अचेल हतपति करेसाबारीमा पस्दिनन् श्रीमतीजी
पसे पनि रायोको साग रोप्दिनन्
छोरीलाई मन पर्ने साग
रोपेर के काम खाने छोरी नभएपछि
छोरीलाई अन्माएपछि
घरको लक्षण मात्र गएन
हाम्रो सातो पनि गयो
घरको रौनक गयो
घरै शून्य भयो
करेसाबारीमा काउली नफलेको त कति भो कति
बल्ल बुझ्दैछु म पनि
काउली नफल्नुको रहस्य
छोरोलाई मनपर्ने काउली फलाएर के काम
खाने मान्छे नभएपछि
छोरो बस्ने कोठाको एउटा दराज
नखोलेको पनि धेरै वर्ष भो
उसका लुगाहरू हेरेर रूनुभन्दा
ढोकामा ताल्चा लगायो आनन्द
तर मनमा ताल्चा लाउनचैं के गर्न पर्छ हँ?
थाहा छैन श्रीमतीजीलाई
छोरी सुत्ने पलङमा उसैका साथीहरुले
बर्थडेमा गिफ्ट दिएको ठूलो पुतली
सुताएर न्यास्रो मेट्ने अनि
आफैंलाई ढाँट्ने कोसिस गर्छिन् श्रीमतीजी
भुर्र उडेर बचेराहरुले
गन्तव्य रोजेपछि
माउ आफ्नै जिउमा ठुङ्गेर
उगिँरहेछ एउटा लामो
पट्यार लाग्दो दिन |