गुरु व्यास हुन् कि प्रकाश
जीवनको आश हुन् कि विन्यास
खास हुन् गुरु, खासमा हुन त
गुरु पौरख, अनि गौरव पनि
गुरु गरिमा, अनि महिमा पनि
जीवनका हरेक पाइलाका डोबहरू
अक्षर हुन् अनि वर्णमाला
गणित हुन्, विज्ञान हुन्, खासमा ज्ञान हुन्
ज्ञान नै त जीवन हो, अनि जीवन पाठशाला
साँच्चै, जीवनमा कसैको एक वचन
उस्तै हुन्, मुटुको हर एक धड्कन
बचाउने र बाँच्न नदिने,
सिकाउने र सिक्न नदिने
सबै-सबै गुरु सबै-सबैमा नमन।
कहिले सङ्घर्ष गुरु, कहिले अफ्ठ्यारा गुरु
ठेस लाग्दाको ढुङ्गो गुरु
यात्रा गर्दा गन्तव्यमा बोलाउने टुङ्गो गुरु।
हरेक दिन ब्युँझाउने उषा गुरु
ठूलो आशापछि सुस्केरा मेटाउने निशा गुरु
ती अनेक पाइला उकाल्ने र ओराल्ने सोपानहरू गुरु
हो नि, यात्रा हो जीवन, बग्दै जाँदा भेटिने दोभानहरू गुरु।
कहिलेकाहीँ निद्रामा निस्सासिँदा
सपनामा देखिएका अनेक सपनाहरू गुरु
म बाँच्दै छु तिम्रा लागि भनिरहेको
यो मुटु अनि रगत बगिरहेका नशाहरू गुरु।
खास अलिकति मात्र समय भएको भए...
खास पर्खाइमा मात्र भए पनि समय नगएको भए...
हेर्दाहेर्दै साँझ पर्यो, रात पर्यो अनि बात टर्यो
यस्तै-यस्तै अपसोचका समयहरू गुरु
अघि बढ्न रोक्दै गरेका भयभन्दा भयानक
हृदयका अभयहरू गुरु
मित्रका मीठा शब्दभित्रका धारिला धारहरू गुरु
कहिलेकाहीँ जितेर पनि हाँस्न नसकिन, ती अनौठा हारहरू गुरु
चुहिएको छानो हत्केलाले छेकेर ओत लगाउने,
चन्द्रमाको स्निग्ध कान्तिसमेत् क्षय गराई खोट लगाउने
ती अनेक अनेक सुविधा र दुविधाहरू गुरु।
अझै लामो जीवन, यस्तै-यस्तै प्रदिप्त र प्रवीणताले
दीक्षित गुरु-सारथीहरूको आलिङ्गनमा बढाउनु छ,
यस्तै अनेक ज्ञानराशी, गुरु नामहरू
गुरुकोशमा सप्रेम सजाउनु छ,
जीवन बाँच्नु छ, सबैबाट सिक्नु छ
सबैलाई गुरु बनाउनु छ।
त्यसैले, धेरै नभए पनि आधा दिन फूल्ने घडी फूलजस्तै
हजुर पनि मेरा गुरु बनिदिने कि!