अस्पतालको बिरामी जाँच्ने कक्षमा बस्दा पैताला पोल्ने र ज्यान गल्ने हजारौं बिरामी आउँछन्। जिन्दगीको चप्पलभित्र गोडा अड्याउन खोज्दा-खोज्दै चिप्लिएर कति लड्दा हुन्।
चिप्लेको दुई-तीन दिन पैताला पोल्दो हो, विस्तारै आलो घाउको सुक्ने पालो आउँदो हो। फेरि गोरेटोको विशाल ढुंगामा ठेस लागेर घाउ आलो हुँदो हो। म त त्यो बारम्बार लागेको घाउ नियाल्ने मान्छे। उनी भोग्ने, म सुन्ने मान्छे। आज पनि भोग्ने उनको शरीरमा बल नलागेपनि उनको बोलीले ब्रह्माण्ड खोल्ने तागत राख्छ।
आज एउटी आमा आइन्। सानो झुपडीको पुरानो ट्यान्कामा कोचेको वर्षौंअघि श्रीमानले ल्याइदिएका बुट्टे फरिया बेरेकी! उनको थोत्रो पटुकीले पनि आफ्ना व्यथा पोख्दै थिए मेरो सामु। उनलाई आफ्नो रोगको हेक्का थियो थिएन पनि थाहा छैन।
डाक्टरले भनिदिए, 'तपाईंलाई सुगर छ, प्रेसर छ, थाइरोइड छ।' शाब्दिक अर्थको अनर्थ त यी शब्दहरुले भोगेछन्, अब उनी तिनैको औषधि खान्थिन्।
हातमा निलो झोला, नयाँ लुगा हालेर पसलेले दिने झोला जस्तो। तर ती आमालाई हेर्दा लाग्थ्यो, उनको शरीरले वर्षौं भयो होला नयाँ लुगाको स्पर्श नपाएको, उनमा त्यो 'नयाँ' शब्दको सुगन्ध नपरेको।
त्यो निलो झोलामा सेतो प्लास्टिकको सानो झोला थियो, सेतो मैलिएर फोहोरी भएछ। त्यो प्लास्टिकले पनि आमाको अवस्था बोल्दै थियो। निष्फिक्री च्यात्तिएर कराउँदै। झोला उघार्दा, बारीबाट भाँचेर ल्याएको मकै छोडाएर आँगनमा सुकाउँदा छरिएझैँ छरपस्ट थिए, अस्तव्यस्त औषधि।
थाइरोइडले अझै थाइरोनर्म पाउँछन् पाउँदैनन् मलाई थाहा थिएन, तर त्यो झोला भित्रको औषधिको डब्बा खाली अनि प्लास्टिकको भुइँ भरिभराउ थिए। '५०० मिलिग्रामको 'मेटफरमिन' खान्छु म बिहान-बेलुका खाना खाएपछि' भन्न सक्ने न उनको पहुँच थियो, न 'डाएबेटिज' शब्द बुझ्न सक्ने उनको चेतना।
अरुले 'सुगर छ, औषधि खानुस्' भनेपछि उनले खान थालेका मेटफरमिनका गोटी झोलामा यदाकदा भेटिन्थे। चक्की हुने बट्टाभित्र चक्की थिएन, औषधिको पत्ताले पनि सबै भ्याइसके छन्। थोत्रो प्लास्टिक भने त्यही बट्टा र पत्ताले शृंगारिएको थियो, भुइँभरि गोटीको टिकी लगाएर।
'आमा, समस्या के छ?' मेरो प्रश्नको उत्तरमा आमाले शरीरको भएभरको समस्या बताएर भ्याइन्। घरी कुर्सीबाट उठेर छाती दुखेको सुनाउँथिन्, घरी पैताला सुम्सुम्याउथिन्, घरी पोको झिकेर औषधिको दर्शन गराउँथिन्।
म सोच्थेँ, यो शरीरको दुखाइ होइन, जिन्दगीको भोगाइ हो। म सुनेर नि:शब्द थिएँ। आमाको आँखामा आँसु अनायासै रसाए। श्रीमान र छोराको वियोग ती बूढी आमाको मनले किन सजिलै स्वीकार्थ्यो?
लाखौँ हण्डरदेखि बचाएको सन्तानले आफ्नै आँखाअघि चटक्क संसार त्याग्दा ती आमाको आत्माका कति चिरा परे होलान्, म उनको आजको आँसुले विगतको अड्कल पनि लाउन सक्दिन थेिएँ।
'आमा, नरुनुस्! समस्या अरु के छ भन्नुस् त?' उनको मस्तिष्कलाई त भुलाएँ मैले केही समय, तर त्यो एक्लो शरीरले अझै कति दुःखका प्रहार खप्ने होलान् जिन्दगीभरि! अब नजरले नियाल्न बाँकी केही थिएन।
हातमा तीन दिनअघि गराएको जाँचको रिपोर्ट देखेर म एकछिन सोचमग्न थिएँ। त्यो एक्लो शरीरका दुई पैतालाले कति सास्ती भोग्नु पर्यो होला, रगतको त्यही ३/४ वटा जाँच गराउन। त्यही पनि उनको हातले रिपोर्ट एकछिन भुइँमा छोडेको थिएन। दु:खले अर्जेको सबलाई प्यारो भन्थे, हो रैछ।
हरेस त ती आमाका आँटले अझै खाएका छैनन् तर शरीरलाई पेलिने औषधिले उनको शारीरिक बल कम गराएछ क्यारे। 'तागत लाग्ने दबाई देऊ न नानी, शरीरमा तागत नै छैन।'
संसार भोगेर आएको एक्लो शरीरलाई म तागत लाग्ने कुन औषधि दिऊँ! औषधि त लेखियो, केही पुराना केही नयाँ, तर त्यो औषधी उनको झुप्रो पुग्दा कतिऔँ साँझ ढल्ने हो!
उनी एक्लो थिइन्, उनको झोला भिर्ने कोही थिएन। औषधिको पैसा तिर्ने कोही थिएन। अब जबसम्म उनको बिमाले धान्छ तबसम्म औषधिले उनलाई धान्छ। त्यसपछि, उनी अस्पताल छिर्दा, पैसाबिना उनको पुर्जी कसले काट्छ?