गुल्मी जिल्लाको तम्घास-पुर्कोटदह सडकखण्ड चौडा हुँदै थियो। सडकसँगै गाउँलेहरूको मन झन् चौडा भएको थियो। उनीहरू दंग थिएँ। तिनका मुहारमा खुसीका धर्साहरू कुदिरहेको प्रस्ट झल्किन्थ्यो।
डोजर चलिरहेको ठाउँमा भेला भएर कोही भन्दै थियो, 'अग्निधरका छोराले बजेट पारिदियो रे।'
अर्का थरी भन्दै थिए, 'प्रदेश सांसद दिनेशले बजेट छुट्ट्याइदिएर काम सुरु भयो।'।
तर अधिकांश गाउँले बजेट कसरी आयो भन्नेमा बेखबर थिए। तिनीहरूलाई कहाँबाट कसरी बजेट आउँछ भन्ने चासोको विषय पनि थिएन। चासो थियो त केबल आफ्नो मौलिक उत्पादन र सोको बजारीकरणको सम्भावनाको।
त्यसैले उनीहरू साउती गर्दै थिए, 'अब बाटो आएसँगै हाम्रो फापर, कोदाले मूल्य पाउँछ रे! सुन्तला कुहिएर फ्याक्नु पर्दैन रे! बाह्र मासै एम्बुलेन्स चल्छ रे!'
तर जुठबहादुर दाइ (जसलाई गाउँलेले माया गरेर जुठे दाइ भन्दछन्) सडक चौडा भएकामा पटक्कै खुसी थिएनन्। डोजरका आवाजले उनको मन चस्किरहेको थियो। अनेकौँ आशंकाले मनमा डेरा जमाइरहेका थिए।
कतै बाटाले आरन (भाँडा पिट्ने ठाउँ) भत्काइदिने र उठीबास लगाउने त होइन भन्ने विषयले उनको मन पिरोलिरहन्थ्यो। सम्पत्तिका नाममा बाटाले मासिदिएको केही रुखो खरबारी र आरन मात्र थियो उनीसँग। उनी त्यही आरनमा बस्थे, त्यहीँ पकाउँथे, त्यहीँ खान्थे।
उनका लागि आरन भनेकै कार्यालय थियो, जागिर थियो, छहारी थियो, हातमुख जोर्ने आधार थियो र एक चिम्टी सास फेर्ने माध्यम थियो। उनी भन्थे, 'आरन हुन्थेन त मेरो परान (प्राण) हुन्थेन।'
बाटो फराकिलो बनाउने क्रममा हेर्दाहेर्दै डोजर जुठे दाइका आरन नजिकै आइपुग्यो। जब डोजर आरनको सन्निकट आउन थाल्यो, उनका सामु दिउँसै अन्धकार फैलियो। आँखा तिरमिराए। ओठ तालु सुक्न थाल्यो। बोली बन्द भयो।
मानिसहरूका बीचमा कानेखुसी बढ्न थाल्यो। अधिकांश गाउँलेहरूले जुठे दाइको आरन भत्काइदिन नहुने पक्षमा अभिमत व्यक्त गरे तर वडाध्यक्ष र गाउँका नेताहरूले बाटाको मापदण्ड मिची सरकारी जग्गामा आरन बनाएकाले भत्काउनु पर्ने धारणा व्यक्त गरे।
यसै बीचमा टीकाराम बुबा अलि आक्रोशित हुँदै जुठे दाइको आरन भत्काउनु पर्ने भए पहिला सरकारी जग्गा मिचेर बनाएको वडाध्यक्षको मदिरा पसल पनि भत्काउनु पर्ने कथन प्रस्तुत गरे। तर गाउँका छोटे महाराजाहरूका सामु न त टीकाराम बुवाको बल पुग्यो न त जुठे दाइको। केही सिप लागेन।
जुठे दाइका बिलौना गुलकोज पानीमा विलीन भएसरि विलीन भए। उनको रोदन, आग्रह, अनुग्रह केही निमेषमै अर्थहीन भयो। डोजरले आरन भत्काउन थाल्यो। तासका पत्ता झिके झैँ आरन छाएका ढुंगा निकाल्न थाल्यो।
वडाध्यक्ष र अरू गाउँलेहरूका लागि एउटा थोत्रो आरन ढल्यो तर जुठे दाइका निमित्त जीवन जिउने आधार ढल्यो। हातमुख जोड्ने माध्यम ढल्यो। जिजीविषाप्रतिको ओतप्रोत ढल्यो।
जुठे दाइ श्रमको मूल्यमा विश्वास गर्ने दलित समुदायका एक सदस्य हुन्। उनले वर्षैभरि अरूका भाडा, हतियार र निर्माण सामग्री बनाउँछन्। तिनमा धार लगाउँछन्। धारिलो बनाउँछन्। अरूका भाँडा र हातहतियार धारिलो बनाउनेले आफ्नो भाग्य भने कहिल्यै धारिलो बनाउन सकेनन्।
उनलाई एक कुरा बाहेक अरू कुनै कुरामा 'नाइँ' भन्न आउँदैन। उनले अस्वीकार गर्ने एउटा विषय भनेको चुनावको बेला भोट हो अर्थात् उनले आफ्ना बाउबाजेले जुन दलमा भोट दिएका थिए, त्यही पार्टीमा मात्र भोट दिन्छु भन्छन्, त्यही जानेका छन्। जति सम्झाइ बुझाइ गरे पनि आफ्नो कित्ता परिवर्तन गर्न उनी कदापि मञ्जुर हुन्नन्।
उनले राजनीति बुझेर भने कदापि होइन। मुख्य कारण उनी आफ्नो मताधिकारलाई बाउबाजेको धर्मको निरन्तरता ठान्छन्। दल परिवर्तन गर्नु धर्म छोड्नु हो भन्छन्। अघिल्लो पटकका चुनावमा उनले आफ्नो पार्टी परिवर्तन नगरेका कारण उनलाई मुखिया बाका पसलबाट आवश्यक नुन-तेल र खाद्यसामाग्री किन्न एवं उधारो दिन वर्जित गरिएको थियो।
यसपालि भने वडाध्यक्षको प्रतिसोधको शिकार बन्नुपर्यो। उसको स्वार्थप्रेरित विकास र दमनसामु आफ्नो बस्ने बास र जीवन जिउने आधारलाई तिलञ्जली दिनुपर्यो।
मधु दाइ भन्छन्, 'गाउँमा हरेक विषयमा राजनीति हुन्छ। पानीमा राजनीति हुन्छ। बाटामा राजनीति हुन्छ। विद्यालयमा राजनीति हुन्छ। हुँदै जाँदा शवमा समेत राजनीति हुन्छ।
यसो देख्दै गर्दा यो लाग्छ कि गाउँमा राजनीति नहुँदो हो त मान्छे के गर्दो हो! समाजका हरेक क्षेत्र राजनीतिले जगडिएको छ। हावाबाहेक सबै क्षेत्रमा राजनीति हुन्छ। कुनै दिन हावामा समेत राजनीति हुन थाल्छ र मानिसहरू भन्ने छन् कि हाम्रो पार्टीको अक्सिजन त नफेर।'
समाज राजनीतिक अन्धभक्तताले मात्र आक्रान्त छैन। अन्धविश्वास, छुवाछुत र कुलीन वर्ग केन्द्रित विकास गतिविधिले समेत ग्रसित छ। यहाँ वडाध्यक्षको खरबारीलाई घडेरी बनाउन बाटो खनिन्छ। नेताका आसेपासेका भट्टी चम्काउन स्थानीय मदिरा प्रवर्द्धन नीति तर्जुमा गरिन्छ।
सामाजिक समानता प्रवर्द्धन गर्न उद्योगधन्दामा आगो लगाइन्छ तर रूपान्तरणका नाउँमा जे-जे भए पनि जुठे दाइले सबैले उपयोग गर्ने धाराको पानी भर्न पाउँदैनन्। उनका बच्चाहरू अरू गाउँलेका छोराछोरीसँग एउटै बेन्चमा बस्न पाउँदैनन्। उनकी श्रीमतीले बोक्सीको आरोप खेप्नुपर्छ।
उनले कुदेका मूर्ति पूजा गरिन्छ तर उनलाई मन्दिर छिर्न र पूजाआजा गर्न वर्जित हुन्छ। उनको श्रम बिक्छ तर उनले छोएको पानी बिक्दैन।
हिजो समानताको वकालत गर्ने कमरेडहरू आज ठूला ठूला महलका मालिक भएका छन् तर ती महलमा जुठे दाइका छोराछारीहरू भाडा तिरेर समेत बस्न पाउँदैनन्। जुठे दाइका सन्तानले कमरेडहरूकै विभेदको धनुषबाट तिरस्कारको वाण सहनुपर्छ।
हुन त सडक पूर्वाधार विकासको महत्त्वपूर्ण कडी हो। यो आफैँमा पूर्वाधार त हुँदै हो तर थप पूर्वाधार निर्माणको आधारशिला पनि हो। यसको विकास र विस्तारबिना पूर्वाधार विकासका अन्य क्षेत्र कागजी घोडामा मात्र सीमित हुन पुग्छन् तर सामाजिक-आर्थिक र वातावरणीय क्षेत्रमा पुर्याउने प्रभावको मूल्यांकन नगरी सडक विकासको रथलाई गति दिएमा त्यसले विकासभन्दा ज्यादा विनास निम्त्याउन सक्छ।
गरिब जनताको ओठमा मुस्कान नभई आँसुको मुहान सृजना गर्न सक्छ। तसर्थ विकास सधैँ शान्ति र द्वन्द्व संवेदनशील हुनुपर्छ। यसले शान्तिलाई संस्थागत गर्ने र द्वन्द्वलाई थप उद्वेलित नबनाउने किसिमको हुनुपर्छ। गरिब जनताको उठीबास लगाएर गरिएको विकास सधैँ एकपाखे हुन्छ। रुखलाई भन्दा ऐजेरुलाई मलजल गरेको जस्तो कहलिन्छ।
तसर्थ सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि गरिने विकास न त चिरस्थायी हुन्छ न त सर्वजना हिताय सर्वजन सुखायको मान्यतालाई आत्मसात् गर्न सक्छ। तसर्थ विकास सधैँ स्वार्थ केन्द्रित नभई श्वास केन्द्रित हुनुपर्छ। विकासको जहाजलाई उचाइ दिन नागरिक सशक्तिकरणलाई जहाजको इन्जिन, समानतालाई इन्धन र न्यायलाई राडरका रुपमा प्रयोग गर्नुपर्छ।
सबै प्रकारका अन्धविश्वास र कुप्रथालाई जरैदेखि उन्मूलन गर्नुपर्छ। असक्षमलाई सक्षम, कमजोरलाई बलियो, वञ्चितिकरणमा परेकालाई मूलप्रवाहीकरण र मूल्यहीनलाई मूल्यवान् बनाई सबैको सशक्तिकरणमार्फत विकासका गतिविधिलाई मार्गप्रशस्त गर्न सके समृद्धिको यात्रामा टेवा पुग्न सक्छ। जुठे दाइहरुको जीवनमा परिवर्तन आउन सक्छ। ओठमा मुस्कान फक्रिन सक्छ।