अपोइन्टमेन्ट सकियो।
हतास, हतास कुहिएको फोक्सोमा दम दिँदै म रूमबाट बाहिर निस्किएँ। लिफ्ट चढ्ने सोचेर बटम दाबेको लिफ्ट त तलै रहेछ। आत्तिएको मन धेरै बेर कुर्ने कुरै भएन।
फेरि श्वासप्रश्वासको गति बढाउँदै पहिलो तल्लाबाट भर्याङ हुँदै पार्किङसम्म पुगेँ। मेरा हातहरु कापिरहेका छन्। मन पूर्णतः अशान्त, मस्तिष्क विचारहीन अनि खुट्टाको गति टाढा पुग्न लम्किएको यात्री झैँ।
कारमा पसेँ, कागजहरु पछिल्लो सिटमा मिल्काएँ। एक्सिलेटरमा अघिभन्दा तेज गतिले कुदिरह्यो मेरो खुट्टा। खासमा मलाई हतार भने छैन। मनलाई पक्कै थियो, तनलाई पनि। कहीँ पुग्नु, कोही भेट्नु भने छँ छैन। धेरै बेरपछि गियरमा रहेका हातहरु अनि एक्सिलेटर माथिको पैया पनि मत्थर बन्यो।
मैले कार साइडमा लगाएँ। कारको झ्याल खोलेँ, एकछिन भए पनि चिसो हावाले मन हिर्काइरहेको महसुस गर्न रुचाएँ। आँखा बाहिर डुलाएँ, पछाडि एउटा सानो चिया दोकान रहेछ। चिया र चुरोट मलाई मभन्दा प्यारो लाग्ने। कार लक गरेँ, म त्यही दोकानमा पुगेर अडिएँ।
चियाको अर्डर दिएर यसो त्यहीं रहेको टिभीमा बेखबर भएको देशको खबर सुनिरहेँ। चिया आइपुग्यो, पिउँदै गएँ। ठ्याक्कै विज्ञापन बज्यो टिभीमा, चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन हानिकारक छ भनेर। मैले अनि चुरोट मगाएँ।
आहा! क्या कम्बो हुन्छ, सब पिर व्यथा गुमनाम गराइदिने यो चिया र चुरोटको जोडी। साँच्चै चिया पुरुष हो कि चुरोट महिला, खैर जे होस् यिनको जोडी जम्छ। त्यसैमा म लगायत थुप्रै रम्छन्। मस्तिष्क यस्तै कुरोमा चलिरहेको थियो।
आकाश खै किन रुझ्न लाग्यो, सायद त्यसलाई पनि पीडा भएको हुँदो हो। सडक छेउको सानो दोकान, बस्ने ठाउँ नि सानो। म यहाँ बसेर भिज्नुभन्दा कारमै सेफ। बाहिर दर्किएको पानी र बतासको आवाजलाई मैले मार्समेलोको 'लिभिङ हाई' को आवाजले दबाइदिएँ।
फेरि एक्सिलेटरमा पाउहरु दबाइरहेँ, जाऊँ त जाऊँ कता म? कतै घुमौँ, रहर छैन। पौडी मारौँ, प्यास छैन। गरुँ त म गरुँ के? बाहिरको चिसिएको मौसमलाई कारको एसीले निस्तेज पारेर होला टाउको पुरै तातेको थियो। तातिएको टाउको, घरतिर मोडियो कारको चार पाङ्ग्रा।
म हतासमा कार पार्क गर्छु। अघिसम्म हल्का रोक्किएको तीव्र गतिको मुटुको चाल, श्वासप्रश्वास फेरि म्याराथनमा कुद्ने खेलाडीको भन्दा तेज हुन लाग्दै थिएँ। ढोकाको चाबी समातेका हात फेरि कापी नै रहेका थिएँ। जसोतसो रेस्ट गर्ने मनशायले म आफ्नो रूम तिर लागेँ।
एक्लो घर, एक्लो म। तर रूम एक्लो थिएन धन्न। उसको साथी अर्को रूमहरु थिए। अघि ल्याएको हातमा भएको कागतको झोलालाई ड्रयरमा थन्क्याउने निधो लिएँ। ड्रयर खोलेँ, ठ्याक्कै सेड्डी म तिर आएर झम्टिन पुग्यो। कागतको पोको त्यही झर्यो।
त्यसलाई ठिक लगाउन थोरै पेडिग्री राखिदिएँ। खुसी थियो, पुच्छरले मलाई सुम्सुम्याइरहेको। म त्यसलाई हेरेर एकछिन अक्क न बक्क भएँ। के होला अब यसको? अनि अघिको कागजहरु मिलाएर राख्न थालेँ, ड्रयरको कुनोमा एउटा झुत्रो इन्भेलप भेटियो। के रैछ हेर्दिन परो, खोल्दिएँ।
तस्बिर र केही थान चिठीहरु। चिठीमा मिति भने थिएन। कहिलेको हुन् यो चिठीहरु, मैले अझै राखेको रहेछु र? मनले मलाई सोध्यो। मिति किन लेख्नुपर्छ जब मस्तिष्कले केही बिर्सनै सकेको छैन भने! झोकमा चुरोट जलाएँ। तस्बिर गहिरिएर हेरेँ।
चुरोटका धुवाँहरुले रूम नै ढाकेको थियो। जसरी मेरो विगत दुःखहरुले ढाकेको थियो। त्यही धुवाँले केही नाम लेखे जस्तै लाग्यो- ग्रेसी!
अनि झ्यालबाट पसेको हावाले त्यो नाम मेटाउन खोज्थ्यो। म सम्झिरहेछु उनले मलाई गिज्याउन 'हावा' भन्ने गरेको। ठिक यो रूममा चुरोटको धुवाँले उनकै नाम लेखिएको छ। उनको नाम (तस्बिर) र उनले भन्ने गरेको हावा आज पनि एकै ठाँउ छन्। खुसी छु कल्पनामा भए पनि साथ छन्।
अब कसरी दोष दिन सकिन्छ र? म यसरी हावा हुनुमा उनकै हात छ। त्यो दिन सायद उनले मेरो साथ दिइएकी भए, आज मसँग गुमाउन सबैथोक हुने थियो। अझ विशेष उनको प्रेम हुन्थ्यो, प्रेमको संसार हुन्थ्यो जसलाई बँचाउन म बाँच्नै पर्ने हुन्थ्यो।
म चुरोटको नशामा डुब्ने थिइनँ होला। रिपोर्टमा आज क्यान्सरको अन्तिम अवस्था देखिने थिएन होला। सायद हाम्रो भेट नै हुन्थेन। सायद यी पत्रहरु मैले लेख्ने जमर्को गर्दिन्थें त आज म यति बिन्दास कसरी हुन्थेँ?
सल्किएको चुरोट हातमा लिएर सल्किन केही दिन बाँकी रहेको जीवन, त्यही चिठीहरु पढेर मस्त थियो।