प्रिय,
रंगमञ्चको परिधिभित्र चलिरहेको जीवनसँगै दैनिक जीवनमा भोग्नु पर्ने विभिन्न किसिमका अफ्ट्याराहरुसँगै केही पलको रमाइलोले ती जीवनका तिता, मिठा पलहरुलाई भुलाउने प्रयास त गर्छ नै। तर, पारिस्थितिक पद्धति जस्तै चलिरहने उत्तरचढाहरुको गणना गरेर बसेर कसरी सम्भव होला र जिन्दगी भर?
भनिन्छ 'यदि मृत्यु हुँदैन थियो भने जन्म महत्वहीन हुन पुग्थ्यो।' त्यसैले त यस्ता उत्तरचढाब जिन्दगीमा न आउने हो भने सजीव प्राणीमा भावना भन्ने कुनै शब्द हुँदैन थियो होला र जीवन जिउनुको सार्थकता नै हुँदैन थियो होला।
रंगमञ्चमा नाटक मन्चन भइरहँदा कलाकार आफैले कतिबेला हाँसोका फोहोराहरु छल्कन सक्नु पर्दछ त कुनै पल रोदन र मौनताले रंगमंचको सेरोफेरोलाई क्षणभरमै सन्नाटा बनाउन सक्नु पर्दछ। त्यसैले त दर्शक दीर्घामा बसेर कलाकारको नाटक हेर्नेहरु आफ्नो जीवनलाई रंगमंचमा पस्किएको कलाकारीतामा कल्पनामा गर्दछन्।
हो, यस्तै हो हाम्रो जीवन। त्यसैले हाम्रो जीवन भनेको 'रंगमंच' जस्तै हो। मैले जीवन भनेको के हो भन्नेलाई अर्थ्याउँदा मलाई जीवन भनेको एक रंगमंच हो भन्न रुचाउछु। त्यसैले त होला अङ्ग्रेजीमा एउटा भनाइ छ 'अ चाइल्ड इज अ फादर अफ म्यान।'
यहाँ म्यान भन्दै गर्दा मैले कुनै लिंग विशेषलाई महत्व दिएको भन्ने नबुझ्नु होला। यो एक बच्चा कसैको बुवा हुँदा जीवनमा कति पटक आफ्नो भूमिका फेर्दै जान्छ त यही भूमिका नै त्यो रंगमञ्चको कलाकार हरेक फरक-फरक नाटक मन्चन गर्दा पस्किएको हुन्छ जो अक्सर नाटकहरुमा देखिन्छ।
हरेक मान्छे महत्वाकांक्षी हुन्छ र हुन पनि पर्दछ। यदि मान्छे महत्वाकांक्षी हुँदैन थियो भने यत्रो ठूलो उपलब्धि हासिल गर्न पक्कै सक्दैन थियो होला। आफ्नो लक्ष्य प्राप्तिको लागि मान्छे महत्वाकांक्षी बन्नु पनि पर्दछ। बल्ल त्यो मानिस लक्ष्य प्राप्तिको लागि कठोर मेहनत गर्दछ। महत्वाकांक्षा एकदमै भयानक र महत्वपूर्ण छ।
यही शब्द हो जस्ले मानिसलाई संसारकै विद्वान बनाउँछ र सृष्टिकै खतरनाक विध्वंश पनि बनाउँछ। कुन अवधारणालाई लिएर अगाडि बढ्ने भन्ने ती फरक फरक व्यक्तिहरुमा निर्भर हुन्छ जो आफ्नो लक्ष्य प्रतिको लगाबको मार्गलाई आफ्नो नियन्त्रणमा राखेर अगाडि बढ्न सक्छन्।
जसले आफ्नो लक्ष्य प्रतिको लगाबको मार्गलाई आफ्नो नियन्त्रणमा राखेर अगाडि बढ्न सक्दैनन् ती मानिस आफ्नो गन्तव्यमा पुग्न सक्दैनन्। यही आफ्नो महत्वाकांक्षाले गर्दा महत्वकांक्षी बन्ने होडमा म आज परदेशीनु परेको छ। आफैले सृजना गरेका विभिन्न अवसरहरुलाई चुनौतिको यो ठूलो महासागरमा तैरिन प्रयास गर्दै गर्दा तिमी जोडिन आयौ।
प्रिय,
आफ्नो व्यक्तिगत स्वार्थ (परिचय) को लागि तिमी मलाई आफ्नो स्वार्थभन्दा माथि उठेर हरपल त्यही सागरमा मार्गदर्शन गराउँदै छौ। तिमी आस्था, निष्ठा, माया र विश्वासकी खानी होऊ। त्यसैले त भनेका होलान् 'श्रीमान्-श्रीमती भनेका एक रथका २ पाङ्ग्रा हुन्।' कहिले काही त मलाई लाग्छ तिम्रो स्वतन्त्रताको परिधिलाई मैले मेरो व्यक्तिगत स्वार्थसँग सौदा गरिरहेको छु।
आफू आफ्नो लक्ष्य प्राप्तिको लागि आफूसँगै आफ्नै जीवनसङ्गिनीको आफ्नो स्वतन्त्रतालाई बाध्यात्मक हिसाबले संकुचित बनाउँदै गएको महसुस गरिरहेको पनि छु।
नौलो बिहानको कल्पनामा संघर्ष गर्दैगर्दा तिम्रो साथ मलाई अधिक प्यारो र एकदमै महत्वपूर्ण छ जस्ले दिन र रातको यो दैनिकीमा आफ्ना विभिन्न चाहना र आवश्यकतालाई नेपथ्यमा थुपारी आफ्नो श्रीमानको भोलिको भविष्यलाई उसको गन्तव्यमा पुर्याउन कठोर मेहनत गरेकी छ।
नारी वास्तममा तिमी महान छौ। हरेक पुरुषको जीवन सार्थक बनाउने र बिगार्नेमा एक नारीको हात महत्वपूर्ण हुन्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै तिम्रा आफ्ना चाहना र रहरका पोकाहरुलाई खोल्न फुर्सद पाएकी छैनौ।
हाम्रो पुरुष प्रधान समाजमा एक नारी पनि पुरुष बराबर जिम्मेवारी बहन गर्न सक्दछ भन्दै मेरो महत्वकांक्षामा हातमा हात र साथमा साथ दिन निःसन्देह निसंकोच बनी मभन्दा अगाडि संघर्षका पदचापमा सजिलै आत्मसात गरिरहेकी छौ।
भौतिक जीवनको विलासीताको खोजिमा संघर्ष गर्दै गर्दा विभिन्न दुःख कष्टहरुलाई सहेर अगाडि बढ्नु नै पर्दो रहेछ। त्यसैले त यो संघर्षको मैदानमा सन्तुष्टि र आनन्द भन्ने कुराहरु पाउने गाह्रो हुँदो रहेछ।
मानिस सामाजिक प्राणी हो। त्यसैले समाजमा जानु र सामाजिक कार्यहरुमा सक्रियता देखाउनु सामान्य कुराहरु हुन्। काम बाहेक बचेको केही समय यस्तै खालका क्रियाकलाप र सामाजिक सक्रियतामा बिताएँ होला।
मातृभूमि भ्रष्टाचार, अराजक, अराजनीतिक दलदलको भूमरीमा अल्झिएको बेलामा मित्रहरुसँग वैचारिक मन्चमा तिमीलाई दिनुपर्ने समय खर्च गरेँ होला, कहिले तिमीभन्दा ठूलो समाज र देश भनेर हिँडेँ होला, कहिले राजनीति भनेर केही साथिभाइहरुसँगको वादविवादमा तिमीलाई दिन्नुपर्ने समय दिन सकिनँ होला।
यी कुराहरुले मलाई जस्तो पीडा कसैलाई पनि सायद दिँदैन होला किनकि त्यो पात्र त म नै हो जस्ले आफ्नो कर्म, अध्ययन र सामाजिक जीवनलाई राजनीतिसँगै अगाडि बढाउन बाध्य छ। किनकि म मेरो समाजले अग्रगामी परिवर्तनको छलाङ महसुस गरोस् भनेर दिनरात नभनी, परिवार नभनी दैनिक मेरो भूमिकालाई अझै शक्तिशाली बनाउँदै लोकको कल्याणको लागि लागिपरेको एक मनुवा हुँ।
किनकि मेरो स्पष्ट दृष्टिकोण छ 'हामी भित्रको म।' त्यसैले त पहिले हामी बन्नु पर्दछ। हामी बन्यौँ भने म पनि सँगै बन्ने त निश्चित नै छ। म एक्लै बनेँ भने समाज कसरी परिवर्तन हुन्छ त? त्यसैले समय र परिस्थितिसँग जुध्दै छु, थाकेको छैन किनकि मेरो हरेक पाइलाहरुमा तिम्रो साथ छ।
प्रिय,
तिमी जब कामबाट थाकेर आउछौ, सायद थकानले भरिएको तिम्रो शरीर लामो सुस्केरा हाल्दै कहिले यो दुःखबाट छुटकारा पाउला, जीवनमा कहिले सुख, खुसी र आनन्द नहुने भो भन्दै आफैलाई प्रतिप्रश्न गर्छौ होला।
प्रतिप्रश्न गर्दा तिमी यो सम्झनु प्रिय, यो संसारमा हारेर जित्ने भनेको मृत्युले मात्रै हो, किनकि हाम्रो पार्थिव शरीरमा यहाँ हाम्रा आफ्ना आफन्त र दुश्मन मनमा कुनै रिस, राग नराखी श्रद्धाञ्जली अर्पण गर्न विलम्ब गर्दैनन्।
त्यसैले आऊ, आज सँगै रंगमञ्चका भिन्न-भिन्न पात्रहरुको भूमिकामा रमाउन खोजौँ र ती पात्रहरुको असल र चारित्रिक भूमिकामा आफूलाई अब्बल बनाऔँ। तब हामीले मरणोप्रान्त मोक्ष प्राप्त गरौँला।
बाचुन्जेल जिन्दगी तिमी र मेरो दुई भाग्यको लेखान्त। सानो कुरामा खुसी र ठूलो दु:खमा मौनता र धैर्यता बाहेक तिम्रो र मेरो यो रंगमञ्चको प्रस्तुतिमा विभिन्न किसिमको धारणा राख्ने दुनियाँसँग केही पनि सन्देह नगर।
यो सृष्टिको रंगमञ्चमा विधाताले हाम्रो जन्मपूर्व नै निश्चिति गरेको हामी दुई, हाम्रो पात्रिय भूमिका निर्वाह गर्नु नै हाम्रो कर्तव्य र धर्म हो।