'हेल्लो! राजा, कता हो?' २०७४ मङ्सिर ३ गते साँझ साथी राजन अधिकारीले प्रफुल्लित आवाजमा फोनमा बोल्यो।
कहिल्यै आफै फोन नगर्ने राजनले किन फोन गर्यो भनेर सोच्न थालेँ। 'क्या हो बड्डा, खुसी छौ त! किन फोन गर्यौ?'
'अरे यार, अस्ति कतै जब भेट्यौ भने भन्नु भन्या हैन?'
'हो हो, के कतै भेट्यौ र?'
केही दिन अगाडि आफूसँगै बिई सकेका फ्रेस पास आउट साथीहरु विभिन्न आयोजनामा प्राविधिकको रुपमा काम गर्न थालिसकेका थिए। म भने जबको खोजिमा नै थिए।
एक दिन कौशलटार चिया अड्डामा राजनसँगै चियाको चुस्की लिँदै गर्दा कामको कुरा निस्किँदा 'कतै राम्रो कमाइ पनि हुने फ्रेसरलाई सिकाइ पनि हुने काम भेटे खबर गर्नु है' भनेको थिएँ। त्यही भएर राजनले मलाई सम्झेको रहेछ।
त्यसो त राजनले दुई महिना अघिदेखि नै कन्सल्टेन्सीमा नक्साको काम सुरु गरिसकेको थियो। हाम्रो साथी सर्कलमा बाँकी म मात्रै थिएँ खाली।
'के हो, जाने हो तनहुँ? हेल्थपोस्टको काम हो। खाने-बस्ने व्यवस्था सहित ३५ हजार दिन्छ रे!'
म जिन्दगीमा कहिल्यै जागिर नगरेको, ३५ हजार भनेपछि 'ओके' भनेँ। झन् त्यसमाथि खाने-बस्ने फ्री भनेपछि एउटा फ्रेस पास आउट ईन्जिनियरलाई कुरो मुनासिब नै लाग्यो। त्यसमाथि एक्पेरियन्स नि बटुल्न पाइन्छ साइटको भन्ने भयो।
राजन बोल्यो, 'ल त्यसोभए डन् भन्दिम् त?'
'ओके।'
'ल, त्यता बन्द भको काम चाँडै सुरु गर्ने रे, भोलि नै जाने भनेका छन् रेडी हुनू। म कन्ट्र्याक्टरसँग तिम्रो नम्बर र तिम्रो बारेमा सबै भन्छु। बाँकी आफै कुरा गर्नु ल, अहिले राखेँ' राजनले फोन राख्यो।
कस्तो राजने! भोलि जाने रे, अघिल्लो दिन साँझ फोन अर्छ। हुन त उसको पनि के दोष, फ्याट्टै भेट्यो होला भनिहाल्यो। भोलि नै जाने भनेपछि जुत्ता, ट्र्याकसुट, क्याप टोपी, पन्जा अनि एउटा ज्याकेट त लानै पर्यो। साँझ ढल्दै थियो, हतार-हतार गठ्ठाघरको एउटा फेन्सी पसलमा गएर ती सामान किने र कोठातर्फ लागेँ।
अर्को दिन बिहान पोस्टपेडको नयाँ नम्बरबाट कल आयो- 'सर कता हो?'
'को हो?'
'म सरोज जिसी तपाईंको कन्ट्र्याक्टर।'
'ए सर, नमस्ते! म त नचिनेर।'
'ल अब १० बजे हाम्रो आफ्नै गाडी तनहुँ जाँदै छ, त्यसैमा जानुपर्छ है। रेडी भएर चोकमा बस्नू, त्यहाँ आयसी कल गर्छौं हामी' भनेर फोन राखे।
म ९:३० मा कोठाबाट रेडी भएर चोक तिर लागेँ। १० बजे हाइलक्समा सरोज सर, अर्को एउटा मान्छे र ड्राइभर आइपुगे। त्यसपछि मलगायत चार जना तनहुँ तर्फको यात्रामा लाग्यौं।
बाटोम गफिँदै करिब साढे तीन घन्टाको यात्रामा भिमाद पुग्यौँ। बिहानको खाना धादिङमै खाइसकेको हुनाले एकछिन रेस्ट गरेर दिउँसोको खाजा खाई साइट तिर लग्यौँ।
सम्झौता पत्र, डिजाइन सबै पास भएर काम पनि सुरु भइसकेको हुनाले भोलिबाटै काम पुनः सुरु गर्ने भनेर तयारी थाल्यौँ। फाउन्डेसनको काम पनि सुरु भै डिपिसी लेभलसम्म आएर पहिलेको प्राविधिकको छोडेर गएको हुनाले केही दिन काम रोकेर म आएपछि पुनः सुचारु गर्न लागिएको रहेछ।
मिस्त्री लेबरहरु केही बाहिर जिल्ला र केही स्थानीयहरु अस्तिनै आएर बसिसकेका रहेछन्। सरोज सरले मलाई सबै कुराको जानकारी गराई सम्झौता पत्र लगायत अन्य सबै कागज पत्र जिम्मा लगाई काठमाडौँ जानुभयो।
मैले पनि अहिलेसम्मको कार्य प्रगति सबै अध्ययन गरेर यो हेल्थपोस्ट तोकिएको समय अगावै सम्पन्न गरेर मात्रै जाने अठोट गरेँ। त्यसो गर्दा आफ्नो नाम पनि हुने र पछिसम्म पनि स्थानीय स्तर र कार्यलय स्तरमा कुशलताका साथ काम सम्पन्न गरेको जस पनि पाइने।
त्यसपछि क्रमश स्वास्थ्य चौकी निर्माण कार्य अघि बढिरह्यो। उक्त स्वास्थ्य चौकी नबनुन्जेल इलाका स्वास्थ्य चौकी अलि पर भाडाको घरबाट आफ्नो सेवा दिइरहेको थियो।
एक दिन पहिलो तल्लाको ढलानको काम थियो। जसरी पनि त्यो दिन ढलानको काम सक्नुपर्ने थियो। बिहान अलि ढिलो सुरु गरेर होला ढलान राति अबेरसम्म, झण्डै ९ बजे सकियो। त्यो दिन यति धेरै दिमागी प्रेसर परेछ कि रातभर टाउको दुखेर निदाउनै सकिनँ।
भोलिपल्ट बिहान मिस्त्रीले 'घोला हाल्नुपर्ने, सर अझै उठ्नुभएको छैन' भनेर म बस्ने होटेलको मालिकलाई सोधेछन्। मालिकले 'सर त सन्चो नभएर उठ्नु नै भएको छैन' भनेछन्।
धने मिस्त्री रुममा आएर हाल बुझ्यो र सोधेर घोला हाल्न गयो। मैले हेर्न जान पनि सकिनँ, धनेलाई यसरी यति मात्रा हाल्नु भनेर पठाएँ।
दिउँसो अति भएर होटेलको दाइले नजिकै स्वास्थ्य चौकी लानु भयो। सबै चेक गरियो, रिपोर्ट सब नर्मल देखायो। त्यही कामको प्रेसरले दिमागी स्ट्रेस भएको भनेर स्वास्थ्य इन्चार्ज स्वास्थ्य सहायक सम्झना गुरुङले भन्नु भयो र 'नआत्तिनू सबै ठिक हुन्छ' भन्नुभयो।
कस्तो भने साइटको कामले गर्दा मैले त घरपरिवारको माया नै भुलिसकेछु। त्यस दिन सन्झनाले स्वास्थ्य परामर्श र सम्झाएको देख्दा बच्चामा बिरामी पर्दा कसैले टाउको सुम्सुमाउँदै बिसेक पारेको याद आयो।
म नजिकै भएर पनि अहिलेसम्म त्यो हेल्थ पोस्टमा पाइला टेकेको थिइनँ। सम्झना पुर्जाम केही लेखेर त्यहाँ उपलब्ध केही औषधि दिएर हँसिलो मुहारमा 'अब ठिक हुन्छ है, धेरै कुरा नखेलाउनु होला' भन्दै ओपिडी भित्र छिरी।
म भने उसले दिएको औषधि बोकेर होटेल तर्फ लागेँ। साइटमा केही दिन क्युरिङ गर्ने बाहेक अरु केही काम थिएन। त्यसैले म पनि अलि फ्री नै थिएँ।
एक दिन फेसबुक समाचार स्क्रोल गर्दै थिएँ। 'पिपुल यू मे नो' मा सम्झना गुरुङ नामको आइडी देखेँ। सम्झना उही थिई जसले धेरैपछि ममताको भावले मेरो स्वास्थ्यको चिन्ता गर्दै धेरै कुरा नखेलाउनू भनेकी थिई।
त्यो ठाउँमा धेरैपछि न्यानोपनको आभास कसैले दिलाएको थियो भने त्यो सम्झनाले थियो। एकछिन प्रोफाइल अवलोकन गरेर फ्रेन्ड रिक्वेस्ट पठाएँ। साँझपख सुत्ने बेला एकछिन फेसबुक खोल्ने अम्मल लागेकोले हेरेँ। रिक्वेस्ट एसेप्ट गरिछे सम्झनाले।
ऊ अनलाइन नै थिई। चिनिराखेको मान्छेसँग बोल्न पनि केको भूमिका बाध्नु भनेर 'नमस्ते डाक्टर म्याडम' भनेँ। त्यसो त एचएहरुलाई डाक्टर भनेर सम्बोधन गर्दा यसै फुरुंग हुन्छन्।
उताबाट रिप्लाई आयो 'नमस्ते, सन्चै हुनुहुन्छ? टाउको दुख्न सन्चो भयो नि!'
'भयो म्याडम भयो, के गर्नु भो त्यस्तो एकदिनमै चट भयो?'
'मैले के गर्नु, औषधिले होला नि!'
उसको जवाफमा शाब्दिक मिठास नै छुट्टै थियो। म यत्तिकैमा रोकिनेवाला थिइनँ। लेखिहालेँ 'एउटा कुरा थाहा छ, मलाई गुरुङहरु एकदम मन पर्छ नि!'
'अँ होला! तपाईं बाहुन हैन र?'
'हो, किन नि?'
'बाहुन त बाहुन बाहेक अरु हेर्दैनन रे!'
'हा हा हा… कसले भन्यो त्यस्तो?'
'भन्नुपर्छ र? देखिएकै त हो नि।'
'हैन के, मलाई गुरुङहरु अनि गुरुङनीले लगाउने उनीहरुको पोशाक एकदम मन पर्छ भन्या।'
'त्यो त मलाई पनि मन पर्छ,' उसले भनि, 'हस् म सुतेँ, गएँ गुड नाइट,' ऊ अफलाइन भई।
म भने अघि बोलेका टेक्स्ट माथि सारि सारि हेर्न थालेँ। लाग्थ्यो यी प्रत्येक शब्दमा ऊ लुकेकी छ। अन्त्यमा एकचोटि उसको प्रोफाइल फोटो हेरेर म पनि सुतेँ।
जसरी तनहुँ प्रवेश गर्दा म त्यहाँको एक अन्जान थिएँ र मलाई त्यहाँका अन्य चिजहरुसँग सरोकार लाग्थेन। तर अब परिस्थिति परिवर्तन भएर सबै आफ्नो लाग्न थालेको थियो।
साइटमा दोस्रो तल्लाको काम सुरु भैसकेको थियो। म पनि प्राविधिक सुपरिवेक्षणको काममा भुलिरहेको थिएँ। तलबाट लेबर खेम बहादुरले बोलायो- 'ईन्जिनियर सर, तल डाक्टर साब आउनु भाछ, आउनुस् रे।'
म तल झरेँ, साइटमा सम्झना आएकी थिई। 'अरे! तिमी किन नि यहाँ? बस' भनेर र अस्ति ढलानको बेला उछिट्टिएको मसला लगेको बेन्च पुछ्दै बस्न अनुरोध गरेँ। ऊ बसि र भनि 'पर्सी तमु लोछार छ, त्यसैले निम्तो दिन आएको।'
मैले हाँस्दै भनेँ 'कसलाई?'
'तपाईलाई नि, गुरुङको रीतिरिवाज मन पर्छ भनेको होइन?'
'साँच्चै हो र? के गर्नुपर्छ? कोसेली के दिनुपर्छ? केही थाहा छैन, कसरी आउने?'
'ह्या… के दिनुहुन्छ र? त्यस्तो केही पर्दैन।'
'लौ हाम्रो दशैँ-तिहारमा कति कोसेली दिन्छन्, तिमीहरुको पनि त्यस्तै त होला नि।'
'हे भगवान! त्यस्तो केही पर्दैन। आउनु न पाहुना बनेर' ऊ हाँसी।
ऊ हाँस्दा लाग्यो यो निर्माणाधीन भवनमा सम्पन्न नहुँदै दिपावली छायो। नलागोस् पनि कसरी! सम्झना साँच्चै स्वास्थानीमा वर्णन गरिएकी पार्वतीभन्दा कमकी थिइन। सबै कुरामा परफेक्ट लाग्ने। एकछिन बसेर 'आउनू है' भनेर ऊ लागी। म भने उसले पाइला चालेको पदचाप हेरिरहेँ।
दुई दिनपछि लोसार आयो। मलाई कता-कता अप्ठ्यारो लाग्यो। चाडपर्वमा बोलाएकोमा के रित्तो हात जानु, के लाने होला सोचेँ। एक पटक कलेजमा साथी-साथीबीच कुरा हुँदा 'लोसारमा त कोसेली रक्सी लान्छन् रे यार' भनेको सुनेको थिएँ। अब बाहुन मान्छे के त्यस्तो कोसेली लानु भनेर भिमाद बजारमा केही फलफूल किनेर सम्झनाको घर गएँ।
सम्झनाको बुवा पहिलेदेखि नै परिचित हुनुहुन्थ्यो। एकचोटि मिटिङमा उहाँसँग राम्रै गफगाफ भएको थियो। म जाने बित्तिकै बुढाले 'ओहो! ईन्जिनियर साब, आउनुस् आउनुस्' भनेर आतिथ्य गरे।
'म त ढिलो गर्नु भो, छोरीले खबर गरिने कि भनेर सोचेको' भन्नु भयो।
म त सम्झनाले बोलाको होला भनेर मख्ख परेको, योजना बुढाको पो रैछ भनेर सोचेँ मनमनै। खयर! केही छैन भनेर उहाँको आथित्यता स्वीकार गरेँ।
एकछिनपछि लोसार विशेष परिकार लिएर सम्झना आइपुगी। त्यो लोसारको गेटअपमा सम्झना धपक्क लक्ष्मी झैँ बलेकी थिई। विभिन्न परिकारहरुमा पेय पदार्थ पनि फरक फरक ब्राण्डको राखिने रहेछ।
एकछिन त अड लाग्यो, बाहुन मान्छे के भन्ने हुन् भनेर। केही नलिई नन भेज आइटम र केही अन्य परिकार मात्रै भोजन गरेको देखेर सम्झनाका बाले सोधिहाले- 'के हो सरको आदत छैन कि के हो? हुन त सर बाहुन ईन्जिनियर' बुढा बेजोडले हाँसे।
म भने रातो न रातो भएँ। मनमनै सोचेँ 'बुढा, झन् तिम्रो मान र बाहुन भएको नाताले रोकेको।'
बुढाले थपे, 'थोरै त लिनुपर्छं सर, ल लिनुस्' भेनेर खुकुरी रम आफैले सिसाको कपमा हालेर दिए।
मलाई भने मन अलि गम्भीरताका साथ उत्सवको मजा लागिरहेको थिएँ। साँच्चै लोसार हाम्रो दसैं तिहार जत्तिकै रमाइलो हुँदो रहेछ। अझ नाचगान त हाम्रोभन्दा भव्य हुँदो रहेछ।
यसरी तनहुँ आएको पनि महिनौं पुगिसकेछ। दोस्रो तलाको सबै काम सकेर फिनिसिङको काम पनि अघि बढिसकेको थियो। जति जति फिनिसिङको काम रफ्तारमा भैरहेको थियो, उति उति सम्झनासँग छुट्टिने दिन पनि नजिक आउँदै थियो।
अबको करिब दुई महिना जतिमा भवन हस्तान्तरण गर्ने हाम्रो योजना थियो। त्यही अनुरुप काम धमाधम भैरहेको थियो। यो समयमा सम्झना र मेरो भेटघाट साबिकको भन्दा धेरै हुन्थ्यो। किनभने हामी दुवैलाई थाहा थियो केही दिनपछि हामी टाढिँदै छौँ भनेर।
एक दिन शुक्रबार साँझ उसले फोन गरी 'भोलि हामी बन्दिपुर जाउँ न घुम्न।'
म पनि कुनै शान्त ठाउँको खोजिमा थिएँ जहा मैले मेरा मनका सम्पूर्ण बहहरु पोख्नुपर्ने थियो। मनभित्र गुम्सिएर उकुसमुकुस भएका भावनाका पोकाहरु फुकाउनु थियो। मैले एकै स्वरमा 'हुन्छ' भनेँ।
शनिबार बन्दिपुर बजार घुम्दै माथि टुँडिखेल नजिकै रहेको पार्क पुगेर एकछिन सुस्तायौँ। सम्झना बोली, 'यहाँबाट बिदा भएसी मलाई बिर्सनु हुन्छ होला है?'
'ल कहाँ बिर्सनु!'
'थाहा छ मलाई बिर्सनु हुन्छ कि हुन्न भनेर, भयो अब।'
ऊ चुपचाप बसि। मलाई केही भन्नु थियो जुन मैले उपयुक्त समय र उचित वातावरण कुरेर आजसम्म नभनि बसेको थिएँ। म बोलेँ, 'सम्झना तिमीलाई बाहुनहरु कस्तो लाग्छ?'
ऊ बोलि, 'खै! संगत त गरेको छैन तर तपाई जस्तै बाहुन संगत गरिरहुँ जस्तो लाग्छ।'
'म चाहिँ किन नि?'
'खै! किन-किन! यस्तो नि सोध्ने हो?'
मैले सोधेँ, 'के तिमी मसँग बिहे गर्छौ?'
ऊ केही बोलिन। एकछिनपछि 'घरमा केही भन्नु हुन्न?'
'नाइँ।'
'त्यस्सै, जे पायो त्यही।'
'हो के, मेरो घरमा पहिले नै दाइले नेवार बिहे गरेकोले त्यस्तो रोकतोक केही छैन। बरु सम्झना तिम्रो घरमा मनाउन अप्ठ्यारो हुन्छ होला।'
उसले मलिन अनुहार पारेर घोरिएर हेरी।
'के भयो? किन सिरियस?'
'दिदीको याद आयो।'
'के भएको थियो र दिदीलाई?'
उसको दिदीको पहिले क्षेत्री जातको केटासँग बिहे गर्न खोजेपछि घरकाले जबरजस्ती अन्तै बिहे गराइदिइपछि सुसाइड गरेको कुरा सुनाउँदा भक्कानिएर रोई ऊ। अनि भन्न थालि, त्यो बेलादेखि उसको घरमा बाबा आमाले जातको कुरा कहिल्यै गर्नुहुन्न भनेर।
मैले बल्ल थाहा पाएँ उसको बाबा किन त्यति उदार दिल लिएर हिँड्दा रहेछन् भनेर। सोचेँ, आखिर मान्छेको जात न हो आफ्नो परिवारमा पर्दाखेरी आपसेआफ परिवर्तन हुँदा रहेछन् भनेर।
मेरो घरमा पनि दाइले नेवार्नी भाउजू भित्र्याउँदा ठूलै रडाको मच्चिएको थियो। पछि बुवाआमा आफै परिवर्तित हुनु भएको थियो। यसरी हामी दुई जना दिउँसोको २ बजेसम्म आपसी कुरामै भुलिरह्यौँ।
मलाई लाग्यो यो दिनलाई एक विशेष दिनको रुपमा लिनै पर्छ भनेर। अघि बन्दिपुर बजारमा उसले फोटो लिँदै गर्दा उसको आँखा छलि किनेको गुलाबको फूल निकाल्दै उसलाई भनेँ, 'सम्झना, आई लभ यू सो मच। विल यू म्यारी विथ मि?'
उसले गहभरि हर्षको आँसु पार्दै भनि 'एस।'