असारे भाका तरङ्ग छर्दै गुन्जिन्छ सरर
सिम्सिमे झरी मुसुक्क हाँस्दै बर्सिन्छ झरर
झुसिला आली कुना र भित्ता चिल्लिए टिलिक्क
हिलाम्मे गह्रा हरिया गाभा पहिरी चिटिक्क
छुपुमा छुपु धान रोपेर गरियो रोपाईं
असारे चाढ हिले सुगन्ध यो हर्ष बढाई
मानो खाएर मुरी उब्जाऔं पाखुरी चलाई
हलो कोदालो पटा र दाँदे मच्चिए उच्छट्ट
काममा मस्त हली बाउसे हिलाम्मे बिछट्ट
धानको बिउ हिलोमा रोप्दै रमाए रोपार
रोपाईं जात्रा खुशीको यात्रा आनन्द अपार
बकुल्ला रुप्पी भुरुरु उड्छन् आकाश ढाकेर
किरा फट्याङ्रा हिलोमा नाचे खुशीले मातेर
हलको गोरु हिलोमा बस्छ फतक्कै थाकेर
दही चिउरा रोपाईं खाजा किशानी चलन
मोहीको पेय गुन्द्रुके चट्नी स्वादको मिलन
दर्कियो झरी दरर गर्दै गर्मिलो घाममा
ओडेर घुम हली रोपार फर्किए काममा
श्रमको बीज पसिना दाना खेतमा छरौंला
नौमती बाजा घन्काई बेठी रोपाइँ गरौंला
सुनको दाना टिपी बटुली भकारी भरौंला
भ्याई नभ्याई हदै चटारो यो कृषि कर्मको
आपसी प्रेम छिमेकी बिच अर्म र पर्मको
कुलो र पैनी खोला र नाला सबै नै मस्तीमा
रोपाईं लय रन्किन थाल्छ गाउँ र बस्तीमा
धानको बाला प्रेमको माला अतुल्य जुहार
दुखको बिच सबैको हुन्छ हँसिलो मुहार
संस्कृति हाम्रो विश्वमा राम्रो धानको तिहार
असार गयो मंसिर आयो लिएर उत्साह
सुनका बाला झुलेर नाचे आनन्द अथाह
धानका बिटा कुन्यु बनेर चुलिए शैल झैं
किशानी मन फुरुंग भयो अपार खुशी भै
पसिना छरी स्वर्ण फलाऔं स्वदेशी माटोमा
अनाज भरौं ढुकुटी भरी श्रमको साटोमा
हिडौं दौडिऔं लम्कौं अगाडि सुखको बाटोमा
मंसिरे पर्व दाईंको हर्ष सुनौलो धानको
धनको थुप्रो खलोको बिच देखिन्छ शानको
मियोका गोरू फनन घुमे पराल माडेर
‘दाईं बरदो’ गीत गुन्जियो गाउँ नै ढाकेर
खुशीका दाना पाथी र माना भरिए डालामा
भकारी भरी भरिन्थे धान बाजेको पालामा
सुन र चाँदी छुपेको हुन्छ धानको बालामा
कृषिप्रधान देश हो हाम्रो कृषि मै निर्भर
बन्जर जोतौं सिंचाई गरौं बनाऔं उर्वर
यो सर्वप्रिय अनाज मिठो श्रोत हो भातको
अन्नको राजा भोजन मिठो दिन र रातको
सुनको वस्त्र चाँदिको तन उत्कृष्ट फसल
बाल र बृद्द धनी गरिव भोजन असल
सवाई गाएँ यो धानगाथा खोली झैं सलल