चौबाटामा ठिंग उभिएको
श्रद्धेय सहिदको सालिक यतिबेला
भावविह्वल भई सायद यस्तै यस्तै सोचिरहेको होला
अँध्यारा रातहरू थिए
स्वर्णीम बिहानीको खोजीमा
मनभरि क्रान्तिको सलेदो बाल्दै
इन्क्लाबमा उठेका मेरा सहयात्री युवा हातहरू थिए
देउरालीको चौतारी, गाउँबेंसीका बाटाहरू थिए
लहलह फापर फुल्ने स्वाँराका पाटाहरू थिए
तर, किन आज कुहिरो भित्र लुकेको छ पाखा
गोधूलिमा सुनिँदैन लैबरीको भाका
बाँझै देख्छु फापर फुल्ने स्वाँराको पाटो
कसले सजाइदेला बरै यो देशको माटो!
संघर्षको जीवन्त गाथा
परिवर्तनको उत्कट अभिलाषा
दासताको साङ्लो चुँडाल्ने अठोट
आजीवन संघर्षमै रहे
सपना मनको सुन्दर उनको भाव चाहना हुँदो हो
आफ्नै सुन्दर फूलबारीमा रोग, भोक र महामारी
यो कस्तो ताण्डव?
मन उनको रुँदो हो
चारालीमा ठिंग उभिएको श्रद्धेय सहिदको सालिक!
अजस्र ती खोलानाला बग्छन् निरन्तर
बाँझो धरती अँध्यारो छ किन गाउँघर
नहर बनाई फर्काइदिने सेती अनि काली
छैनन् कोही खडेरीले सुकाइसक्यो काली
गाम-बेंसीको चौतारी र पँधेराको बाटो
कसले सजाइदेला बरै यो देशको माटो?
पद पैसा र प्रतिष्ठाको लिप्सा
तृण बराबर, देश र जनताको मुक्ति
मात्र रह्यो उनको इच्छा
तर लुछाचुँडी छ देशमा
सत्ताका लागि भत्ताका लागि
गृह, परराष्ट्र र अर्थका लागि
सहमति शब्दको यो चरम बेइज्जति
तैपनि टिभीको पर्दामा हाँसेकै हुन्छन् नि असत्ति
श्रद्धेय सहिदको सालिक यतिबेला
भावविह्वल भई के सोच्दो होला?
भावविह्वल भई के सोच्दो होला?