ऊ गर्वका साथ दोहोर्याउँछ
आहा! त्यो तीनकुने झण्डा
जुन अरुभन्दा पृथक छ
अनि यो ढाका-टोपी
जो हिमाल झैँ अग्लिएको छ
र यो टालो टालेको दौरा
जसमा इमान्दारिता झल्किएको छ
यी नाराहरुलाई हतियार बनाएर
उसले मन जितिछाड्छ जमातको
विस्तारै झण्डाको रंग उड्न थाल्दा
उसका गालाहरुमा लाली चढ्छ
झण्डा छेउछेउबाट लुछिँदै गर्दा
उसको च्यातिएको दौरा, कोट बन्छ
देशको कुनै कुनामा नुनपानीले छाक टार्दा
यता उसको पेट ककटेल र सितनले भरिन्छ
कतै किसान र खेत पानी बिना चर्किरहँदा
यता ऊ पौरखीका पसिनाले नुहाइरहन्छ
भिरपाखामा आमा फुटेका कुर्कुचा हिँडिरहँदा
ऊ रेड कार्पेटमा बुट घिसारीरहन्छ
उता भाइलाई मसाल उचाल्न लगाएर
यता ऊ राष्ट्रियतामाथि घन प्रहार गरिरहन्छ
ती भाषण र तालीका गड्गडाहटले
गाउँमा ठूलो चट्याङ सहित मेघ गर्जेको छ
बुवाको आँखाका डिलबाट बगेको आँसु
चाउरिएका गाला अनि मुटु हुँदै
पैतला मुनिको जमिनमा मिसिन गएको छ
के ती नुनिला थोपाको अस्तित्व यति हो?
होइन भने बगाएर लैजाओस् न यी बेथिति,
यो रोग, यो स्वार्थ अनि यो अमानवता
त्यही मेघसँगै, यो झण्डा र राष्ट्रियताभन्दा पर।