भनिन्छ सपनाहरु संसारमा आएदेखि नै देख्न थालिन्छ। त्यसैले त भर्खर जन्मिएको बच्चाहरु सपनामा हाँस्छन् अनि सपनामै रुन्छन्। यो सपना भन्ने चिज सम्झँदा पनि कति अनौठो लाग्ने!
सपनाहरु पनि धेरै थरीका हुने। कोही सपना यस्ता हुन्छन् कि वर्तमानमा आफूले नसोचेको कुरा आफू निदाएको बेला देखिन्छ।
अर्को सपना हो आफ्नो उमेरसँगै वर्तमान र भविष्यको सपना देख्ने। यी खुला आँखाले देखिने सपना मस्त निन्द्रामा देखिने सपनाहरुभन्दा अलग हुन्छ।
बालापनमा वायुपंखी घोडाको सपाना नदेख्ने विरलै मात्र होलान्। म पनि कयौँ पटक वायुपंखी घोडाको सपना देख्थेँ। वायुपंखी घोडामा चडेर आकाशबाट आइरहेको राजकुमारी कस्तो होला भन्ने मलाई लागिराख्थ्यो, सोचिराख्थेँ र कल्पनामा डुबिराख्थेँ। राजकुमारी भेट्ने मेरो सपना नै भयो।
बालापनदेखि म वयस्क हुँदै गएँ। सपनाहरुको पनि लेभल हुँदो रहेछ। जति आफ्नो उमेर बढ्दै गयो अनि जति दुनियाँसँग घुलमिल हुँदै गयो, सपनाको लेभल पनि त्यही अनुसारको परिवर्तन मेरो जीवनमा भै नै रह्यो।
एउटा यस्तो उमेर पनि आउँदो रहेछ जहाँ जे देख्यो त्यस्तै बन्न मन लाग्ने। १२ कक्षामा पढ्दै थिएँ, त्यो बेला हाम्रो गाउँमा फिल्मको सुटिङ गर्ने एउटा टिम नै आयो। त्यो सुटिङ गरिरहेको हिरोलाई देख्दा त्यही बेला म हिरो बन्छु भन्ने सपना मैले देखिसकेको थिएँ।
घरमा आएँ। ऐना अगाडि आफूलाई खुब घोरिएर हेरेँ। आफ्नो उचाइ नापेँ। अलि अलि मख्ख पर्दै नाच्न थालेँ। सोचेँ त्यो बेला म हिरो नै भैसकेँ। अनि फेरि नदेखिएकी, नभेटिएकी राजकुमारीलाई सम्झेर नाच्न थालेँ।
नाच्दा नाच्दै मेरो कुममा कसैले हात राख्यो। त्यो बेलासम्म पनि म उही राजकुमारीको कल्पनामा नै नाचिरहेको थिएँ। मैले पनि हातमा हात, साथमा साथ दिनुपर्यो भनेर उसको हातमा मेरो हात के मिलाको थिएँ, म झस्किएँ। बिल्कुलै झस्किएँ, कता-कता भ्यागुताको ढाड छोए जस्तै अनुभव भयो।
बलराम पो रहेछ। उछिटिएको दुई वटा दाँत देखाउँदै हाँसिरहेको। उसको बाबुआमाले नाम पनि अलिक गतिलो राखिदिएको भए पनि हुने नि, ताकि गाली गर्दा पनि छुट्टै मज्जा आवोस्।
'बलरामे, ढोका ढकढक्याउनु पर्दैन?' झस्किएर भनेँ।
बलरामेले पनि मलाई जवाफ दियो 'म पनि त्यही भन्न लागेको थिएँ कान्छा, यस्तो पागलपनको जस्तो व्यवहार गर्दा मज्जाले ढोकाको चुक्कुल लगाउनू।'
भन्न केही सकिनँ त्यसलाई। दुई जना एकअर्कालाई हेरेर मुसुमुसु हाँस्यौं। दिनहरु बित्दै गए। मेरो पढाइ पनि जारी नै थियो। अचानक बाबा बिरामी हुनु भयो। हस्पिटल लग्यौँ बाबालाई एम्बुलन्समा हालेर। बाबालाई आपतकालीन कक्षमा राखिएको थियो।
सेतो एप्रोन, मास्क लगाएकी अग्ली युवती मेरो छेउसम्म आएर उभिइ र प्रेसर जाच्न थाली बाबाको। उसलाई देख्ने बित्तिकै मेरो बालापनको सपानाको याद आयो। वायुपंखी घोडामा सेतो सुट लगाएर म उही सेतो एप्रोन लगाएकी राजकुमारीलाई लिन आउँदैछु।
साँच्चीकै भगवानले जुराइदिनु भएको मेरो राजकुमारी उही हो जस्तो लाग्न थाल्यो। परफ्युम पनि कस्तो मिठो लगाको! लामो कपालमा उसलाई साँच्चीकै कस्तो सुहाएको।
गाजलु आँखाले मलाई हेर्दै बाबाको भिडिओ एक्स्रे गराउनु पर्छ भनी। मैले टाउकोमात्र हल्लाउन सकेँ। यति भनेर ऊ उसको काउन्टरमा गई। ग्लोब्स फुकाली, म हेरिरहेको थिएँ एकटकले उसलाई, कपालहरु मिलाएर मास्क खोली।
म त उसको रुप देखेर मुख आ.. गरेको गरेकै भएछु। छेउमा आएर बलरामेले मुख थुनिदिँदा पो म ब्युझिएँ। त्यो दिनदेखि मैले मनमनै पहल गरेँ। राजकुमारको सपना म अबदेखि देख्ने छैन।
ठ्याक्कै मेरो सानिमाको उमेरको पो रहेछ! अनि मास्कदेखि रिस उठ्न थाल्यो, मास्क बनाउने मान्छेदेखि रिस उठ्न थाल्यो। सायद यस्तै जीवनमा मेल खाने भएर नै होला सामाजिक सञ्जालमा अपेक्षा र हकिगतहरुको मेन्यू दिएको।
'ओई बलरामे, कतिखेर आइस्?'
'तेरो घरमा गएको, बहिनीले बाबालाई हस्पिटल लगेको छ भनी। त्यही भएर हतारिँदै आएँ।'
दिनहरु यसरी नै बित्दै थियो। सानातिना घटनाहरु घटिनै रह्यो। मलाई जिन्दगीमा केही गर्नु थियो। केही बन्नु थियो। गायनमा मेरो रुची थियो। बलरामको गायकी एकदमै राम्रो थियो। उसले संगीतको कक्षा पनि लिँदै थियो।
मैले उसलाई मेरो रुचीको बारेमा भनेँ। उसले उसको संगीत गुरुसँग भेटाउने चेस्टा गर्यो। भोलिपल्टको दिन एकदमै प्रफुल्ल मुडमा दुई जना लाग्यौँ संगीत गुरुलाई भेट्न।
मिठो मसिनो वार्तालापपछि गुरुले मलाई एउटा गीत गाउन लगाउनु भयो। मैले रामकृष्ण ढकालको ओराली लागेको गीत गाएँ। गीत गाएको सुरुदेखि नै गुरुको मुहारमा हाँसोको रेखाहरु भरिन थाले। बलरामेलाई हेरेँ। उछिटिएको दात देखाएर हाँसिरहेको थियो।
'ओराली लागेको' गीत आधा पुर्याउँदा पनि मेरो स्वर उकालो नै लागेन। बलरामेले मलाई बाटोभरि सम्झाउँदै ल्यायो, म तलाई सिकाउछु भन्दै- 'तेरो गायकीमा म सहयोग गर्छु।'
त्यसले जति नै सम्झाए पनि मेरो मन खिन्नको खिन्न नै भयो। बलरामेले मलाई छोड्न नै मानेन। ऊ मसँग नै सुत्ने भन्यो त्यस रात। राति बलरामे सुतिसकेपछि सानो स्वरमा गीत गाएँ। अनि मनमनै सोचेँ, यो सबै जेनरको गीत गाउन, सी नोट, डी नोट, हाइ पिच, लो पिच गाउने क्षमता म जस्तो गायकको मात्र हुन्छ कि क्या हो!
एउटा गीत गाएर बलरामेलाई हेरेँ, त्यो ब्युझियो कि ब्युझिएन भनेर। त्यो बलरामे सुतेको थियो थिएन थाहा छैन तर निदाएकै रुपमा पनि त्यसको उछिटिएको दाँत बन्द भएको थिएन।
आफ्नो जिन्दगीदेखि दिक्क लागिसकेको थियो। बलरामेले सानैदेखि म गायक हुन्छु भन्ने सपना देखेको थियो। गीतहरु पनि आफै लेख्थ्यो। अब उसले चाँडै नै बजारमा गीत ल्याउन लागेको थियो। उसले मलाई गीत सुनायो। एकदमै राम्रो थियो।
गीत सुनाइसकेपछि मैले भनेँ, 'बलरामे, गीत बजारमा ल्याउनुभन्दा अगाडि तेरो दाँत डेन्टिस्टकोमा गएर मिला ल।'
बलरामे रिसायो। मनमनै मलाई भने हाँस उठिरह्यो।
बलरामे दिक्क भैसकेको थियो, मेरो वर्षदिनमा परिवर्तन हुने सपनाहरु देखेर। कोही-कोही सपनाहरु त महिना दिनमा पनि परिवर्तन हुन्थ्यो। चिया दोकान देख्दा चिया दोकान नै खोल्न मन लाग्थ्यो। रेस्टुरेन्टहरु देख्दा त्यस्तै खोल्न मन लाग्थ्यो। गाडी चालकहरुले गाडी कुदाइ राख्दा गाडी चालक नै हुन मन लाग्थ्यो।
यो मेरो चञ्चलपन हो या अडिग हुन नसकेको मेरो मन हो। एक साँझ बलरामे र म छतमा क्यान बियर खाँदै जून-तारा हेरिरहेका थियौँ। साँझ एकदमै रमाइलो थियो। धेरै ताराहरु थिएनन् आकाशमा तर ती थोरै ताराहरु र जुनले आकाशलाई सजाएको थियो, साथै धर्तीमा उज्यालो प्रकाश पनि दिइरहेको थियो।
'कान्छा तेरो जिन्दगीमा के बन्ने चाहना छ?'
'खोई बलरामे के बन्ने के, सपनाहरु धेरै छन्। पूरा हुन्छ जस्तो मलाई लाग्दैन मलाई!'
'कान्छा, एउटा कुरा भन्छु त नरिसा है?'
'उम् भन् न, म कहिले रिसाको छु र।'
'कान्छा, त अलिक चञ्चले छस्। तेरो मनमा कतिबेला के कुरा खेल्छ थाहा छैन। कतिबेला जिन्दगीका सपनाहरु फेरिन्छन्, त्यो पनि थाहा हुँदैन। कान्छा, मलाई लाग्छ आफ्नो सपना पूरा हुनका लागि सपना देखेर मात्र हुँदैन। सपनासँग आफ्नो मनोबल, आफ्नो धैर्यता अनि मेहनत पनि जरुरी छ।
ऊ त्यहा आकाशमा हेर् कान्छा अनगिन्ती ताराहरु छन्, बिल्कुलै तेरो सपनाहरु जस्तै। ती ताराहरु सबै एकै खालका छैनन्। ती ताराहरु मध्ये कुनै एउटा खास तारा पनि छन्, जसले अरुभन्दा बिघ्नै उज्यालो दिइरहेको छ। तेरो पनि थुप्रै सपनाहरु मध्ये कुनै खास सपना होला जसलाई तैले ध्यान नै दिएको छैनस्।
कान्छा, सपना देख्नु राम्रो हो। बरु सपना नदेख्ने निर्जीव वस्तु हुन्छन्। तेरो सपना के हो राम्रोसँग बुझ्, आफैले आफूलाई पनि बुझ् अनि आफ्नो सपनामा अडिग भएर बढ्। पक्कै पनि तैले एकदिन सफल्ताको शिखर चुम्ने छस्।
ताराको छेउमा रहेको जूनलाई हेर कान्छा, कहिले काहीँ कालो बादलले छेकिदिन्छ। दिउँसो घामको प्रकाशले छेकिदिन्छ तर पनि अडिग भएर घाम र बादलसँग लुकामारी खेलिरहन्छ। अनि धर्तीमा आफ्नो उज्यालो प्रकाश छरिरहन्छ। आफ्नो सपना पनि आकाशमा देखिरहेको जुन जस्तै बना कान्छा।'
त्यो साँझ मलाई किन यति प्यारो लाग्यो थाहा छैन। त्यो रात म सुतिनँ, मेरो सपनाहरुको लस्कर लागेको थियो। ती सपनाहरुलाई नियाल्दै केलाउँदै गरिरहेँ रातभरि।
बिहान चियाको चुस्कीसँगै सपनाहरु बुन्न थालेँ। आज बुनेको सपनाहरु अनगिन्ती थिएनन्। मेरो बाबाको चिया पसल थियो, यसैलाई परिवर्तन अनि राम्रो गरेर नयाँ बनाउने सपना थियो।
आज म ३० वर्षको भएँ। अहिले मेरो चिया पसल एउटै नामले धेरै ठाउँहरुमा छन्। सपना ठूलो होस् या सानो किन नहोस्, लगनशीलताको साथमा आफ्नो सपनाप्रति अडिग हुनुपर्छ।
बलरामेले मलाई नसम्झाएको भए अझै पनि म सपना नै बुनिराख्थेँ होला। सपना नै देखिराख्थेँ होला, जुन सपना कहिले पूरा हुँदैन थिए होलान्।