गुरू व्यास हुन् कि प्रकाश
जीवनको आश हुन् कि विन्यास?
खास हुन् गुरू, खासमा हुन त!
गुरू पौरख, अनि गौरव पनि
गुरू गरिमा, अनि महिमा पनि
जीवनका हरेक पाइलाका डोबहरू
अक्षर हुन् अनि वर्णमाला
गणित हुन्, विज्ञान हुन्, खासमा ज्ञान हुन्
ज्ञान नै त जीवन हो, अनि जीवन पाठशाला
साँच्चै, जीवनमा कसैको एक वचन
उस्तै हुन्, मुटुको हर एक धड्कन
बचाउने र बाँच्न नदिने,
सिकाउने र सिक्न नदिने
सबैसबै गुरू सबैसबैमा नमन।
कहिले सङ्घर्ष गुरू, कहिले अप्ठ्यारा गुरू
ठेस लाग्दाको ढुङ्गो गुरू
यात्रा गर्दा गन्तव्यमा बोलाउने टुङ्गो गुरू।
हरेक दिन ब्युँझउने उषा गुरू
ठूलो आशापछि सुस्केरा मेटाउने निशा गुरू
ती अनेक पाइला उकाल्ने र ओराल्ने सोपानहरू गुरू
हो नि, यात्रा हो जीवन, बग्दै जाँदा भेटिने दोभानहरू गुरू।
कहिलेकाहीँ निद्रामा निस्सासिँदा
सपनामा देखिएका अनेक सपनाहरू गुरू
‘म बाँच्दै छु तिम्रा लागि,’ भनिरहेको
यो मुटु अनि रगत बगिरहेका नसाहरू गुरू ।
कास! अलिकति मात्र समय भएको भए...
खास पर्खाइमा मात्र भए पनि समय नगएको भए...
हेर्दाहेर्दै साँझ पर्यो, रात पर्यो अनि बात टर्यो
यस्तैयस्तै अपसोचका समयहरू गुरू!
अघि बढ्न रोक्दै गरेका भयभन्दा भयानक
हृदयका अभयहरू गुरू!
मित्रका मीठा शब्दभित्रका धारिला धारहरू गुरू
कहिलेकाहीँ जितेर पनि हाँस्न नसकिन,े ती अनौठा हारहरू गुरू
चुहिएको छानो हत्केलाले छेकेर ओत लगाउने,
चन्द्रमाको स्निग्ध कान्तिसमेत् क्षय गराई खोट लगाउने
ती अनेक अनेक सुविधा र दुविधाहरू गुरू ।
अझै लामो जीवन, यस्तैयस्तै प्रदीप्त र प्रवीणताले
दीक्षित गुरूसारथीहरूको आलिङ्गनमा बढाउनु छ,
यस्तै अनेक ज्ञानराशी, गुरू नामहरू
गुरूकोशमा सप्रेम सजाउनु छ,
जीवन बाँच्नु छ, सबैबाट सिक्नु छ
सबैलाई गुरू बनाउनु छ ।
त्यसैले, धेरै नभए पनि आधा दिन फूल्ने घडी फूलजस्तै
हजुर पनि मेरा गुरू बनिदिने कि!