जस्तो कि-
नदीले आफ्नो बाटो आफैँ बनाउँछ,
र तय गर्छ सागरको गन्तव्य
तिमी पनि जिन्दगीमा नदीजस्तै बन्नू।
जस्तो कि-
विशाल सागरमा अटाउँछन्
साना-ठूला सबै जीवहरु
तिमीले पनि आफ्नो मन सागरजस्तै बनाउनू।
जस्तो कि-
जून सधैँ आफ्नै गतिमा दौडिन्छ,
र नापिरहन्छ धरतीको परिधि
तिमीपनि जिन्दगीमा जूनजस्तै बन्नू।
जस्तो कि-
घाम सबैको समदूरीमा बस्छ,
र बाँड्छ सबैलाइ एकैनासको प्रकाश
तिमी पनि जिन्दगीमा घामजस्तै बन्नू।
जसरी-
रात सुनिश्चित गरेरै जन्मिन्छ दिन,
ओइलिएर झर्ने ग्यारेन्टीका साथ फक्रिन्छ फूल
अनि वर्षा बनेर झर्नकै लागि
आकाशमा उक्लन्छन् पानीका बाफहरु।
यहाँबाट बुझ्नू-
समयको नदीमा
सम्बन्धको डुंगा चलाएर किनार भेटेपछि
नयाँ गन्तव्यको खोजी गर्नु भनेकै जिन्दगी रहेछ।
जसरी झर्छन् ताराहरु
र जन्माउछन् एउटा सुनौलो बिहानी।
जसरी बगेर जान्छन् नदीहरु
र गुन्गुनाउँछन् एक अनुपम झंकार।
जसरी ओइलाउँछन् फूलहरु
र सुरुआत हुन्छ अर्को नयाँ पुस्ताको युग।
अनि जसरी छुट्टिन्छन् रुखबाट पात
र पलाउँछन् नयाँ पालुवाहरु।
यहाँबाट बुझ्नू-
छुट्टिनु, झर्नू, बग्नू र ओइलाउनू भनेको मर्नु रहेनछ।
छुट्टिनु पर्छ
किनारमा पुगेपछि माझी र यात्रुहरु,
छुट्टिन्छन् र समाउछन् आ-आफ्नो गन्तव्य।
कहिल्यै गर्दैनन् माझीहरुले यात्रुहरुसँग गुनासो
कहिल्यै चिताउँदैनन् माझीहरुले यात्रुहरुको कुभलो
बरु गरिरहन्छन् खोलासँग अटुट प्रेम
बरु बाँडिरहन्छन् यात्रुहरुसँग नयाँ अनुभव।
बादलमा
पानीको थोपा त्यतिन्जेल मात्र धानिन्छ
जतिबेलासम्म पानीको थोपाको घनत्व
वर्षाको लागि चाहिने जति हुँदैन।
तिमी पनि त
त्यही पानीको थोपाजस्तै हौ।
अब तिम्रो घनत्व बादलसँगै रहनुपर्ने छैन
अब तिम्रो घनत्व हावासँगै बहनुपर्ने छैन।
जसरी भेटिन्छ्न्
दिनको दुई पटक घडीका सुइँहरु
र आपसमा साट्छन् आफ्ना अव्यक्त स्नेह
त्यसरी नै जिन्दगीको घडीमा घुम्दै गर्दा
कहीँ कतै अवश्य भेटिनेछौँ हामी
र साट्नेछौँ एक्लै एक्लै हुँदाका दुःख सुख।
यहाँभन्दा अरु त अब छुट्नेबेलामा के भनुँ?