दिनभर दिनभर फ्यारफ्यार भुर्भुर
माटोको गन्ध नाकले सुँघ्छ!
स्वर्ग रोई गिला बनेका हिला चुचाले
उचाल्न खोजी ठुङ्छ ठुङ्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ! एउटै गुण
सायद महाकविको सयनकक्षमै गौंथलीको गुँड थियो। सायद गौंथलीका खन्चुवा बचेराहरू आधा रातमा पनि चुहुचुहु गर्थे। बाल्यावस्थामा मनुष्य र गौंथलीका बचेरामा भिन्नता हुँदैन। बचेराले आमालाई आरामको दरकार पर्दछ भन्ने बुझ्दैन। तथापि, आमालाई कुनै पीडा हुँदैन। किनकि बचेरो निर्मल, स्वच्छ र निर्दोष हठी हो।
केही वर्ष अघिसम्म पहाडी इलाकामा पर्ने प्रत्येक दलानका दलिनमा गौंथलीले गुँड बनाउँथे। कतिपय घरमा गौंथलीले गुँड बनाउने ऋतुमा माथिल्लो तलाको कोठाको झ्याल दिनभरि खुलै छाडिदिने चलन थियो।
म बस्ने कोठाकै दलिन बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो
-कवि शिरोमणि लेखनाथ पौड्याल
यो हो गौंथली र मनुष्यबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरण। भर्खरै पिटेर (धोएर ) विछ्याएको सुकिलो तन्नामाथि बिस्टा खसालिदिने गौंथलीप्रति कुनै घृणाभाव थिएन र लखेट्न पनि जरुरी थिएन। मानिस र गौंथलीबीचको अघोषित सांस्कृतिक गठबन्धन थियो त्यो।
प्रजननको ऋतुमा मात्र मानव बस्तीमा आश्रय खोज्दै आउने गौंथलीको टाउको र प्वाँख कालो र पेट सेतो हुन्छ। हिउँदको समयमा देखा नपर्ने यो पंक्षी साह्रै सुधो हुन्छ। कसैलाई नोक्सान् नपुर्याउने र बिस्कुन नखाने हुँदा पनि यो मनुष्यको प्रिय भएको हुनसक्छ। सोझी कन्यालाई ‘गौंथली जस्ती’ भनेर प्रशंसा गर्ने चलनमा गहिरो अर्थ छ।
अचेल गौंथलीको सङ्ख्या कम हुँदै गएको छ। काठको दलिन नभएका पक्की घर र टिनले छाएका गोठहरू बनाउने चलनले गर्दा गौंथलीको बास भुटिनै लाग्यो। पहिले-पहिले पहाडी गाउँमा प्रशस्त चरुवा गाईगोरु हुन्थे। पोखरी र खाडलमा पानी खान जाने गाई-बाच्छाले कुचेको माटो नरम हुन्थ्यो। गाउँलेहरूले पटुवा बनाउन सिठा गाडेको जलासयको छेउको माटो नरम हुन्थ्यो। अहिले न चरुवा पशु छन्, न त पहिले जस्तो सिठा नै गाडिन्छ। पोखरी सुके, धारा र कुवाको पानी पाइप लगाएर घरघर पुर्याइयो। गौंथलीको गृहनिर्माणको स्रोत पनि सुक्यो।
त्यही बेला बिजुली चमक्क चम्की वाहाँपछि गर्जदा
मन् धुकधुक् हुनगो यसोरी जब ता ती पापीले बिर्संदा
-मोतीराम भट्ट
वर्षा ऋतुको समयमा एक्लै झ्यालमा बसेकी अनङ्गको आक्रमणबाट ग्रस्त रमणीले सायद प्रणयशील गौंथलीका जोडी देखेर गान गरेको पीडा हो त्यो। त्यही पीडालाई पोख्दै उनले कोइलीलाई आफ्नो सन्देशवाहक बनाइन्। परन्तु, गौंथलीको प्रणय वासनायुक्त नभई अस्तित्वको निरन्तरताका खातिर गरिएको निष्काम मिलन हो भनेर बुझ्ने क्षमता युवतीमा थिएन।
त्यही एक मात्र प्रणय हो, जसले गौंथलीको जोडीको आत्मालाई एक वर्षका लागि पुग्ने गरी परमात्मामा लीन गराइदिन्छ। एउटा अव्यक्त र अचेतन चाहना, जसको उद्देश्य केवल वंशीय निरन्तरता मात्र हो। एकै मिलनमा आकांक्षाका सारा घडा भरिला भए, खाल्डा पुरिए, फूल फुले र निष्काम प्रेमका गीत गाइए। अब कुनै वासना र चाहना बाँकी रहेन। बाँकी रह्यो त केवल त्यो प्रणयको प्रस्फुटन, जो अण्डा हुँदै बचेरामा परिणत हुनु छ।
गौंथलीले निर्माण गर्ने घर कुनै आशक्ति र लिप्साको अभिव्यक्ति होइन। जीवन के हो, सभ्यता के हो, ईश्वर को हो, मोह र मायाजाल के हो, सम्पत्ति के हो र मित्र को हो? गौंथलीसँग यो सबै छैन तर सबै थोक छ। एक अनियोजित तृप्त जीवन, जसको न तोकिएको सदाचार, न इतिहास न त कथा नै छ। गौंथलीका बारे कुनै कविता लेख्नु पर्दैन, ऊ आफैं काव्य हो।
न कुनै असमन्जस न भ्रम
न त इर्ष्या न क्रोध न अहङ्कार
न लोभ न आशक्ति न मायाजाल
न लाज न निर्लज्जता न मात्सर्य
केवल गुणातीत ब्रह्ममय जीवन
जसरी एउटा असल पसलेले सबैभन्दा पहिले असली र सुन्दर सामान देखाउँछ, जसरी सुन्दर किशोरी कन्याको मन्द मुस्कान झुल्किन्छ, जसरी प्रथम किरणमा बिहानै धौलागिरि हाँस्दछ, त्यसैगरी गौंथली सबैभन्दा पहिले अस्तित्व रक्षाका लागि घर निर्माण गर्दछ। प्रेम र प्रणय त जहाँ पनि गरिएला तर सन्ततिको रक्षा प्रथम कर्तव्य हो।
हरपल महोत्सव, प्रतिपल आनन्द, प्रत्येक सासमा साख्यभाव र सुकोमल सहृदयता। हमेसा प्रेमको चिरिबिरी गुञ्जन, सधैं शान्ति र सद्भाव, अहर्निश सत्यम् शिवम् सुन्दरम्। अफैंभित्र छ अविचलित आत्मबोध। जहाँ जान्नु पर्ने केही छैन, न त सुन्नु पर्ने नै केही छ। सधै कैवल्यभाव र सधैं निर्विकल्प।
गौंथलीले खानका लागि युद्ध गर्दैन। त्यस्तो जीवन जहाँ पाप छैन, धर्म छैन, स्वर्ग र नरक छैन। जहाँ कृष्णको गीताको दरकार पर्दैन, बिदुरको नीति फजुल हो। सिद्धार्थ जस्तो अन्धकारबाट रन्थनिएर उज्यालो खोज्दै भौंतारिनु पर्दैन। न त जिजस जस्तो क्रुसमा झुण्डिनु नै पर्दछ। गौंथलीकी स्त्रीले सती, सीता र द्रौपदीले जस्तो प्रताडना सहनु पर्दैन। अहिल्याले जस्तो युगौंसम्म रामको पादस्नेहको प्रतीक्षा गर्नु पर्दैन।
सन्तानको माया नहुँदो हो त रातदिन भोको बसेर बचेराको पेट भराइन्नथ्यो। मोहपासमा जकडिएको भए हुर्केका बचेरा फेरि भेट नहुने गरी उडेर जाँदा आँशु आउँदो हो। बचेरामा आमाबाबुप्रति मोह भएको भए ती फर्कीफर्की भेट गर्न आउँदा हुन्। हुर्केका सन्तान आफ्नो स्वतन्त्र जीवन खोज्न अन्तै प्रस्थान गरे। जीवनको एउटा कर्तव्य पूरा भयो। अब फेरि अर्को प्रजननको ऋतु आउनेछ, फेरि अस्तित्वले पूर्ववत् प्रणयमा प्रेरित गर्नेछ र फेरि दोहोरिनेछ निष्काम प्राकृतिक कर्तव्यपालन।
त्यसैले त गौंथली निर्गुण र निर्विशेष छ। यस्तो जीवन जहाँ न सत्वको प्रयोजन छ, न त रज र न तमको। गौंथली गुणातीत छ। जहाँ कामना छैन त्यहाँ तृप्तीको दरकार पनि छैन। न त्यो संसार मायामय छ, न सुख छ, न दु:ख, न भगवानको प्रार्थना। मनुष्यले संसारलाई मायामय भ्रम भन्दछ। किन्तु, गौंथलीका लागि यो न माया हो न त भ्रम। उसका लागि त्यही प्रकृति नै सत्य हो जहाँ ऊ अवस्थित छ। न विगतप्रतिको गुनासो, न भविष्यको चिन्ता, ऊ सँग केवल वर्तमान छ। गौंथली नामहीन छ। उसलाई कुनै परिचयको आवश्यकता छैन। न कसैलाई चिन्नु छ न कसैबाट चिनिनु। न ज्ञान छ न त अज्ञान, न विद्या छ न त अविद्या नै।
हाम्रो शास्त्र मनुष्य जीवनलाई उत्कृष्ट ठान्दछ। मानवेतर प्राणी उसका लागि निकृष्ट र दु:खभोगी छन्। शास्त्र भन्दछ- मनुष्य भ्रष्ट भयो भने जीवन पशुवत हुन्छ। फेरि वेदान्त भन्दछ- एक अविनाशी ब्रह्म मात्र सत्य हो। सांसारिक पदार्थप्रतिको मोह र अनित्यलाई नित्य सम्झनु नै अज्ञान हो। जसको अज्ञान नाश हुन्छ त्यही नै ब्रह्ममय हुन्छ। मानवले युगौंदेखि खोजिरहेको ब्रह्ममय निष्काम गुणातीत जीवन त आखिर गौंथलीमा विद्यमान रहेछ। धेरै बुद्धिमान हुन खोज्दा आफ्नो नजिकको ब्रह्म नदेखेर कहाँ कहाँ भौंतारिन्छ मानव।