मधुर जलधि मिठो भानु तिम्रो चरित्र
कलकल कविताको पान गर्छौँ सचित्र।
सब रस अब बाँड्ने हुन्छ हाम्रो प्रयास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश।
रसमय पथ रोज्यौ वाक्य राम्रो भनेर
नवरस भर पौडी खेल्न थाल्यौ गनेर।
गुण रस लय भाषा मान गर्ने प्रयास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश।
प्रकृति कथन लेख्ने रैछ तिम्रो बुभुक्षा
गुण रस कवि तिम्रो आद्य भन्दै सुरक्षा।
बुनिकन जल यस्तो काव्य गर्यौ विकाश
रमकझमक पार्ने भानु तिम्रो प्रकाश।
सुगुण सरस लेख्ने छन्द सारा मिलाई
सब रस कवितामा भाव शिक्षा खुलाई।
भ्रमर रस उकाल्थ्यो काव्य मागेर रास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश।
किन अझपर खोज्छौ भानु बिर्सी जयन्ती
मुलुक भर लुकेका काव्य भित्रै अवन्ति।
नवरस गुण लेख्यौ छर्न आऊ सुभाष
रमकझमक पार्ने भानु तिम्रो प्रकाश।