कसैका बारेमा केही पनि लेख्नै हुन्न यहाँ,
लेखेपछि त समर्थक वा विरोधी भन्ने गरिन्छ,
खराबलाई खराब भन्ने कुरा त परै जाओस्
उसैलाई साथ नदिए सोझै कारबाहीमा परिन्छ।
लेख्नेहरूको धार आफ्नै विवेकमा पो बहन्छ
यो त केवल लेख्नेहरूलाई मात्रै पो थाहा हुन्छ
वाह! वाह! गर्नेहरू त छिनछिनमै बदलिन्छन् यहाँ
उनीहरुलाई सत्य थाहा पाउँदा निकै डाहा हुन्छ।
लेख्नेले सत्यलाई सत्य, असत्यलाई असत्य लेख्छ
त्यही कुरा समर्थकले सत्य, विरोधीले असत्य देख्छ
लेख्दा कोही खुसी वा बेखुसी हुने त स्वाभाविकै हो
तर एउटा अन्धभक्त त्यसलाई नै अचाक्ली देख्छ।
कुरो राजनीतिको होओस् वा सामाजिक विभेदको
त्यो लेखाइ पहुँचवालाको पक्षमा मात्रै चाहिन्छ
विचार त कसैको धम्कीबाट सिर्जना हुने होइन नि
तर कतिपय विषयमा लेखक नै गौण भएको पाइन्छ।
झुटो रहेछ यो समाज बदलिएको चर्को खबर
हिजो जस्तो थियो आज पनि त्यही चाहिन्छ
कसरी वकालत गर्न सकिन्छ होला र सत्यको
आज पनि पहुँच बलियो र निष्ठा कमजोर पाइन्छ!
केका बारेमा के-के लेख्ने भन्ने त मुखपत्र मात्रै हो
अरू लेखाइमा त आफ्नै विचारहरू चाहिन्छ
तैपनि लेखाइका गुनासा धेरै छन् यहाँ अझै पनि
किनकि लेख्नलाई कलम सँगसँगै हिम्मत चाहिन्छ।
कथाहरू छन् यहाँ हिजो लेख्दालेख्दै मर्नेहरूका
व्यथाहरू छन् यहाँ लेखेबापत अलपत्र पर्नेहरूका
चुनौतीहरू थुप्रै छन् यहाँ लेख्न ती सत्य कथाहरूका
तैपनि चलेकै छन् कलम यहाँ हिम्मत गर्नेहरूका।