अवगत गराउँछु सरकार
तराईमा गर्मी बढेको छ
गर्मीसँगै लोडसेडिङ नि बढेको छ।
गरिब बस्तीका झुपडीहरुमा,
लामखुट्टेको संख्या बढेको छ,
सर्पको बिगबिगी बढेको छ
डर बढेको छ
अनि त्रास बढेको छ।
भोक बढेको छ
अनि रोग बढेको छ।
मेरो अपिल छ सरकार
मिल्छ भने सम्बोधन गरदेऊ।
बाँचिएछ पो भने,
तिमीले गराउने चुनावमा
कम्तीमा एक भोट त दिउँला।
फेरि नि अवगत गराउँछु सरकार
संक्रमितको संख्या बढ्दै छ
कोभिडको त्रास उस्तै छ
प्रकोपको त्रास बढ्दै छ
सिन्धुपाल्चोकसँगै देश रोएको छ।
मेरो अपिल छ सरकार
अब भाषणको होइन
रासनको खाँचो छ।
तिम्रो आश्वासनको होइन
सहयोगको खाँचो छ।
मेरो अपिल छ सरकार
जीउने माहोल बनाइदेऊ
पिउने माहोल बनाइदेऊ
यो देशको माटो बचाइदेऊ
चुरे बचाइदेऊ,
खोला बचाइदेऊ
फेरि नि अपिल छ सरकार
मात्रै जिउने माहोल बनाइदेऊ।