न्यानो घर भित्र जब मेरो बसोबास भयो
आमा तिम्रो मुहारमा जब खुसीको रंग छायो
परिवारमा हाँसो खुसी प्रस्ट मैले देखिरहेँ
अहो! कस्तो ममता यो भेट्न नपाउँदै आत्तिरहेँ
आमा मैले पनि सपना देख्न थाले नि अब!
विकसित हुँदै छन् आमा मेरा यी साना हात
जस्ले पुछ्नेछन् दुःखमा पनि ती आँसु सब
आमा म आज दुई महिनाकी भएँ
बन्दै गरेका यी नयन मेरा तिमीलाई हेर्न आतुर भएँ
आमा मेरा यी पाइला पनि विकसित हुँदै गएका छन्
सपना देख्छु घरी घरी
तिम्रो काखमा लुटुपुटु गरेको
कोमल मेरा यी पाइलाले तिम्रो छातीमा
पाइला राख्दै अमृतपान गरेको
तीन महिना हेरौ के छ अब?
सुनेँ यो शब्द तिम्रो ओठबाट
जन्म नलिँदै मलाई हेर्ने अहो! ममता
को गीत गाउँदै भएँ म प्रसन्न
छोरी नै पो रहेछ भनी सुनेँ जब मैले
आफैदेखि अन्जान म जात पाएँ मैले
राख्नु हुन्न फाल्नु पर्छ भन्दै सल्लाह गरे
मन मेरो सिथिल भयो अहो! म त छोरी पो हो अरे
आमा के छ मेरो दोष धरतीमा ल्याऊ है मलाई
पीडा हुन्छ मलाई आमा यो भेदभाव केलाई?
ठुली हुन्छु धेरै पढ्छु बनी सहारा तिम्रो
कलिलो मुटु यो मेरो पोल्छ नि आमा छोरी हुँ म तिम्रो
सुइरीले जब चुडाले मेरा यी कलिला खुट्टाहरु
पीडाले म आत्तिए नि आमा, उडे मेरा कलिला सपनाका बुट्टाहरु
निकाले मेरा यी हात पनि असह्य पीडा भयो आमा
छोरी नै त रहेछु त लगाउँथें ती तिमीले दिएको जामा
बाँकी भए आमा मात्र अब ती मैले बुनेका सपना
कस्तो जीवन आमा मेरो जन्म नलिँदै पुगेछु स्वर्गमा
यही छ अब इच्छा मेरो छोरीलाई पनि रम्न देऊ है त्यो आमाको न्यानो गर्वमा।