ठ्याक्कै आजकै दिन आठ वर्ष अगाडि एसएलसीको रिजल्ट आएको दिन थियो। घरमा म पास भएको खुसीयाली मच्चिएको थियो। गरिबी छिरेको घरमा केही नौलो कामकुरा भएका बेला मात्र खुसी छाउने गर्छ। हाम्रो घरमा पनि म पास भएर खुसी छिर्यो।
असारको मौसम आकाश जमिन रसाइरहने मौसम भएकाले ४-५ दिनदेखि लगातार पानी पर्ने क्रम जारी थियो। घरको छानोमा पानीका ठूला-ठूला थोपाहरु ब्रजिरहेका थिए।
कतै कतै घरको छानो चुहिएको थियो। बाले पानी चुहिएका ठाउँमा बटुका थाप्नु भएको थियो, भुइँ सतह नओसियोस र चिसो नहोस भन्नका लागि।
घर पछिल्तिर रहेको गोठमा बाछिटाले हानेकाले बाख्राका पाठाहरु म्या..म्या.. गर्दै कराइरहेका थिए।
बालाई फेरि एउटा टेन्सन थपियो। पास भएको छोरोलाई अब कता पढ्न पठाउने भनेर। बालाई भन्दा बढी मलाई टेन्सन भएको थियो। किनभने, म कता पढ्न जाने भन्ने ठेगान थिएन। कोही यहीँ पढ्ने भन्थे त कोही काठमाडौँ जाने भन्थे। काठमाडौँ किन जाने भन्दा पढाइ राम्रो हुन्छ भनेर भन्थे।
पर्सिपल्ट हाम्रो घरमा धान रोप्ने पालो थियो। धान रोपाई सकियो। खेतको गह्रामा भएका धानका कलिला ब्याडको ठेगान लाग्यो तर म पढ्न कहाँ जाने भन्ने ठेगान लागेन। गरिबीले चिथोरे पनि बा मलाई राम्रो ठाउँमा पढ्न पठाउने सोच्दै हुनुहुन्थ्यो।
अन्ततोगत्वा म काठमाडौं जाने भएँ। गाउँका मैले र बाले चिनेका दाइहरु पढ्न भनि काठमाडौं गएका थिए। उनीहरु गएकाले मलाई काठमाडौं पठाउन सजिलो भयो। म जाने अनि लिएर गएको सामाना गाउँले दाइहरुकोमा राखेर कोठा खोज्नु थियो। कलेजमा भर्ना हुनु थियो। बाआमाको सपना पूरा गर्न दिनरात लागि पर्नु थियो।
बाआमाको सल्लाह बमोजिम साँझपखको नाइट बसको सहायताले हानिएँ काठमाडौँ। मेरा सपनाको सहर, आमा बाको सपनाको सहर काठमाडौं। के काठमाडौँ जाँदा बित्तिकै देखेका सपनाहरु विपनामा परिणत हुन्छ्न् त? बेलाबेला प्रश्नले घोचिरहन्थ्यो। प्रश्नले निमोठिरहन्थ्यो।
काठमाडौँ आउनुभन्दा अगाडि सोचेथेँ- सफा होला, मनकारी मान्छेहरु होलान्, पढाइमा धेरै प्रगति गरौँला, दुई/चार जना मान्छेहरु चिनौँला यस्तै यस्तै।
काठमाडौँ गएर बस्न थालेपछि सोचे जस्तो केही भएन। सधियौँ जसो मन गह्रौ भैरह्यो। आफूलाई सदैव एक्लो पाइरहेँ। काठमाडौँ गएको एक हप्तापछि गाउँकै एकजना दाइको सहायताले कोठा खोजेँ र कलेज पनि भर्ना भएँ।
कलेज भर्ना हुनका लागि बाले पैसा पठाउँदा भन्नु भएको थियो, 'बाबु, मैले गल्ला साहुबाट पछि गल्ला दिएर कटाउने सर्तमा ऋण ल्याएर तलाई पठाएको छु, सक्दो राम्रो काममा सदुपयोग गर्नु है, फुर्मासी धेरै नगर्नू।'
बाले भनेका यी यावत कुराहरुले मन भाउन्न भएर आयो। मनमा हठात् एउटा कुरा आयो, 'काम खोज्छु र काम गर्छु। बिहानको कलेज अनि दिउँसो खाली बस्नु पर्ने भएको हुदाँ यो सयमलाई सदुपयोग गर्न काम खोज्छु। काम गर्छु, पैसा कमाउछु अनि बालाई ऋण खोजेर पैसा नपठाउनु भन्छु।'
केही आश पलायो। तर काम कहाँ पाउने? म कामको खोजीमा थिएँ। रोडको साइडसाइडमा भएका विद्युतका पोलपोलमा बेलाबखत देखिन्थे शिक्षण संस्थाहरुको विद्यार्थी भर्ना सम्बन्धी विज्ञापनहरु। पत्रहरु टाँसिएका हुन्थे।
काठमाडौँको मौसम मस्त भए पनि सडकमा उड्ने धुलो र धुवाँले झन कुरुप भएको थियो। एकदिन कलेजबाट आउँदै गर्दा बाटोमा लटपटिएको पहेँलो रङको कागज देखेँ। आफू निहुँरिएर त्यो कागज टिपेँ। कागजमा लागेको धुलो टकटक्याएँ।
गुटमुटिएको कागजलाई सिधा पारेँ। धुलोले गर्दा अक्षरहरु हराउने तरखरमा थिए। अक्षर धिमिलिन थालेका थिए। अक्षरहरु मेटिने तयारीमा थिए। पढ्न थालेँ। कागजको माथिल्लो भागमा लेखिएको थियो,'जागिरको सुवर्ण अवसर!'
मैले तल्तिरका धुमिल अक्षरहरु पढ्दै गएँ, 'सिनामंगलस्थित महर्जन डिपार्टमेन्ट स्टोरमा बसेर काम गर्न खोज्ने इच्छुकले खबर गर्नु होला।' त्यसको तल सम्पर्क नम्बर दिइएको थियो।
हँस्याङ्फस्याङ हुँदै कोठामा पुगेँ। झोलाले गर्दा गह्रौ भएको ढाडलाई आराम दिएपश्चात झट्टपट्ट त्यो कागजमा लेखिएको नम्बरमा फोन लगाएँ।
औपचारिक कुरा भैसकेपछि फोनमा बोलिरहेका मान्छेले भने, 'ल भोलि यतै आउनु, ठेगाना कहाँ हो भन्ने थाहा पाउनु भएकै होला। सिनामंगल चोकमा पुगेपछि फोन गर्नु होला।'
उनले फोन राखे।
मैले उताको फोन राखेर झट्टै घरमा फोन लगाएँ। आमाले फोन उठाउनु भयो। आमा म काम खोज्दै छु है। 'आज एउटा ठाउँ कुरा गरेको भोलि बोलाको छ,' मैले भनेँ।
आमा अकमक्काउनु भयो।
'काम?'
'अँ आमा, काम!'
'सक्छस् र?'
'खै!' म ट्वा परेँ।
'जिम्मेवारी, समय र गरिबी अवस्थाले गिजोले पछि सकिन्छ होला नि आमा!'
'खै घरमा एक सिन्को नभाच्नेले त्यहाँ अर्काकोमा के काम गर्लास् र! म त पत्याउदिनँ हौ।'
'तपाईं पत्याए पत्ताउनु, नपत्याए नपत्ताउनु।'
'ल हुन्छ' फोन राखेँ।
म कामको कुरा गर्नलाई भोलिपल्ट त्यो पहेँलो कागजमा लेखिएको ठेगाना पछ्याउदै पछ्याउँदै जानु थियो। मन चङ्गा भएको थियो।
म कलेजबाटै कलेज ड्रेसमा सिनामंगल तिर निस्किएँ। चोकमा पुगेपछि फोन गरेँ। कोही मान्छे लिन आयो। सायद साहुको मान्छे थियो। उसको पछि पछि लागेर उसले हिँडाएको गल्लीमा उसका पदचाप पछ्याउँदै हिँडेँ।
उसले एउटा डिपार्टमेन्ट स्टोरमा पुर्यायो। ढोका बाहिर उभिएँ। उसले मलाई भित्र जान सुझाव दियो। म भित्र छिर्न खोजेँ। भित्र छिर्ने कोठाको ढोकामा लेखिएको थियो- 'जुत्ता-चप्पल बाहिर।'
लेखेअनुसार मैले जुत्ता बाहिर फुकालेँ।
म ढोका खोलेर भित्र पसेँ। रिङ्ने कुर्सिमा ठूलो भुडी भएको, अलि पाको उमेरको मान्छे बसेको थियो। उसको नजिक गएँ।
'फोन गर्ने तिमी हो?' उसले मलाई पहिला नै चिने जसरी म भए तिर नहेरेरै सोध्यो।
'हजुर सर, म हुँ।'
उसको अगाडि म सानो, कम उमेरको, दुब्लो पातलो, मरनच्यासे थिएँ। उस्ले मलाई अनेकन प्रश्नहरु तेर्सायो। घर कता? यहाँ कहाँ बसेर पढिरहेका छौ? अनि कलेज ड्रेसमै आएका छौ, कतिमा पढ्छौ? नाम के हो? जात के हो? यस्तै यस्तै प्रश्नहरु गर्यो।
मैले नम्र भएर जवाफ दिएँ। एक कप चिया खुवायो। अनि फर्कने बेलामा भन्यो, 'म साँझ फोन गर्छु है।'
कोठामा फर्किएँ। कसबेला उसको फोन आउँछ र ऊसँग कुरा गरौँला भन्ने हेतुले मोबाइल हातमै खेलाइरहेँ।
राति ८ बज्दासम्म पनि फोन आएन। म निरासिएँ। भोलिपल्ट पनि फोन आएन। आत्तिएर मैले नै फेरि फोन गरेँ।
'तिमी सानो छौ, तिमी काम गर्न सक्दैनौ। तिमी जस्तो सानो अनि सोझो मान्छे चाहिएको हैन मलाई।' उस्ले हकारे झैँ गर्यो फोनमा।
मेरो अनुहार अन्धकारमय भयो। 'सानो भएर काम खोज्ने? खुरुक्कन पढ्न छोडेर' आफैलाई धिक्कारेँ।
उसले काममा नराख्ने भएपछि घरमा कसैलाई नि कामका बारेमा केही कुरा गरिनँ।
बल्ल तल्ल प्लस टु पास गरेँ। बल्ल सुब्बा हुने योग्यता पुग्यो।
प्लस टुको नतिजा प्रकाशन भएका दिन बालाई फोन गरेँ र भनेँ, 'बा मैले १२ पास गरेँ, सुब्बामा जागिर खाने योग्यता भयो।'
'नापिस् तैले, पहिला पढ्न,' बाले फोन राख्नु भयो।
१२ को डकुमेन्टहरु आइसकेपछि फेरि बालाई फोन गरेँ। बा अब म अधिकृत हुने योग्यता पुर्याउनका लागि भर्ना हुँदैछु।
बाले पैसा पठाइदिनु भयो। कलेजमा भर्ना भएँ।
पढाइ चलिरहेकै थियो। दिनचर्या कलेज आउने जाने चल्दै थियो। साथीले एकदिन बोर्डिङ स्कुलमा पढाउन शिक्षक खोजेको छ भन्ने सूचना दियो।
त्यही साथीले साँझपख फेसबुकमा स्कुलको आधिकारिक सूचना पठाइदियो। त्यसमा लेखिएको थियो- अङ्ग्रेजी राम्रो हुनु पर्नेछ।
अरु योग्यता केके हुनु पर्नेछ त्यो केही हेरिनँ। अङ्ग्रेजी राम्रो हुनु पर्नेछ भन्ने पढ्दा बित्तिकै म झस्किएँ। किनभने मेरो अङ्ग्रेजी एकदम कमजोर थियो। बासको लुलो लौरो जस्तो लुलो थियो। म अत्तालिएँ।
आफूले आफूलाई धिक्कारेँ। अङ्ग्रेजी नआउने पनि काठमाडौँ पढ्न आउनु पर्ने, त्यही नि बोर्डिङ स्कुलमा पढाउन खोज्नु पर्ने।
आफ्नो अन्योलको भविष्य देख्दा अन्योलमा थिएँ। एकदिन बालाई फोन गरेँ।
बाले सोध्नु भयो, 'सुब्बा हुने योग्यता मात्र पुग्यो कि? सुब्बा हुने ध्याउन्न पनि गर्दै छस्? सुब्बाको तयारी गर! मेरो सपना भनेको छोरो जागिरे होस् भन्ने छ है।'
बाले सम्झाइदिनु भयो। अब ममा सुब्बाको भूत सवार भयो। त्यो भूत बाले जगाइदिएको भूत थियो।
एक दिन बागबजार गएँ। बागबजार घरका भित्ताभित्तामा, पोलपोलमा सुब्बाका तयारी कक्षा भन्दै विज्ञापनका खातिर ठूलाठूला बडेमानका पोस्टरहरु टाँसिएका थिए। जुन पोस्टरले सुब्बा हुने जागिर खाने आश देखाइरहेका थिए।
त्यस्तै लोकसेवा कक्षा सञ्चालन गर्ने मेगा नाम गरेको इन्स्टिच्युटमा भित्र छिरेँ। कोर्स कम्प्लिटको बीस हजार, म अत्तालिएँ। त्यत्रो पैसा कहाँबाट ल्याउनु?
बालाई फोन गरेर भनेँ, 'बा, सुब्बाको तयारी कक्षा लिएको २० हजार!'
बाले अनकनाउँदै भन्नु भयो, 'नाम निकाल्न सक्लास् र? पैसा डुब्ने त हैन?'
'खै बा, आफूले गर्ने काम त गर्न पर्यो त! नगरी सक्दिनँ होला भनेर बस्न त भएन,' मैले भनेँ।
'ल भोलि तिर कतै खोजेर पठाइदिन्छु है त।'
फोन राखेँ।
एकरात सपना देखेँ, 'सेतो सर्ट, निलो पाइन्ट लगाएर कुनै कार्यालयमा व्यस्त छु। सेवाग्राहीको बीचमा अलमलिएको छु। म बस्ने कोठामा एसी लागेको छ। मलाई गर्मीमा गर्मीको महसुस हुँदैन। जाडोमा जाडोको महसुस हुँदैन। आल्मुनियमले म बस्ने कक्षलाई व्यवस्थित पारेको छ। मलाई अफिस मै क्वाटर दिइएको छ।
मलाई बाहिर कतै निस्कन पर्दैन। खाना पकाउन, भाडा धुन भनेर कार्यालय सहयोगी दिएको छ। कार्यालयले हाकिमलाई दिनु पर्ने सेवा सुबिधामा केही कसर बाँकी राखेको छैन। बेलाबेलामा भ्रमण काज दिएको छ। महिना नबित्दै खातामा तलब आएको छ।'
सपना यस्तै थियो। माथि उल्लेख गरिएको सपना साकार पार्न सुब्बाको तयारी गर्न थालेँ। कक्षा संचालन हुँदा एकदिन पनि कक्षा छोडिनँ। बरु स्नातक पढ्न कलेज जान छाडिदिएँ। ध्यान जति सबै सुब्बाको तयारीमा लगाएँ।
लोकसेवा खुल्यो। जम्मा जम्मी नेपाल भरिबाट १५ वटा कोटा मात्र। मैले दिन पाउने भनेको खुलामा मात्र थियो। न म दलित थिएँ, न जनजाती, न मधेसी, न पिछडिएको वर्गबाट आएको।
त्यसैले खुलामै फर्म भरे। बागलुङबाट परीक्षा दिएँ। तयारी खासै राम्रो थिएन। परीक्षा दिएको पहिलो पटक थियो, नाम निस्केन। अर्को पटक फेरि काठमाडौँबाट दिएँ। तब पनि नाम निस्केन। अर्को पटक भने दाङबाट दिएँ। नतिजा आयो। पहिलो पत्रमा नाम निस्कियो। बालाई खबर गरेँ। सुब्बाको पहिलो पत्रमा नाम निस्कियो। बाले स्याबासी दिनुभयो।
मलाई अब आउने परीक्षाको तयारी गर्नु थियो। हातले लामालामा उत्तर लेख्नु पर्ने वाला थियो। आफ्ना विचारहरु कापीमा उतार्नु पर्ने थियो। मेरा अक्षर गतिला थिएनन्। केही समयपछि परीक्षा दिएँ। २-३ महिनापछि रिजल्ट आयो।
म पास हुन सकिनँ। ममाथि उक्लिन सकिनँ। बालाई फोन गरेँ, 'बा भएन नाम निस्किएन।'
'अब अर्को पटक राम्रो तयारी गर्,' बाले ढाडस दिनु भयो।
मैले फेरि तयारी गरे परीक्षा दिएँ, नाम फेरि पनि निस्किएन। मैले नाम नै निकाल्न सकिनँ।
यता स्नातक भने घरमै बसिबसी पास गरेँ। स्नातक पास गरेको दिन बालाई फोन गरेँ, 'बा! अब म अधिकृत हुने योग्यतामा पुगेँ।'
'सुब्बा हुने योग्यतामा पुगेको ५ वर्ष भयो। केही नापिस्?' बाको बोली ठाडो थियो। म बोल्नै सकिनँ। फोन राखिदिएँ।
बाका अगाडि जसरी नि नाम निकाल्छु भनेर लागि परेँ। अरुलाई देखाउनुभन्दा पनि आफ्नो नाम सुब्बामा निकालेर बालाई देखाउनु थियो। सुब्बाको जरो नापेर देखाउनु थियो। सुब्बाको जागिरलाई आफ्नो मुठ्ठीमा राखेर बाको मुठ्ठीमा राखिदिनु थियो। मेरो, बाको अनि बाजेको नाम गोरखापत्रमा लेखाउनु थियो। त्यो पत्रिकामा भएको नाम बालाई देखाउनु थियो। मुख्य कुरा त सुब्बामा नाम निकालेर जागिर खानु थियो।
बालाई नै देखाउन नाम निकाल्छु भनेर फेरि सुब्बाको फर्म पोखराबाट भरेँ। योपालि भने म पोखराबाट परीक्षा दिने भएँ। परीक्षा दिएँ। योपालि झन् पहिलो पत्रमै नाम निस्किएन। म झन् निरासिएँ। २-४ दिन डिप्रेसनमा परे जस्तो भयो। म अत्तालिएँ। आमा-बालाई पनि फोन गर्न छाडेँ। कहिलेकाहीँ उतैबाट फोन आउँथ्यो।
मलाई यस्तो भैसकेको थियो कि म न राति सुत्न सक्थेँ न दिउँसो काम गर्न सक्थेँ। मेरो पढाइ विस्तारै खस्किँदै गयो। पहिलेभन्दा कम पढ्न थालेँ। अझ भनौँ पढ्नै छाडेँ।
पढ्न छाडेको म सुत्ने काम बढी गर्न थालेँ। खाना पकाउन अल्छी लाग्न थाल्यो। म केही गर्न सक्छु जस्तो लाग्न छाड्यो। अब त म जिन्दगीमा प्रगती गर्छु जस्तो लाग्नै छाड्यो।
विस्तारै मेरो दिमागबाट सवार भएको सरकारी जागिरको सवार भएको भूत बाहिर निस्किँदै गयो। धेरै भएको थियो घरमा आमा-बासँग कुराकानी नभएको। फोन गरेँ, बाले नै फोन उठाउनु भयो।
'बा, अब म विदेश जान्छु,' मैले एकै स्वरमा भनेँ।
'किन काठमाडौँ बसेर प्रगति गर्न नसक्ने भइस् र? अहिले विदेश जान्छु पो भन्छ त?'
'हो बा, म विदेश जान्छु के।'
'अनि तैले यतिन्जेलसम्म त्यहाँ सुब्बा र अधिकृत हुने योग्यतासम्म पुर्याएको पढाइ कता गयो त!'
म निशब्द भएँ। केही बोल्नै आएन।
'पढेर केही गर्छु भन्थिस्। पढेर सकिस् र? कि पढ्न अझै बाँकी छ? अनि खै त केही गर्या?'
बाका यति कुरा सुनिसकेपछि म चुप भएँ। म केही बोल्नै सकिनँ। मेरा ओठबाट केही शब्द नै फुस्किएन।
अन्तमा बाले भन्नु भयो- 'विदेश जाने भए घर आइज। अनि सल्लाह गरौँला।'
त्यसपछि मेरो मन शान्त भयो। म घर जाने तयारीमा लागेँ। सामान केही लग्नु थिएन। यदि विदेश जाने नै भएपछि आएर कोठा खाली गर्ने सोच बनाएर घर तिर लागेँ।
घर पुग्दा आमा-बा कोही हुनु हुन्थेन। साँझ तिर कामबाट आमापछि बा फर्किनु भयो। आमा दुब्लाउनु भएको थियो। आमाका ओठको सूर्यमुखी हराएछ। त्यो अधरको खुसी हराएछ। आमाको कपाल सेतै भएर फुलेछन्। आँखामा कालो कालो धब्बा बस्न सुरु गरेछन्। पुक्क गाला चाम्रिएछन्।
बा पनि झन् बुढो हुनु भएछ। पहिला अजङ्गको भारी उठाउन हिम्मत गर्न सक्ने बाको शरीर केही काम गर्दा दुख्ने भएछ। पावरवाला चस्मा लगाउन थाल्नु भएछ। कन्चट निरको हड्डी देखिन थालेछ।
बा-आमाको अवस्था देखेर गम्भीर भएको थिएँ। के यस्ता बुढा बा-आमालाई घरमै छाडेर जाने त विदेश? मनमा यस्तो तर्क उत्पन्न भयो।
खाना खायौँ। सबै चुपचाप बसेका बेला आमाले मप्रति चिन्ता देखाउँदै सोध्नु भयो,
'तँ त दुब्लाइछस त बाबु। खाना खाँदैन थिइस् क्या?'
म केही बोलिनँ।
भोलिपल्ट बिहान म घरमै बसेँ। आमाबा काम छ भन्दै खै कता निस्कनु भयो कता। आमा १२ बजे तिर आइसकेपछि खाना पकाउने जोरजाम गर्न थाल्नु भयो। म कोठामै बसिरहेँ। मेरो काम खासै थिएन। मोबाइल चलायो बस्यो।
साँझमा गाउँको मौसम खुलेको थियो। सूर्य टहलिएको थियो। रातो भएको सूर्य पश्चिमतर्फ भएका रुखका टुप्पाटुप्पामा पुगेको थियो। सूर्यको रातोपनले गर्दा घर पछाडि भएको जंगलमा आगो लागे झैँ प्रतित हुन्थ्यो।
मौसम सफा अनि आनन्दमय थियो। केटाकेटी खेतखेतमा फुटबल खेल्दै थिए। फुटबल खेलिरहेका केटाकेटीहरुलाई घरबाटै हेर्दै थिएँ। मन उतै तिर थियो।
बा घर पछिल्तिर रहेको गोठको खाटमा पलैटी कसि बसेर पात्रोमा आँखा झुझाउँदै हुनु हुन्थ्यो। बा पात्रोलाई घरी आँखाको नजिक ल्याउनु हुन्थ्यो त घरी टाढा लैजानु हुन्थ्यो, घरि चस्मा लगाउनु हुन्थ्यो, घरी चस्मा खोल्नु हुन्थ्यो।
चस्मा खोल्दा रुमालको सफा भागले चस्माको फ्रेम पुछ्ने गर्नु हुन्थ्यो। बा दिनप्रतिदिन बुढो हुँदै हुनु हुन्थ्यो। बलाई देख्दा प्रस्टै देखिन्थ्यो बा बुढो हुँदै गएको।
म भने दिनप्रतिदिन तरुण हुँदै थिए। बा दुब्लो भएकै कारण हातका नाडी र अनुहारका रक्त नसाहरुमा रगत सल्बलाएको दुरुस्तै देखिएका थिए। जसले गरिबी भन्ने प्रस्टाएको थियो।
बा र आमाका ती कलौटी परेका अधरहरु खुसीले गर्दा कमै मात्रामा खुल्ने गरेका थिए। बालाई मैले अहिलेसम्म खुसी भएर अधर खुलेको कमै मात्रामा देखेको थिएँ।
आज बाले मलाई कहीँकतै नजा भन्नु भएको थियो। त्यसैले घर रुगेर बसेको थिएँ। बाकै वरिपरी थिएँ। बाकै नजिक थिएँ। बादेखि टाढा गए पनि बाले बोलाउँदा सुनिने ठाउँसम्म मात्र पुगेको हुन्थेँ।
बाले मलाई किन घर रुगेर बस्, कतै नजा भन्नु भयो? सायद विदेश जाने कि के गर्ने कुरा पो गर्ने सोच्दै हुनु हुन्थ्यो कि।
यसो सोच्ने थालेँ। सोच्ने प्रकृया धेरै बेर टिक्न सकेन। बाले बोलाउनु भयो। म सोचबाट हुत्त बाहिर हुत्तिएर बा भए तिर कुदेँ।
'ल यो राख्,' बाले पात्रो मेरो हातमा थमाउँदै भन्नु भयो।
म पात्रो राखेर बा भए तिर फर्किएँ।
'त्यो सानो कोदालो ल्या त' कुनामा भएको कोदालो देखाउँदै बाले फेरि अह्राउनु भयो। मैले कोदालो ल्याएर बाको समीपमै राखिदिएँ।
बा उठ्नु भयो। कुनाबाट च्यात्तिएको सलुका शरीरमा टाग्नु भयो। अनि भन्नु भयो, 'ल हिँड्!'
बा अघि लाग्नु भयो। म बाको पछि पछि, बाको पदचाप पछ्याउँदै हिँडेँ। घर पछाडि रहेको खेतमा बा रोकिनु भयो। बासँगै म रोकिएँ। बाका पदचाप रोकिए, सँगै मेरा पदचाप पनि रोकिए।
बा खेतको बीचमा उभिएर वरिपरि हेर्दै घोरिनु भयो। एकछिनपछि ट्याक्टरले खेत जोत्दा जोत्न नभ्याएका कुनाकाप्ची कोदालोले फ्याकफ्याक्ती खन्न थाल्नु भयो।
म भने बालाई हेरेर बसिरहेँ। बा आफ्नै काममा तल्लीन भइरहनु भयो। मलाई के गरौँ कसो गरौँ भयो। मोबाइल निकालौँ भने बाले गाली गर्नु होला भन्ने डरले छोप्यो।
त्यही पनि आँटैले मोबाइल निकालेँ। बाले पुलुक्क हेर्नु भयो। अघिको आँट खल्याकखुलुक निस्कियो। पुन: मोबाइल गोजीमै हुलिदिएँ।
'खै यता ल्याउनु, म खन्छु,' बाको नजिकै गएर बोलेँ।
'नापिस् तैले, अरु के जान्या छस् र मोबाइल चलाउन बाहेक! मोबाइल चलायो बस्यो। न घरको टेन्सन छ न अरु केही' बा झिक्किनु भयो। बाका अघिल्तिर म निरीह बनेँ।
'जे गर्दा नि के नाप्छस् र तैले भन्नु हुन्छ, तपाईंले कहिले यो काम गर्, यसो गर्, उसो गर् भन्नु भा छ र? काम अह्राएपछि त गरिहालिन्छ,' मैले आफूलाई ढाकछोप गर्न खोजेँ।
'तँ सानो छस र? यसो गर्, उसो गर् भनेर सिकाउनलाई? स्यानी भ्यान्ट्नुलाई त सिकाउनु पर्दैन। आमाले काम गरेको देख्दा सघाउन आउँछे त।' बा एकोहोरो फतफताइरहनु भयो।
म खेतको आलिमा बसिमात्र रहेको देखिरहेकी आमाले कोदालो ल्याइदिनु भयो।
'ल खन्,' कोदालो म भएर तिर हुत्त्याइदिनु भयो। अनि घर तिरै फर्किनु भयो।
मैले कोदालोको बिड समातेर अर्को कुना तिर खन्न थालेँ। विस्तारै खन्दैखन्दै थिएँ, झ्याप्प कोदालो खेतको आली/मेडमा बजारियो। बाका आँखा खेतको आलीमा गाडिएको कोदालो तिर सोझिए।
'हो, यस्तै यस्तै भएर तलाई केही काम लगाउन मन लाग्दैन। जे काम पनि अगतिलो तवरबाट गर्ने गर्छस्। ध्यान यता भए हुन्छ, ध्यान गाउँका चोकचोकमा होला, मन यही भए पनि ध्यान मोबाइलमै होला!' बा झन कड्किनु भयो।
'यस्तै मान्छे अर्काको देशमा गएर काम गर्न सक्छन्? अझ विदेश जान्छु भन्छ। तँ कही पनि केही काम गर्न सक्दैनस्! तेरो अझै पनि त्यस्तै ताल छ, पहिला जस्तो थियो त्यस्तै। त जिम्मेवार हुने भइनस्! ल आजै भन्दिएँ, विदेश गएर कामै गर्न सक्दैनस् तैले। आजदेखि मेरा अगाडि विदेश जाने कुरा नगर्नू।'
म मौन रहेँ। बोल्ने आँट आएन। के बाले मेरो परीक्षा लिरहनु भएको थियो? आज दिनभरि विदेश जाने कि नजाने भनेर मौन परीक्षा त लिइरहनु भएको थिएन? मनमा यो प्रश्न उब्जियो।
बा फेरि सुरु हुनु भयो। गुनगुन आवाज निकाल्दै, 'खेतको आली/मेड त्यसरी ताछ्ने?'
गुनगुन भएको बाको त्यो आवाज ठूलो बन्यो। मेरो आवाज भने भित्रबाट बाहिर निस्कनै सकेन।
'यस्तै यस्तैबाट समाजमा झगडाको बीउ उब्जने हो। आली यसरी ताछेर के पाइस्? अब यो ताछेको आलीमा एक मुरी अन्न फल्छ?'
बा झन् नारिनु भयो। माटोको डल्लो टिपेर हानुला झैँ पो गर्नु भयो।
बाको आवाज सुनेर आमा खेतमा आइपुग्नु भयो। आमा चु केही बोल्नु भएन। बरु मैले ताछेको आलीमा माटो हाल्दिएर फर्कनु भयो।
म खेतको आलीमा झोक्रीएर बसिरहेँ।
'यता आ' कोदालो बिसाउँदै बाले खेतको आलीमा बसेर अर्को आलीमा बसिरहेको मलाई बोलाउनु भयो।
म बा भए तिर गएँ।
'ल यता बस्,' बाले दाहिनेतर्फ देखाउनु भयो।
बाले भनेकै ठाउँमा गएर बसेँ।
तँ रिसाइस्?
मैले टाउको निहुर्याइरहेँ।
'हेर्' बाले पश्चिम तिरको जङ्गल तिर औंल्याउनु भयो। मैले त्यतै हेरेँ।
'ऊ त्यो पर रुखका माथि माथि भएको सूर्य देखिसु?'
बाले के भन्न खोज्दै हुनु हुन्थ्यो। मैले अड्कल काट्न सकिरहेको थिइनँ। बाले पुरै कुरा पनि त खोल्नु भएको थिएन।
'त्यो साँझमा अस्ताउँदो सूर्य छ नि त्यो म हुँ। अस्ताउने सूर्य थाकेको हुन्छ, जोस जाँगर रित्तिएको हुन्छ। अनि बिहानको उदाउँदो सूर्य तँ होस्। जुनमा जोसजागर भरिएको हुन्छ, तँ त्यो जोसजागर भरिएको सूर्य होस्। म त्यो अस्ताउँदो सूर्य हुँ, डाँडापारिको घाम हुँ। जो डुब्नै आटेको छ' बाले भन्नु भयो।
'बा त्यो सूर्य त भोलि फेरि उदाउछ नि,' मैले बालाई सोधेँ।
तेरो बा कहिल्यै नउदाउने गरी डुब्न लागेको सूर्य हो कान्छा! जोसजागर रित्तिसकेको छ। अब ममा केही गर्ने आँट छैन। ममा केही गर्ने हिम्मत छैन।'
'बा! उमेरमा बुढो हुनु भनेको केही गर्न नसक्नु होर?'
'हैन, केही गर्नु हो तर युवा अवस्थामा भन्दा कम गर्नु हो। यहाँ कम गरेर बस्नुभन्दा मर्नु बेस्।'
बाको कुरा सुनेर म निशब्द थिएँ।
'यत्रो लक्काजवान भइसक्दा पनि केही प्रगती गर्न सकिनस् क्यारे। त्यत्रो वर्ष काठमाडौँ बसिस्। खै केही उपति लागेन।'
बाले यसो भन्दा मेरो आत लल्याकलुलुक भयो। म टोलाएको थिएँ। म निरासिएको थिएँ। बाले फेरि फलाक्नु भयो।
'सबैको समय आउँछ भन्छन्, तेरो खै कहिले आउने? हाम्रा सुखका दिन कहिले आउने खै?'
मेरा आँखा रसाएका थिएँ। आँखाबाट आँसु तप्किन मात्रै बाँकी थियो।
'दुखी भैस्?' बाले खेतको कुनामा खेत खोस्रिरहेको कुकुरलाई माटोको डल्लोले हान्दै भन्नु भयो, 'बाले यस्तो भन्यो भनेर दुखी नहो। बा हुँ, बाले त यति भन्नु परिगो नि बाबै। तँलाई थाहा नै छ घरको स्थिति। मेरा दुख देखेकै छस्। आफू बुढो हुँदै जाँदा आफूले जन्माएका छोराछोरीले राम्रो प्रगतिको लय समातून्, नाम राखून्, सफल होउन् भन्ने लाग्दो रैछ।
मलाई पनि त्यही लागेको हो। भोलिपर्सि तँलाई पनि आफ्ना सन्तानप्रति यस्तै लाग्ला। पछि थाहा पाउनेछस् बाले किन यसो भनेको छ भनेर।'
बाले आफ्ना कुरा भनिसक्दा म घोरिएको थिएँ। बा पनि त्यसपछि मौन बस्नु भयो। अनि कोदालो समातेर घर तर्फ लाग्नु भयो।
म भने खेतको आलीमै बसिरहेँ। न उठ्न सकेँ न धेरै बेर बस्न सक्ने भएँ। न बाको पछिपछि जान सकेँ।
के अबदेखि बासँग कहिल्यै विदेश जाने कुरा नगर्ने त? यो प्रश्नको वाणले मुटु नै चिथोरिने गरी हानिरहेको छ। बालाई के भनौँ? पढ्छु भनौँ कि यही देशमै केही काम गर्छु भनौँ! कि म जिन्दगीदेखि हारिसकेँ भनौँ?
बाको छोरो सुब्बा हुने, अधिकृत हुने सपना पूरा गर्न सक्छु कि सक्दिनँ दोधारमा छु। अचेल म दोधारमा छु।