अलिकति तिमी पछि हट
अलिकति म पछि हट्छु
तिमी छोड अलिकति
र म छाड्छु अलिकति,
तर हेर त
तिमीले मेरो बाटो छेक्यौ
मैले तिम्रो बाटो छेकेँ,
र निषेध गर्यौं गन्तव्यहरु
प्रेम, घृणामा बदलेर
अजंग युद्ध रोज्यौं हामीले,
प्रेम र युद्धको कुरा
तिमीले बुझाएको
मैले सम्झाएको हैन र प्रिय?
तर आज हेर त
किन युद्धमा छौँ हामी?
अहंकारको यो मैदानमा
के तिमीले जितौला?
के मैले जितौँला?
त्यसैले त मैले भनेको थिएँ नि
प्रिय मिलौं!
शक्ति र दम्भका सशस्त्र सारथी बटुलेर
ज्वाला निकालेका छौं हरपल,
यो विभिषिकाको बलिवेदीमा
तर थाहा छ तिमीलाई,
हाम्रा कैँयन यत्नहरू जल्नेछन् अब,
खरानी हुनेछ हाम्रो त्याग
र भष्म भै जल्नेछन् स्वाभिमान र इतिहास,
अस्तित्वका अस्तुहरू
के बाँकी रहलान् र खै?
सहयात्रा र दाम्पत्यका रागहरू
प्रेमालाप र आलिंगनहरू
अन्तरंग क्रिडाहरू त नबकेकै भए
हुन्थेन र?
ओछ्यानका कथाहरू पनि नगाएकै भए
हुन्थेन र भाका हालेर,
अनि बेस्सरी चिच्याएको किन?
किन नांगिएको तिमी त्यसरी?
किन उधारेर च्यातेको लाज?
आखिर तिमी निर्वस्त्र भयौं
र म निर्वस्त्र भएँ
तिमी अर्थहीन भयौ र
म अर्थहीन भएँ
तिमी र म अर्थात्
म र तिमी खण्डहर भयौँ।
त्यसैले त मैले भनेको थिएँ नि
बार-बार अनुनय गरेर
मिलौं प्रिय ।
र यही प्रित अमर बनाऊ भनेर
फेरि एकपटक स्वप्निल
मायालु बनौँ, भनेर ।
तर किन अनायास चुडाल्यौ
मायाको डोरी?
र भत्कायौ कसम खाएका देउरालीहरू,
प्रेमका मन्दिरहरू
अनि उठायौ घृणाका अग्ला पहाडहरू
र छेक्यौ रक्तिम सूर्यको बिहानीलाई?
र के बुझ्यौ त यो निष्पट्ट अन्धकारमा,
प्रेमको मूल्य आज?
आखिर मैले भनेकै त थिएँ नि प्रिय,
मिलौँ भनेर
आखिर मैले भनेकै त थिएँ नि प्रिय,
प्रेमिल बनौँ भनेर।