यो संसार, जहाँ सब बाँच्नका लागि रोइरहन्छन्
म रुनलाई बाचिरहेँ।
यी हातले
जवान छोराको लास जलाएका बाले सोधिरहन्छन् -
'किन मरेर गएकाहरु फर्की आएनन्, आहिलेसम्म?'
याद आइरहन्छ, त्यो दिनको, अपांग उनी
जीवनको सहारा गुमाइसकेर लट्ठीको सहारामा
बेसहारा उभिरहेका
सँगै मलामी आएका आफन्तहरु
विस्तारै टाढाटाढा उडिरहेका
पतझडमा सुक्का पात भएर।
उनी उभिरहे
एक पराजित वृक्ष
म हेरिरहेँ, खरानी भैसकेको छोरालाई होइन
जीवनको सहारा गुमाइसकेर लट्ठीको सहारामा
बेसहारा उभिरहेका एक एक्लो बालाई।
सपना थिएन त्यो, बाँच्नुपर्ने बाध्यताले
खाडी पठाका छोरालाई उनले
आकाशका जून र तारा
टिपेर ल्याउनुपर्ने कुनै आकांक्षा थिएन
आफ्नै
हराभरा मातृभूमिलाई छोडी
आर्काको मरुभूमिलाई मलिलो बनाउने रहर
हुँदैन कसैको
यो संसारमा
जहाँ अन्यायहरु न्याय भैदिन्छन्
म ढुंगालाई पूजिरहेँ
यो हृदयले
उनी गाइरहेकी थिइन्, वेदनाको गह्रुंगो गीत
मेरो मुटुमा भरिँदै थियो
विस्तारै आँसुले झैँ
म चुहिंदै थिएँ, गीतमा-
'उड्नै सिकिरहेकी थिई भर्खर मेरी पुतली
हाय मेरी सानु, हाय मेरी गुडिया
भर्खर तेह्र चढेकी थिई मेरी पुतली
हाय मेरी सानु, हाय मेरी गुडिया...'
उनी गाइरहेकी थिइन्,
त्यसैले सम्झेको छु त्यो आवाज,
किनभने यो संसार
जहाँ पैसाले न्याय किनिदिन्छ
उनी एक गरिब आमा थिइन्।
प्रहरीहरु न्यायालयभित्र पसिरहे
त्यो मन्त्री देखेर पनि नदेखेंझैँ गरेर हाँसिरह्यो
तर म उभिएर रोइरहेँ, हेरेर-
न्यायको त्यो झुठो मन्दिरलाई होइन
अन्यायले थोत्रिएकी ममताको त्यो साँचो मूर्तिलाई।
हो,
यो संसार जहाँ अन्यायहरु न्याय भैदिन्छ्न्
म आफ्नै आँसु पिएर बाँचिरहे
यी हातले।