आज दिउँसै झरी परिरहेको छ। म एक साधारण पहिरनमा सजिएकी सुन्दर युवतीसँग क्याफेको छेउपट्टिको क्याबिनमा छु। जहाँबाट तल कालीपुल बसपार्क अनि अलि पर अग्लो भिरभन्दा अरु देख्न पाइँदैन रैछ।
खैर, अग्लो भिरले मलाई गिज्याइरहेको छ। म भुइँमान्छे त्यो भिरभन्दा अग्लो उचाइ हासिल गरेर पनि फेरि भुइँमै झरेको एक मनुवा। झर्नुको मजा पनि बेग्लै हुँदो रहेछ जबसम्म भुइँमा पछारिनु पर्दैन तर म पछारिएर उठ्ने कोसिस गर्दै छु। र त मलाई त्यो भिरको उचाइसँग लाज लागिरहेछ।
यत्तिकैमा मेरो अगाडिकी युवतिलाई कफी अफर गरेँ तर उनले पहिल्यै अर्डर गरिसकेकी रैछिन्। म त टोलाएर पो केही थाहा नपाएको रैछु। खै! उनी के-के बोल्दै थिइन्, यत्तिकैमा कफी आयो।
'कफी पिउँ है?' भनेर कफीको प्याला समाउन नपाउँदै ऊसँग रेड-रोज क्याफेमा चिया खाएका जुठा कपले टेबल भरिए। हो महोदय, रेड-रोज क्याफेबाट इलामको चिया बगान हेर्न पाइन्थ्यो। यहाँ जस्तो कहाँ थियो र त्यहाँ मलाई गिज्याउने भिर?
त्यहाँ त साँच्चीकै स्वर्गको अनुभूति हुने प्राकृतिक दृष्य थियो अनि साथमा मेरी एन्जल। म त यत्तिकै पनि अग्लो पहाडको चुचुरोमा थिएँ। यत्तिकैमा एन्जिला खिस्स हाँस्दै भनिन् 'कोल्ड कफी मन पर्छ हो? होइन भने चिसो हुँदासम्म किन समाएर मात्रै बसेको?'
जबरजस्ती म पनि खिस्स हाँस्दै भनेँ 'मेरो अघि यति हट युवती भएपछि मलाई सबै ताता चिज बेकार लाग्छ्न् र चाहिँदैन पनि। तिमीलाई हेरेर टोलाएछु नि लाटी।'
झन्डै १ घन्टाको बसाइमा एन्जिलाले के-के सुनाइन् तर म त्यति एक वाक्यमात्रै बोलेछु, त्यो पनि झुट। र यो झुटमा पनि खुब खुसी देखिन्थी एन्जिला। झुट यो मानेमा कि एन्जिला हट छ या छैन मैले जान्दिनँ, मलाई त मेरी एन्जल नै बोल्ड लाग्छ।
एन्जिलाले मलाई 'हनी' भन्दै छेउमै बसेर रोमान्टिक हुन खोज्दै थिई। तर मलाई मेरी एन्जलको याद तीव्र आइरहेको थियो। दश वर्षको रिलेसनमा सात वर्ष गहिरो प्रेम सम्बन्धमा थियौं म र मेरी एन्जल। तर पनि उसले मलाई हनी भनिन, किन?
अनि म झन् विगतलाई सम्झिँदै गैरहेछु। कुरा दश वर्ष अघिको हो, म मेरो साथीको घर गएको थिएँ। उसको घरमा सानोतिनो पूजा थियो। मेरी एन्जल पूजा हेर्न आएकी रे। उसलाई देखेर म मन्द मुस्कुराउँदै हेरिरहेको रहेछु। यत्तिकैमा मेरो साथी आएर जिस्काउने शैलीमा खुसुक्क कानमा भन्यो, 'राम्री लाग्यो?'
'होइन, मेरै लागि भगवानले बनाइदिए जस्तो लाग्यो!' मैले भनेँ।
साथी हाँस्यो मात्र।
ऊसँग पूजाघरमै सामान्य परिचय र मोबाइल नम्बर साटासाट भयो। म भोलिपल्टै घर फर्किएँ। बाटोमा उसले ४/५ पटक फोन र मेसेजमा मेरो खबर सोधिरही र सुखद् यात्राको कामना पनि गरी।
घर आएपछि मेरो मन कतै अडिएन। न साथी न कलेज न घर परिवार। उसैको मात्र याद आउन थाल्यो र म घरमा काठमाडौँ कलेज रोज्न जाने बहाना बनाएर उसलाई नभनी लागेँ इलाम तिर।
आधा बाटो कटेपछि बल्ल खबर गरेँ उसलाई र हाम्रो भेट भयो उसैको रोजाइको रेड-रोज क्याफेमा। म उसलाई सम्झिरहेको बेला एन्जिलाले भनी ´म ढिलो गरेर रिसाएको हो? सरी कालू।'
'होइन होइन,' मैले भनेँ तर कति छिटो सरी भन्न सकेकी एन्जिलाले? मेरी एन्जलले सात वर्षमा एक पटक पनि सरी भनिने या केही गल्ती नै गरिन उसले।
हामी कालीपुल क्याफेमा छौं, यसका सञ्चालक मेरा मित्र हुन्। उनी सिवाय मेरो यस क्याफेमा अरुसँग चिनजान छैन। तर रेड-रोज क्याफेका ती कटेज केही थान प्याला प्लेट र स्टाफ सबैले चिन्छन् हामीलाई।
यदि हामी आज पनि त्यही क्याफेमा हुन्थ्यौँ भने ती फर्निचरहरु अनि हाम्रा जुठा प्यालाहरुले अचम्म मान्दै कानेखुसी गर्थे होला, मान्छेहरु मान्छेलाई नै त जुठो हाल्दै हिँड्ने रैछ्न् हामी प्याला त कति जुठो बनाए होलान्?
मेरा मित्रले म क्याबिनमा भएको थाहा पाएपछि बिना अर्डरको कफी पुर्याइदिए। अब भने मैले एन्जिलालाई हेरेँ र कफी लिन आग्रह गरेँ। ऊ मलाई हेरिरहेकी थिई। मन्द मुस्कान थियो उसको ओठमा। म भने कफी पिउँदै मेरी एन्जललाई सम्झिरको छु। उसले मलाई कफी खानै दिँदैन थिई। भन्थी, निन्द्रा आउदैँन कफी सेवन बढी गर्यो भने।
मेरो मन रेड-रोज क्याफेमै थियो। यही बेला एन्जिलाले नन्भेज आइटम मेरो मुखमा राखिदिइन्। केही वर्ष पहिले चिकेन म:म खाँदा पनि उसले 'कति खान सकेको मासु? राक्षस जस्तो!' भनी कराएकी थिई। मलाई शाकाहारी बनाइसकेकी थिई उसले।
मलाई उसले आफ्नो सहरको कोठामा लगेर पनिर खुवाएको याद आयो। रुखो सुनिने बोली अनि माया मिसाएर मलाई खाना खुवाउँथी उसले।
'साँझको चार बजिसक्यो अब छिट्टै हिँड्नु पर्छ, कतिबेर बस्ने?' एन्जिलाले सोधी।
'तिमी आफैँ विचार गर न लाटी' भनेर म फेरि रेड-रोज क्याफेमा फर्किएछु। त्यही क्याफेमा रात परेपछि उसको कोठामा गएर बिताएका केही दर्जन रातहरु मलाई ताजै लाग्छ। उसले झन् भुल्नै सक्दिन ती क्षण्हरु।
यसरी चलिरहेको थियो हाम्रो जिन्दगी अनि प्रेम तर अर्को तिर दुवै जनाको पढाइ बिग्रेकोले भविष्य अन्धकार हुने निश्चित थियो र हामी निधो गर्यौं विदेश जाने। बेल्जियम जाने र उसलाई पनि लग्ने सपना पूरा नभएपछि बाध्यताबस म साउदी अरेबिया पुगेको थिएँ।
बिहे गर्ने योजनामा म फर्किएँ तर आउँदा पहिला जस्ती थिइन मेरी एन्जल। व्यवहार अलिक फरक थियो। गाउँमा अर्कै हल्ला भएको कुरा साथीले सुनायो। ऊ अरु कसैसँग प्रेममा थिई अरे भन्ने सुनेपछि मेरो हाल के भयो यो छाडौं। तर ऊ रुँदै थिई र मैले अङ्गालो हालेर सम्हालेको थिएँ।
हो, त्यही बेला उसले गल्ती भएको स्वीकारेर एक पटक सरी भनी र सबै भुलेर हामी फेरि रमाउन थाल्यौं। तर सात वर्षको प्रेममा यहाँबाट तिक्तता आउन थाल्यो। झगडाहरु बढिरहे। मैले उसको पुरानो गल्तीलाई लिएर सधैँ टर्चर गर्ने क्रम धेरै चल्यो।
नियमित भेटघाट हुन्थ्यो हाम्रो तर सम्बन्ध चिसो हुने क्रम तीव्र थियो। न छाडेर हिँड्न सक्ने न पहिला जस्तो प्रेम गर्ने। निकै अप्ठ्यारो अवस्था सिर्जना भयो हाम्रो प्रेममा।
विस्तारै हामी एकअर्काको केयर गर्न छाड्यौँ। झन्डै झन्डै प्रेममा म पागल भएको थिएँ। मेरा साथीहरुले मलाई उसको यादबाट छुटकारा दिलाउन, मेरो यौन प्यास मेटाउनलाई यौनकर्मी कहाँ नपुर्याएका पनि होइनन्। तर मलाई मूड आएन। अझै भनौँ ती यौनकर्मीप्रति घृणा लाग्यो।
उसैको याद आयो र पूजा नगरी भेटी चडाएर फर्किएँ म। यसै क्रममा फेसबुकमा मेरो भेट एन्जिलासँग भयो। हामीबीच कुरा हुन थालेको थियो, त्यसै बेला उसको मोबाइलमा पनि कसैको मेसेज देखेपछि झगडाले चर्को रुप लियो, यद्यपि हामी अलगिएका थिएनौँ।
मैले उसलाई कुनै बेला माफी दिएको निहुँमा बार-बार उसलाई अपमान गरिरहेँ। यतिसम्म भयो सँगै बसेर उसैलाई मेरो फोन रिचार्ज गर्न लगाएर मैले एन्जिलालाई फोन गरेको छु। ऊ सुध्रिँदै जाँदा म आफू बिग्रेको पत्तै पाइनँ र उसको अन्तै बिहे पनि भैसकेछ भन्ने खबर पाएको छु।
आज एन्जिलासँग भेट हुँदा पनि मन उहीँ माथि छ। भनौँ या मनमा ऊ छे। मनमनै सोचिराछु, खै! यो प्रेम भनेको स्टिकर जस्तै रैछ कि? जहाँ चिप्कायो उहीँ बस्ने निकालेर अन्त चिप्काउनै नमिल्ने?
सामाजिक या भौतिक रुपमा तिमीलाई एक जुनीभरि पनि पाउन सकिनँ तर सात जुनीमा पाउने प्रेम सात वर्षमा पाएँ र मैले पनि उति नै प्रेम गरेको छु। सरी मेरी मनकी एन्जल, अब बिदा हुनैपर्छ।
यत्तिकैमा एन्जिलाले बोलाइन् र भनिन्, 'छ बज्नै आट्यो, अब बस छुट्ने समय भयो लाग्नु पर्छ।'
उसको बाबाको पनि फोन आयो र ऊ बाबासँगै हिँडी काठमाडौँको यात्रामा। म उसलाई बिदाइको हात हल्लाउँदै एकैछिन एकोहोरिएँ। र, फर्किएँ मेरै कोठातर्फ।