ए, बेलुनहरु
उचाइमा छौ,
आकाश चुम्न खोज्दैछौ,
उत्साहमा छौ,
विजयोत्सवमा छौ।
जाऊ जाऊ, अझै माथि,
मनाऊ उत्सव,
विजयको।
हावा भरिएका छौ
तिमीहरु,
कोही दम्भको,
कोही घमण्डको,
कोही पाखण्डको, कोही बैंसको।
हो, तिमीहरु
हावा भरिएका छौ,
यस्तै, यस्तै
अनेक प्रकारका हावाहरु।
कोही आकस्मिक उडान भर्दैछौ,
त कोही नियोजित उडान।
उडान जस्तोसुकै होस,
वास्पयुक्त छ, तिम्रो उडान।
माटो बिर्सँदैछौ,
धरातल बिर्सँदैछौ,
जननी बिर्सँदैछौ,
जन्म अनि मृत्यु बिर्सदैछौ।
कोही मदयुक्त उडान,
कोही अहंकार युक्त।
जसमा,
मौलिक उर्जा छैन,
पत्थरीलो अडान छैन,
गर्भिलो आँट छैन।
जसमा छ त मात्र,
उर्ध्वचाप युक्त उर्जा।
पछुताउने छौ तिमी,
हो, पछुताउने छौ।
जब प्याट्ट फुट्नेछौ
भुइँमा बजारिनेछौ
बल्ल बुझ्नेछौ
या बुझ्न पनि बाँकी रहने छैनौ
अस्तित्व शून्य।