बित्थ्यो काल-कराल अक्षरहरू काखी पसेका थिए
विद्वान-ब्राम्हण, काव्य-सारथहरू मौनै बसेका थिए
त्यस्तैमा जब सम्झियौ हरि-कथा लेख्यौ बडो प्रेमले
फुल्दो भो तब काव्यको उपवनै नानाथरी पुष्पले।
जन्म्यो धेर विवाद विज्ञ जनमा के मुख्य भाषा हुने!
तिम्रै काव्य भए हरेक घरका जाँतो-ढिकी रन्कने।
मेलापात वनै रनक्क हुनगो पानी-पँधेरी सब
पास्नी, न्वारन, नाच, बालनहरू जे-जे परे उत्सव।
भाषाको भ्रम सुल्झियो सहज भो साहित्यको सिर्जन,
लेख्यौ आपसका कथा-उपकथा पोखेर आफ्नोपन।
गर्थ्यौ धेर मिठासका स्वर भरी यही देशको चिन्तन,
निष्ठाभाव र ज्ञानका सगरमा चुर्लुम्म डुब्थे जन।
फुट्नै कष्ट छ बीजको भुवनमा फुट्ला जसै जोशले
बढ्दै जान्छ जताततै लहरिँदै उत्साह सन्तोषले।
यस्तै भो जब झुल्कियौ कलम ली खेती गरी शब्दका
लेख्यौ राग-विरागका स्वरहरू गार्हस्थ औ व्यंग्यका।
बाटो बन्न गयो बडो सहज भो उत्थान भो चेतको,
तिम्रै धैर्य र त्यागको फल भयो साहित्य-उद्यान यो।
सम्झन्छौं शुभ-भावका सुमनले अर्पेर पुष्पाञ्जली,
चन्द्रैका सरि चम्कियौँ यगयुगौं हे भानु, श्रद्धाञ्जली!