१४ पटक फोन गरेपछि मात्र फोन रिसिभ भयो। रन्जुलाई आफू संजोक हो र नजिकैको एक पार्कमा भेटौँ भनेर प्रस्ताव राखेँ। उसले 'नाइँ म व्यस्त छु' भनी।
मैले फेरि प्रस्ताव राखेँ, 'जिन्दगीको सवाल छ, बिन्ती केही सोध्नु छ।'
यसपछि ओके भनिन् र म हतारमा पार्क तिर लागेँ।
उनी आइपुगेकी रहिनछिन्। त्यही बसेर कुरेँ, केही समयपछि रन्जु आइन्। अलि रिसाएको स्वरमा 'किन बोलाएको? किन के काम पर्यो?' भन्दै थिइन्।
म अलि नम्र भएर 'दियाको बारेमा बुझ्नका लागि बोलाएको, प्लिज जान्नु छ दिया कहाँ छे? धेरै भयो कुरा नभएको।'
ऊ अलि झर्किंदै 'ओहो! महासयलाई अझै दिया नाम पनि याद छ!'
'तिमी किन यस्तो भन्दै छेऊ, प्लिज रन्जु राम्रोसँग भन न दिया कहाँ छे? उसको नम्बर पनि अफ छ अनि फेसबुक पनि डिएक्टिभ छ।'
ऊ अझै ठूलो स्वरमा 'के जान्नु छ तिमीलाई उसको बारेमा? अब जान्न चाहेर कुनै फाइदा छैन! कहाँ थियौ तिमी त्यतिबेला जब दियालाई तिम्रो धेरै आवश्यक थियो? उसको मन टुक्राएर मृत्युको मुखसम्म पुर्याएर अझै शान्ति मिलेन तिमीलाई? आज कुन मुख लिएर दियाको बारेमा जान्न चाहान्छौ?'
'यो के भन्दैछेऊ रन्जु, कुरा के हो प्रष्ट भन न!'
'ओहो! जान्नु छ है? ल सुन कान खोलेर।
दियाको मिल्ने साथी भएको नाताले उसले आफ्ना कुनै कुरा मसँग लुकाउदिन थिई। सबै भन्थी। तिमी उसको जीवनमा आएदेखि ऊ निकै खुसी थिई। संजोक राम्रो मान्छे हुनुन्छ, यस्तो उस्तो भनी सधैँ तिम्रो नै प्रशंसा गर्थी। समय बित्दै गयो, ऊ निकै खुसी थिई।
तर एकदिन ऊ निराश भएको देखेँ। 'के भयो दिया, किन निराश भएकी? आज त संजोकको प्रशंसा गर्न भुलिस् कि! कोठा पनि शान्त छ। अनि तँलाई पनि के भो भन्?' ऊ यति भनेको सुन्दा रुन थालिछे।
'दिया के भयो? कुरा के हो? किन रुँदैछेस् भन्' भन्दै थिएँ। उसले मलाई जोडले अंगालेर रुन थाली। मलाई पनि ऊ रोएको देख्दा निकै मन भारी भएर आयो र मेरा पनि आँसु झर्न थालेछ्न्। निकै समयसम्म ऊ रोइराखी। पछि अलि शान्त भै अनि सोधेँ- 'ल अब सबै कुरा भन्।'
दिया रुञ्चे स्वरमा भन्न थाली 'संजोकले ब्रेकअप गर्नु भयो।'
'किन? के भनेर? के कारण हो?'
ऊ रुँदै 'खै मबाट त्यस्तो केही गल्ती भएजस्तो त लाग्दैन तर एक्कासी उहाँले फोन गरेर अब हामी छुट्नु पर्छ भन्नुभयो। मैले किन के भयो तपाईंलाई भन्दा 'केही भएको छैन, मलाई अब यो सम्बन्धमा बस्नु छैन, आजदेखि मेरो तेरो बाटो अलग। आइन्दा फोन गर्नी काम नगरेस्' भनेर फोन काटियो।
फेरि फोन गर्ने प्रयास गरेँ, फोन अफ आयो। फेसबुकमा गएर म्यासेज गर्न खोजेँ, फेसबुकमा पनि ब्लक हान्नु भयो। दुई वर्षसम्मको सम्बन्ध कहिले केही भन्नुहुन्न थियो तर आज एक्कासी आएर के भयो? किन यस्तो गर्नु भयो?' यस्तै आफैलाई प्रश्न गर्दै रुन थाली।
मलाई नि उसको त्यो अवस्था देखेर धेरै नरमाइलो लाग्यो। पछिल्लो दिनहरूमा उसमा निराशा बढ्दै थियो। ऊ कलेज जान पनि छोडेर कोठामै बसिराख्थी। उसलाई केही खुसी बनाउनलाई बाहिरतिर घुम्न जान आग्रह गर्थेँ तर मान्दिन थिई।
एकदिन म कलेजदेखि फर्किएर कोठामा आएँ। ऊ सुतिराखेकी थिई। उठ् भनेँ, उठेर बाहिर गई। म खाना पकाउन तिर लागेँ। नुन सकिएको रहिछ। दिया भित्र आइ अनि म नुन किन्न जान लागेँ।
'कहाँ जानिहोस्?' भनेर दियाले सोधी। नुन सिद्धिएछ लिएर आउछु भनेँ। उसले 'भो तँ पकाउँदै गर्, म लिएर आउँछु' भनी। मैले नि हुन्छ भनेँ। ऊ पसल तिर गई, म खाना पकाउन तिर लागेँ।
उसले निकै समय लगाइ। किन ढिलो गरी पसल त नजिकै थियो! कहाँ गइ लाग्यो। बाहिर जाँदै थिएँ ऊ आइ अनि तरकारीमा नुन हालेँ। ऊ खाटमा बसेकी थिई यत्तिकैमा औडाहा भए जस्तो बाहिर भित्र गर्न थाली।
मैले 'के भयो? किन औडाहा भएको छ?' भनेँ। नाइँ केही हैन भनी खाटमा पल्टी। मैले खाना तयार बनाइसकेँ, आइज खान भनेँ। उसले 'खान मन छैन, बान्ता आउनी जस्तो भएको छ, तँ खा म पछि खान्छु' भनी।
'खाना खा, सन्चो हुन्छ' भनेँ। उसले 'नाइँ तँ खा के' भनी। म खाना खान थालेँ।
यत्तिकैमा ऊ रुन थाली। अलि आत्तिएझैँ गरी मैले 'के भयो दिया?' भनेँ। 'रन्जु मैले विष खाएको छु, लाग्न लग्यो, अब मर्छु होला!'
उसको यस्तो कुराले मन धेरै आत्तियो। 'यो के गरिस् दिया? किन खाएकी?'
ऊ रुँदै 'संजोकलाई भुल्न गाह्रो भयो अनि' भनी।
'पागल केटी! एउटाको लागि आफ्नो ज्यान लिन खोजिस्! आमाबुबा र साथीको लागि तेरो मनमा केही रहिनछ' भन्दै गाली गर्न थालेँ।
अब के गरुँ! निकै आत्तिन थालेँ। उसको मुखबाट सेतो फिज निक्लिन थालेको थियो। हत्तारिँदै बाहिर गएर घरबेटी दाइलाई लिएर आएँ। दियाले विष खाई हस्पिटल लाने भनेर। हतार थियो, एम्बुलेन्स बोलाउने पनि समय थिएन। घरबेटी दाइले दियालाई बोकेर हतारिँदै आफ्नो कारमा राख्नुभयो र हामी हस्पिटल तिर लाग्यौँ।
उसको उपचार हुन थाल्यो। आत्तिदै उसको घरमा फोन गर्दिएँ। डाक्टर बाहिर आए। घरबेटी दाइले कस्तो छ अहिले भनेर सोध्नुभयो। डाक्टरले भने, 'समयमै ल्याउनु भयो, अलिकति ढिला हुन्थ्यो भने ज्यान जाने रहेछ। अवस्था अहिले ठिक छ आत्तिनु पर्दैन।'
डाक्टरको कुरा सुनेपछि मन ढुक्क भएर लामो सास फेरेर बसेँ।
केही समयपछि दौडिँदै आत्तिँदै दियाकी आमा र दाइ आइपुग्नु भयो। आमा आत्तिंदै नानी कहाँ छे? दिया कस्तो छ उसलाई? यो सब किन? कसरी भयो?' आमाले प्रश्नमाथि प्रश्न गर्न थाल्नु भयो।
मैले आमा नआत्तिनू, अहिले ठिक छ उसलाई उपचार हुँदैछ। आउनु यता बस्नु, म सबै कुरा भन्छु भनेँ।
अनि नजिकैको एक बेन्चमा दाइ, आमा बस्नुभयो। मैले कुरा लुकाउन सकिनँ। सबै बताउन जरुरी ठानेँ र तिम्रो र दियाको बारेमा सबै कुरा भनिदिएँ। आमा रुन थाल्नुभयो।
'आज हाम्रै छोरी हामीदेखि टाढा हुन खोजी। हामीहरु उसको लागि कोही रहेनछौँ! हाम्रो बारेमा अलिकति पनि सोचिन, परायाको लागि आफ्नो ज्यान दिने भई' भन्दै धेरै रुन थाल्नु भयो।
दाइको पनि आँखाबाट आँसु झर्दै थिए। आमाको यस्तो अवस्था देखेर म पनि आफूलाई सम्हाल्न सकिनँ। एकछिन सबै रोयौँ र केही समयपछि शान्त भयौँ। आमा तपाईंलाई सबै कुरा थाहा दिएँ तर दियाको अगाडि केही नभन्नू। थाहा नपाए झैँ गर्नू है भनेँ। उहाँले हुन्छ भन्नु भयो।
धेरै समय बसिराख्यौँ। त्यसपछि डाक्टरले अब बिरामीलाई भेट्न जान सक्नुहुन्छ भन्नु भयो। हामी हतारिँदै दियालाई भेट्न् गयौँ। दिया रुँदै थिई। आमा जानु भयो, उसको आँसु पुछ्दै धत् लाटी! किन रुन्छेस् रुन्नन्। अब सबै ठिक हुन्छ नरो' भन्दै आफ्नो आँसु लुकाउँदै दिया सामु खुसी भए जस्तै गर्नु भयो।
दाइ केही बोल्न सक्नु भएन, मलिन अनुहार लाउँदै चुपचाप उभिराख्नु भयो।
दिया फेरि रुँदै 'आमा, ठूलो गल्ती गरेँ मलाई के भयो थाहै पाइनँ, कसैको बारेमा सोचिनँ, माफ गर्नु अब यस्तो गल्ती कहिले गर्दिनँ, निकै गाह्रो भयो आमा' भन्दै झन् रुन थाली।
आमाले दियाको निधार सुमसुमाउँदै 'केही हुन्न, केही नमान अबदेखि यस्तो कहिले नगरेस्। अब पुराना कुरा सबै बिर्सिनु पर्छ' भन्नुभयो।
दियाले पनि 'हुन्छ आमा, म पनि त्यही सोचेकी छु। पुरानो कुरा सबै बिर्सिन्छु, आजदेखि मैले नयाँ जीवन पाएको छु। यो जीवन नयाँ तरिकाले जिउने छु' भन्न थाली र आमाछोरीमा निकै माया दर्शन थाल्यो। अंगाल्दै माया साट्न थाले।
यो देखेर दाइ पनि खुसी हुनु भयो। दियाको नजिक गएर अब केही समय घर जानु पर्छ, हुन्न भन्न पाउन्नस् नि भन्नु भयो। उसले पनि 'हुन्छ, म पहिले जाने सोचेको छु, भन्नै पर्दैन। जानु अब डाक्टरसँग बिदा माग्नु घर जानी' भनी।
दाइले हुन्छ केही समय अझै बस्नु पर्ने होला म सोधपुछ गरेर आउछु भन्दै बहिर जानु भयो।
म तिर हेर्दै रन्जु यता आइज भनी। म नजिकै गएँ र 'धेरै बस्न पाउन्नेस् नि घर, म कोठामा एक्लै हुन्छु' भनेँ।
ऊ हाँस्दै 'तँ पनि घर जा, किन एक्लै बस्नि होस्!' भनी।
'तैँ जा, म जान्नँ' भने।
उसले आफ्नो ख्याल गरेस्, केही समयपछि आइजान्छु भनी।
'अब कहिले निराश नहुने वाचा गर्।'
उसले हाँस्दै 'हुन्न के, ल वाचा भयो' भनी।
यो सबै देखेर मन धेरै शान्त भयो। दियाले अझै उस्तै निराश हुन्छे कि जस्तो लागेको थियो तर ऊ आफ्नो विगत आफै भुल्न राजी भै र खुसी हुने कोसिसमा रही। हुन त उसको विगत त्यही विषसँगै नस्ट भएर गयो र नयाँ जीवन पाई। ऊ आफै नयाँ तरिकाले जिउन खोजी।
एकछिनपछि दाइ आउनु भयो। उनीहरु घर जान तयार भए। म पनि आफ्नो कोठा तिर लागेँ।
धेरै दिनपछि दिया कोठामा आई। पहिलेभन्दा धेरै फरक। बिहानै उठेर कलेज जानी आएसी खाना पनि आफै बनाउने गर्थी। यस्तै दिनहरु बित्दै गए, परीक्षा पनि आयो र परीक्षा दिएर ऊ आफ्नो घर गई र म आफ्नो घर गएँ।
एक महिनापछि दियाले फोन गरी। उसको बिहे हुँदै गरेको कुरा भनी र मलाई पनि छिटो उसको घर आउनी आग्रह गरी। मैले उसलाई 'बिहेदेखि खुसी त छेस्?' भनेँ।
उसले भनी 'किन नहुनु, मैले नै हुन्छ भनेर कुरा अगाडि बढेको होनि। आइज छिटो।'
म पनि गएको थिएँ दियाको बिहेमा ।
यति हो संजोक दियाको कहानी। दुई महिना भयो दियाको बिहे भएको। यति लामो समय एक वर्षसम्म तिमीलाई उसको बारेमा जान्नलाई समय मिलेन छ। कस्तो अवस्थामा छे भनी अलिकति पनि जान्न खोज्ने इच्छा जागेन है! कतिसम्मको स्वार्थी बन्न सकेऊ!
दिया त्यो हस्पिटलको बेडमा छट्पटाइरहेको समय तिमीलाई फोन गर्ने प्रयास गरेँ, लागेन। अनि फेसबुकमा खोजेँ, त्यहाँ त तिमीले मलाई पनि ब्लक गरेको रहेछौ। कतै दियाको म्यासेज रन्जुको फेसबुकबाट नआओस् भनेर होला। भन कहाँ थियौ? तिमी अहिलेसम्म कुन दुनियाँमा मस्त जिन्दगी जिउँदै थियौ?'
मैले भनेँ, 'रन्जु थाहा भएन कि मेरो सानो एउटा गल्तीले दियाको ज्यान नै लिन खोज्ने छ भनेर। म काठमाडौं थिएँ। लोकसेवाको तयारीमा दियादेखि केही समय टाढै भएर आफ्नो पढाइमा केन्द्रित भई एकैचोटि दियालाई सर्प्राइज गर्ने उदेश्यले नै ऊसँग रिसाएझैँ गरी टाढा भएजस्तो गरेको थिएँ।
थाहा थिएन कि आज आएर मेरो गल्तीले म नै सर्प्राइज हुन्छु भनेर। तर उसलाई आफ्नो मनदेखि कहिले टाढा बनाएको थिइनँ। हिजो जति माया थियो, आज पनि त्यति नै छ र पछिल्लो समय पनि रहिरहने छ।'
'अब माया भएर के काम भयो र! दिया अब कहिले तिम्रो जीवनमा आउने छैने। दियालाई सम्झाउन पनि सक्थेऊ नि पढाइको लागि टाढा हुन्छु, केही समय सम्पर्कमा नहौँ भनेर। त्यसै पनि दियासँग कहिलेकाही कुरा गर्दैमा तिम्रो पढाइमा के असर पर्ने थियो! दुनियाँले पढ्छ र सबैलाई आफ्नो स्थानमा राख्न सकेको हुन्छ!'
'यति सानो कुराले पनि कति ठूलो असर गर्छ बुझ्न पर्ने थियो नि, विष पनि धेरै हुन्न संजोक, थोरै हुन्छ तर मान्छेको जीवन नै सधैँको लागि नष्ट गरिदिन्छ। मेरो विचारमा यो पनि तिम्रो बहाना नै लाग्यो।'
'ओहो! मलाई ढिला भयो, यति हो कुरा म गएँ अब' रन्जु त्यहाँबाट उठेर झर्किंदै गई।
दियाको बारेमा रन्जुले भनेका ती सबै कुरा सुन्दा मन निकै भारी भयो। रन्जु बोल्दै जाँदा मेरा आँसु पनि बगिरहेको थियो। कति ठूलो पाप गरेछु! मैले आफूभन्दा धेरै मलाई माया गर्ने मान्छेलाई नै मृत्युको मुखसम्म धकेल्न पुगेछु।
उसको विश्वास तोड्न पुगेछु। सायद यो जन्ममा यति माया गर्ने मान्छे अब कहिले पाउने छैन होला। बाँकी जीवन म दियाकै यादमा जिउने छु। मैले गरेको पाप गल्तीहरुको सजाय अब काट्न तयार छु। जति दु:ख पीडा छन्, सबै मेरो जीवनमा आओस्, दियाको जीवन सधैँ खुसीमय रहोस्।