उर्लेर आउँदा यी खोलानाला दिनरात एक भाछ
हेर्नेलाई आँसु बर्बर झर्छ त, भोग्नेलाई के भाछ
छोरीलाई बिदाई गरौंला भनी जोडेको सुनचाँदी
छोरालाई खाडी पठाइ पठाइ जोडेको खेतबारी
झरेको झरी यो मेरो धुरी बचाइदेऊ केही गरी
जीवनभर लगाइ जोडेको धन नबगाइदेऊ झरी
छोडेर यसलाई म कहाँ जाउँ मरे यही मरौंला
धन र मन यही नै हो मेरो म कसो गरुँला?
संकेत बिनै उर्लेर आयौ भागुँ म कसरी
परिवार सबै छन् कता-कता डाँकु म कसरी?
एक कान्ला उक्लि पछाडि हेर्दा घरबारी बगेको
दैवले पनि निर्दयी बनि हामीलाई ठगेको
ती गोठैभरि सन्तान झैँ गरी पालेका जनावर
सपना झैं लाग्छ, विश्वास मलाई लाग्दैन रत्तिभर
जीवनमा अब उकालो लाग्ने दिन आए भन्दै थिएँ
यही घरबारी करोडौं सपना मनमा साँच्दै थिएँ
सबैथोक गयो पानीमा मिली बाँचेको यही आश
घरबार भई बसेका सबैलाई बनायौ वनबास
कुन ठाउँ थियो घर खेतबारी निसाना चिन्दिनँ
बिर्सन्छु भन्छु विपदको पीडा आइदिन्छ छिनछिन
अब त झरी रोकिदेऊ पर्न रिमझिम रिमझिम।