फैलिरहेको छ देशभर, कोरोनाको महामारी
भइरहेका छ्न् आक्रान्त, सबै यसको संक्रमणले
फैलिएको छ डर र त्रास सबै माझ
मरिरहेका छन् जनता, दिनहुँ अनाहकमै
छैन कुनै छाँट यसको छिट्टै हराउने अनि निको हुने।
दुःखको घडी सक्न नपाउँदै
प्रकृति भयो रुष्ट किन?
आयो बाढी पहिरो विनाशकारी बनेर
अनि देखायो ताण्डव नाच यसले
भयो नष्ट एक क्षणमै वर्षौंदेखिको लगानी।
बगाइलग्यो यसले वस्तीका भौतिक संरचनाहरु
हिजोसम्मका उर्वर भूमि आज बने बगर
हिजोसम्म चहलपहल हुने वस्तीमा आज छायो सन्नटाले
हिजो भकारीभरि अन्न भएकाहरु पनि
आज खानु पर्यो सापटी मागेर।
जिन्दगी भर रगत पसिना बगाएर कमाएको श्रीसम्पत्ति
आफू र आफ्नो परिवारको गाँस काटेर जोडेको घरबारी
आज आफै सामु बाढीमा बगेको हेर्नु पर्यो टुलुटुलु
अब त गाह्रो भो खोज्न, आफ्नै घरबारी, श्रीसम्पत्ति कहाँ र कता छ भनि
केवल सोच्न बाध्य भए सबै, अब कसो गरी पेट पाल्ने भनि।
भए कति घरबार बिहीन, बने कति परिवार विहीन
बने कति नाबालकमै टुहुरा
पुछियो कतिको सिन्दुर, अनि फुटाइयो चुरा
करोडपति एक क्षणमै बने रोडपति
सपना झैँ लागे पनि आखिर यथार्थ त झेल्नु पर्छ, जे-जस्तो भए पनि।
अब त अति भो
अब त दया गर, माया गर
रोक आफ्नो रुद्र रुपलाई
बचाऊ आफ्नो सुन्दर सृष्टिलाई
अनि प्रकृतिको सुन्दर रुपलाई।