मेहनतकस वर्गको आँसुको मूल्य
सीपलाई तिरस्कार
गलाको अपमान
कलाको अवमूल्यन
र सामाजिक बहिष्करण गरी
सिएका नाना आहा!
र सिउने मान्छे अछुतो भनि
अबोध बालकलाई सिकाएको मोलको
भुक्तान हो कोटा।
कला र गला उत्कृष्ट
गाउने र नाच्ने निच भनि
गरेको विभेदको
तिर्नु पर्ने सावाँ र ब्याज हो कोटा।
कला,
सीप,
क्षमतालाई
अछुत बनाउँदै
आफैँलाई आफै गरिब बनाएको
सजाय भुक्तान हो कोटा।
बिहेको भोजमा कथित उपल्लो जातको
साथिसँग बसेको अबोध बालकलाई
पर बस् भन्दै धकेलेको
पँधेरोमा सबैभन्दा पछि अरु
नछोई पानी भर्नू भनि उर्दी जारी गरी
पुर्यााइएको मानसिक तथा शारीरिक क्षतिको
क्षतिपूर्ति हो कोटा।
कोटा दिएकोमा छुकछुकाउनुभन्दा
पूर्खाको करणीमा पछुताउँदै
कला, गला र सीपका धनीको अपमानका लागि
माफि माग्दै तिनका सन्तानलाई
सँगसँगै हिँडाउने प्रण हो कोटा।
त्यसैले हे कथित अभिजात हो
कुनै न कुनै रुपमा कुनै दिन
आफ्ना पू्र्खाले गरेको महापापको
हाम्रो पश्चताप हो भनि बुझ्नु
अहिले दिएको कोटा।
अनि बुझ्नु
जातीयताको जाँतोमा पिसिएका
हिजोका सीमान्त्कृतहरु नै
जुन दिन समानताको बिगुल फुक्ने छ्न्
त्यही दिन सिद्धिने छ कोटा।