बाध्यता अनि विवशता सँगसँगै आइदिँदा
देश छोडि परदेशीको ट्याग लगाइदिँदा
मन त कहाँ थियो र
आफ्नो आमाबुबालाई छाडेर बाहिरिन
श्रीमती र छोराछोरी बिनाको हाँसो पहिरिन!
धन, नाम, इज्जत कमाउने हेतुले
जन्मथलो छाडि परदेशीनु परेको त्यो क्षणले
एउटै आशामा बसिरहेछु म
पलपल मरेर पनि बाचिरहेछु म
आफ्नै ठाउँ फर्कने दिन गनिरहेछु म।
घर भित्रको कुरा मैले पनि बुझेको छु
ऋणले घिन बनेको आफ्नै आँखाले देखेको छु
आजबाट भोलिमा भाका सार्दै
रातौरात बुबाको सिरानी भिजेको नि भेटेको छु
श्रीमतीलाई एक छाक टार्न धौधौ भाको नि भोगेको छु
आँसु बगाएर खुसीमा पनि रमाउन सिकेको छु
लाखौँमा आाफू बेचि हजारको जीवन जिएको छु
खोइ कहाँ साटिए खुसीहरू!
चालिस कटेसी ओठको मुस्कान फर्काउन आउनेछु
एक्लो छाडि आएको परिवार पूरा गर्नेछु।
रहरले नभई भोलिको सुनौलो बिहानको लागि
बुढेसकालमा आमाबाबुको खुसी फर्काउनको लागि
बालबच्चा अनि श्रीमती
सबै छाडेर पसिना बगाइरहेछु भोलिको लागि
बस्, चालिस कटेसी आफ्नै देशमा रमाउनको लागि।