तिमी त्यता नौडाँडाको गाउँमा
सुनसान वनको बुट्यानभित्र पसेर
च्वाँस्स घोच्ने काँडा पन्छाउन खोज्दै
तर घोचिएर घाइते भएका हातहरुले
घाँसको भारी बनाउँदै हौली नि प्रिया!
म भने यता मरुभूमिको माझमा
बालुवाले लतारिएका गोडा घिसार्दै
भतभती पोल्ने घामले रन्किएर
असीनपसीन फतक्क गल्दै
दूर गन्तव्यको यात्रा हिँड्दैछु प्रिया!
टाढा जान मन थिएन मेरो
एक्लै बस्ने मन थिएन तिम्रो
एउटै घरमा बास बस्यौं
उल्लासभरि नगरा बजायौँ
रम्दै रमाउँदै नाच नाच्यौँ
सुख दु:खका गीत गायौँ
आज यो वियोग किन भो प्रिया?
हामीलाई बलात् छुट्याउने तत्व
मेरो देशको प्रकृति होइन प्रिया
निर्मम लौरोले लखेट्दै
अलग्याएर टाढा पार्ने तत्व
दूर देशको प्रकृति पनि होइन प्रिया!
सुन्दर प्रकृति उदास रोइरहेछ
मेरो देश कुसंस्कृत भएको छ
क्रुर मान्छेको रडाकोबीच
अन्जान मान्छे अलमल्ल छ
किन पो यस्तो भयो प्रिया?
एउटा भित्रबाट कुर्लिन्छ
यो मेरो एकलौटी घर हो
अर्को बाहिर चिच्याउँछ
त्यो मेरो पनि घर हो
घरमाथिको झगडाले
घरै च्यात्तियो प्रिया!
बस्ने घरै नहुनुको पीडाले
मलाई सात समुद्रपारि पठायो
तिमीलाई नौडाँडामै थच्च्यायो
भित्र भित्रै मन कुँडियो
आँखाबाट अश्रु धारा चुहियो
कहिले भेट होला नि प्रिया!