व्यंग्य कविता
पशुपतिकै ठेगान नभैरहेको बेला
केको शिवलेक र शिवालिकका कुरा!
चुरेहरु त भुरे हुन्
फगत ढुंगा र माटाका थुप्रा।
चुरेहरु पनि बोल्दैनन् नेपाली जस्तै
यीनलाई खोद्नसम्म खोद्नु पर्छ
ढुंगा-माटो थुप्रिएको देश के देश!
समथर प्लटिङ गरी आधुनिक पो बनाउनु पर्छ।
ढुंगा माटो बेचेरै धनी होइने रहेछ
किन हैरान गर्नु खेतबारीमा?
पाइप लाएरै बरु आयात गरौंला मिनरल वाटर
के फरक पर्छ इनार र पोखरीहरु सुक्दैमा?
अझै भेटिन्छन् अरे त्यहाँ बज्रढुंगाहरु
ढुंगै त हुन् बेचिँदा के भयो?
अझै होलान् त्यहाँ आदि पुर्खाका पाइलाहरु
आधुनिक जो हौँ वनमान्छेको खबर केलाई चाहियो?
भो बन्द गरौँ चुरेमा फुलेका सभ्यता र संस्कृतिका कुरा
त्यो अनुसन्धान गर्ने ठेक्का पश्चिमले लिइदेकै छ
भौगोलिक र जैविक विविधताको अब के कुरा
ढुंगा माटो बेचेरै समृद्ध बन्ने सवाल यहाँ छ।