म के भनूँ!
गाजरजस्तो रातो
छालाको गर्व होला
तिमीलाई
तर
म गौरवान्वित हुन सकिनँ
मलाई थाहा छ
छाला त चाउरिने छ...
तिम्रा नूरानी नयनका
आकर्षणले
प्रभावित हुन सकिनँ म।
म जान्दछु
समयको झोक्काले
आँखाका नानीहरू
सुक्नेछन्
त्यो सागरको नीलिमा
उड्ने छ
जवानीको कालो पट्टीले
विवेकको नजर
छोपिदिएको छ तिम्रो
त्यसैले
यो यथार्थलाई
बुझ्दिनौ तिमी
तिमी छाँगाबाट खस्ने दिन
अर्थात् तिमी झस्किने दिन
अबेर भैसकेको हुनेछ।
डुब्नेलाई
त्यान्द्राको भर’भनेझैँ
अत्तालिएको
मनस्थितिले
घडीका काँटाहरू।
रोक्न पुग्नेछन् तिम्रा हातका
औँलाहरू
तर अफसोस!
समयचक्र
निर्बाध चलिरहनेछ
चली नै रहनेछ...
सुनौलो,
रेशमी
मुलायम केशराशिको
गुमानले हावा खानेछ
जब वयको बबन्डरले
सेताम्मे पाक्नेछन्
एक एक रेशा कपालका
कतै तिलचामले भैदिए
कत्ति नमजा हगि?
मोतीका लहरजस्ता
दाँतका पङ्क्ति
छिन-पहाडका स्याउजस्ता
पोटिला गालाको लालिमा
गुलाबका कोमल पत्रजस्ता
अधरहरू
सुराहीदार त्यो कण्ठ प्रदेश
कुनै काम लाग्ने छैनन् -जब-
सारा सारा अवयवहरूबाट
मोहभंग हुनेछ तिम्रो
शीघ्रातिशीघ्र।
उ...त्यो बाँसको तामा
उँभो लम्किरहेको हेर त!
सगर छोउँलाझैँ गरी
कत्रो हतारमा....
आफ्नो
भ्रमित उचाइको
अभिमान व्यक्त गर्न नपाउँदै
आफ्नै
नुहेको शिरमाथि
एउटा लघुतम पक्षी
फिस्टो
उफ्रिरहेको भान हुँदा
जीवनको तीतो यथार्थ
निल्नु न उकेल्नुको अवस्था
खै म के भनूँ