हाम्रो पुस्ता औपचारिक रुपमा विद्यालय जाने दोस्रो पुस्ता। बा विद्यालय गए पनि साक्षर मात्र हुनुभयो। विविध पारिवारिक कारणले गर्दा बाको पढाइ पनि अगाडि बढेन, अरु धेरै साथीहरु जस्तै।
उहाँसँगै पढेका साथीहरु जसले पढाइ अगाडि बढाउने अवसर पाए, उनीहरुमध्ये धरैजसो सरकारी जागिरे भैसकेका थिए। नपढेका साथीहरुले श्रमिक काम गर्थे। पढेका र नपढेका मानिसले गर्ने काम छुट्टियो।
त्यसैले होला बाले बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो- एसएलसीमात्र पास भएको भए पनि खरदार त हुन्थेँ होला, बिए पास गरेर अफिसर नभए पनि।
आफ्नो अधुरो रहर सन्तानमार्फत पूरा गर्न चाहाने अरु मानिस जस्तै बा पनि हुनु स्वभाविकै हो। त्यस कारण बा दिनरातै मलाई पढ्न कर गरिरहनु हुन्थ्यो।
देश विकास गर्न सबैले टेबुल वर्क गरेर मात्र हुँदैन, सबै किसिमको जनशक्तिको आवश्यक्ता हुन्छ। एउटा पुल बनाउँदा ईन्जिनियर एउटा मात्र भएपनि हुन्छ। श्रमिक धेरै जना आवश्यक हुन्छ तर नेपालमा श्रमिक कामलाई इज्जत दिइन्न।
स्कुल जान थालेको हाम्रो पुस्ता संक्रमणकालीन अवस्थामा पर्यो। न त अघिल्लो पुस्ता जस्तो पढेको मान्छेलाई सहज रुपमा टेबुल वर्कको जागिर पाउने अवस्था रहयो न त श्रमिक कामले इज्जत पायो। विदेशमा स्कुल जान थालेका धेरै पुस्ता भैसके।
उनीहरुले सबै कामको सम्मान गर्छन्। नेपाल पनि विस्तारै यो अवस्था हटेर जाला र अबको चार/पाँच पुस्तापछि सबै कामको सम्मान होला तर हाम्रो पुस्तामा नेपाली समाजमा श्रमलाई इज्जत नदिएकै कारणले कयौँ नेपाली युवाहरु विदेशमा श्रम बेच्न बाध्य छन्।
'आमा, अब म पढ्दिनँ बरु गाँउमै केही काम गर्छु। मलाई पढाउन रहर गर्ने र मेरो खर्च पठाउने बा नै नरहेपछि मैले कसरी र कसका लागि पढ्ने?'
बाको तेह्र दिनको काम सकेर आमाले 'अब पढ्न कहिले फर्कन्छस्?' भन्ने प्रश्नको उत्तरमा आमको काखमा टाउको राखेर रुदैँ भनेको थिए।
हार्ट अट्याकले बाको निधन भयो भन्ने खबर सुनेपछि सहरमा ११ क्लास पढिरहेको म घर फर्किएको थिएँ।
'ऋण गरेर भएपनि पढ्नु पर्छ। मान्छे मरे पनि आत्मा त मर्दैन नि' आमाको पनि रहर र कर भएपछि म पन्ध्रौँ दिनमा सहर फर्किएँ। प्लस टु सकेँ। बिए सकेँ तर बाले भनेको जस्तो जागिर खान भाग पुगेन। ऋण थपिँदै गयो। अनि खाडीमा आउन बाध्य भएँ।
हलीको निधारमा आएको पसिना देख्दा छोरो हली नबनोस् भनेर कामना गर्ने मेरो बाको आत्मा कति रोएको होला। मैले खाडी मुलकको चालिस डिग्री तापक्रममा दाँतबाट पसिना आउने गरेर काम गरेको देख्दा विदेशको कुल्ली हुनुभन्दा त आफ्नै देशको हली हुन ठिक जस्तो लाग्छ होला है बा! कमसेकम आफ्ना खेतबारी त बाझैँ हुन्न थिए। कृषिमा परनिर्भरता हट्थ्यो।
नेपालमा सबै कामलाई सम्मान गर्ने वातावरण बनोस्। अगामी पुस्तालाई हामीलाई जस्तो दुःख गर्न नपरोस् भनेर स्वर्गबाटै आशीर्वाद दिनुस् है।
टिरररर...
मोबाइलको अलार्मको आवाजले झस्किएँ। अहो! बिहानको पाँच बजिसकेछ। आजको रात अनिदो भइयो।
निन्द्राले मलाई नछोडे पनि मैले बिछौना छोड्न कर लाग्यो।