मेरो हातमा छ विज्ञानले दिएको एक अनमोल उपहार, मोबाइल। इन्टरनेट जोडिएको मोबाइल हातमा हुनु संसार हातमा हुनु हो। न यात्रा, न सिमाना, न पासपोर्ट, न भिसा संसारको यात्रा गराइदिन्छ यही फुच्चे मोबाइलले।
के अटेको छैन र यसमा? मान्छेको जन्म, मृत्युदेखि विवाहसम्म, विभिन्न समारोहदेखि वेदनाका कुण्ठासम्म मान्छेका सोह्र श्रृंगारदेखि मान्छेको रुचि, मनोवृत्ति, साराका सारा उदाङ्गो पारिदिन्छ यसैले। तिलस्मी जासुसी कथाको मनचिन्ते झोलाजस्तै छ यो मोबाइल, जहाँ जसले जे खोज्यो, त्यही भेट्छ।
जुन चिजले प्यास मेट्न खोज्यो, त्यही चिज पाइन्छ। राम्रो नराम्रो सबै बोकेको छ यही फुच्चे मोबाइलले। यसमै भेटिन्छ ज्ञानको सागर, यसमै भेटिन्छ मानिसको मनोविज्ञान, मानिसका कुण्ठा, पीडा, हर्ष सबै सबै देखाइदिन्छ यही मोबाइलले।
एकैछिनका लागि डिजिटलको संसारमा विचरण गर्दै हुन्छु। मानिसको भावनाका अनेक रंगहरुले रंगिएको छ फेसबुक। देख्छु अनेकौँ रंगिन चेहराहरु, सकी नसकी मुस्कुराएका ओठहरु अनि संवेदना, आँसु र पीडाहरु। मान्छेका संवेगहरुको भिड लागेको छ त्यहाँ। मान्छेका मनहरुको मेला लागेको छ। म इन्टरनेटको संसारमा डुबिरहेकी हुन्छु।
'एक्सक्युज मि म्याडम!' एउटा खैरेको आवाजले मेरो डिजिटलको संसारलाई अन्त्य गर्छ र वास्तविक धरातलमा झार्छ, केही समयका लागि। म झसंग हुँदै उठ्छु। उसले वाइन माग्छ, मैले निकालेर दिन्छु।
उसले केही डलर दिएपछि लेनदेनको कारोबार समाप्त हुन्छ। 'थ्याङ्क यू, हेभ अ नाइस डे' शब्दसँगै मुस्कुराएर ऊ आफ्नो बाटो लाग्छ। हरेक दिनको दैनिकी यही हो। घडी हेर्छु, आधा घण्टा मात्र बितेछ, अझै बिताउनु छ साढे ६ घण्टा।
मलाई भने अहिले नै पट्यार लागिसकेको छ। सायद आज निद्रा कम भएर होला, पाँच/छ पल्ट हाई हाई भन्दैछन् मेरा ओठहरु। रातभर बच्चाले सुत्न नदिएको निद्रा शिथिल भएर बसेको छ शरीरभरि। बिहानपख झकाउन मात्र के लागेकी थिएँ, घडीले ६ बजाइदियो र अलार्मले उठ्ने निर्देशन दियो।
आफ्नो जमिनमा बिहान अबेरसम्म सुत्ने बानी परेकी मलाई अलार्मको त्यो आवाज सबैभन्दा अप्रिय र कुरुप लाग्छ। त्यो अप्रिय समयले दूध चुस्दै गरेकी ४ महिनाकी बच्चीको मुखबाट विस्तारै स्तनको मुन्टा निकालिदिन्छ। एउटा विवशता पोखिन्छ, समयको घण्टीले छोरीको दूध चुस्ने मुखमा लगाम लगाइदिन्छ।
अबको करिब सात घण्टासम्म छोरीले पाउने छैन ममताको कोमल स्पर्श, पाउने छैन मायालु स्नेही हातहरु, अनि पाउने छैन आमाको अमृततुल्य स्तनले घाँटी भिजाउन। त्यसको सट्टामा उसले पाउनेछ एउटा दूध भरिएको बोतल र उसको मुखले चुस्नेछ एउटा प्लाष्टिकको थैली।
दुनियाँको कुनै पनि आमाले चाहँदिनन् आफ्नो सन्तानका आँसुहरु, अनि उसका खुसीहरुमा लागेको पूर्णविराम चाहे जति नै छोटो समयका लागि होस्। तर नचाहेको यही विवशताको जाँतो झुण्ड्याएर कुदिरहेछ मेरो वर्तमान, डलर कमाउन अथवा भनौँ भौतिक सुखको खोजीमा।
आज किन किन सबै चिज भएर पनि रित्तो रित्तो आभास हुन्छ मलाई। छन त सबै चिज छ। एउटा सामान्य नागरिकले चाहना गर्ने एउटा चिटिक्क परेको घर, खुला आँगन, एउटा गाडी, जसलाई गुडाउने सीप। एक सन्तानकी आमा, पूरै दिलले प्रेम गर्ने श्रीमान्, हातमा ब्याचलर डिग्रीको सर्टिफिकेट।
यति भएपछि त खुसी हुनु पर्ने हो जिन्दगी, तर कहाँ बग्दा रहेछन् भौतिकताको खोलमाथि खुसीका रसायनहरु। शरीर सम्पन्न देशको जमिनमाथि अविरल कुदिरहेछ तर मनमा भने आँधी चलिरहेछ। सम्झनाको विराट आँधी यादहरुको भिषण वेग बनेर।
आँधीभित्र बगिरहेका छन् आफन्तका कोमल हृदयहरु। नाचिरहेछन् सुन्दर मुस्कानहरु अनि बगिरहेछन् ममताका गहिरा छालहरु। म आफैसँग प्रश्न गर्छु, किन बन्द छन् मेरो हृदयभित्रका खुसीका द्वारहरु? कहाँ छ त्यो चाबी, जसले मेरो अन्तस्करणको खुसीलाई बाहिर निस्कन दिएको छैन। म अवाक हुन्छु। अमेरिकाको डिभी पर्दा पाएको खुसी अहिले कता हराएको छ? मलाई अनगिन्ती प्रश्नहरुले घेर्छन्।
बाहिर आकाश गर्जिएको छ धर्तीलाई नुहाएर। मभित्रको आकाश पनि गर्जेको छ अनेकौँ प्रश्नहरु बोकेर। पानी परेको हुँदा मानिसहरु आउने क्रम पातलिएको छ। म निरन्तर खिचिएकी छु स्मृतिको त्यो विगतमा जहाँ मसँग पर्याप्त खुसी थियो। उत्साह र उमंग थियो। मेरो परिवेश वरिपरि आफन्तहरुको सुगन्ध थियो।
टाउको मात्र दुख्दा पनि भरपूर स्नेहले सुम्सुम्याउने जननीका कोमल हातहरु थिए। पिताको प्रेमले भरिएको छताछुल्ल अमृतघडा थियो। तर यहाँ त न मैले टेकेको धर्ती आफ्नो हो, न पवन, न जल, न त यहाँ उभिएका वृक्ष, न खाना, न काम सबै सबै अपरिचित, सबै बिरानो।
यति धेरै मेहनत आखिर कसको लागि? केका लागि? यो ठाउँ यस्तो ठाउँ हो, जहाँ प्रत्येक व्यक्तिको पाखुरीको बल खेर जान पाउँदैन अर्थात् हरेक व्यक्तिको उर्जाले उत्पादन दिन्छ। जुनसुकै उमेरको व्यक्ति श्रममा भाग लिन्छ र देशलाई योगदान गर्छ। खालि छन् भने त्यस्ता व्यक्ति मात्र खालि छन्, जो शक्तिहीन छन्, श्रम गर्न सक्दैनन्।
श्रम गर्नु भनेको उत्पादन गर्नु हो। संसारका सम्पूर्ण सुन्दर वस्तुहरु श्रमका उपज हुन्। काम नगरी बस्नु भनेको आफूभित्रको शक्तिलाई मार्नु हो। देशलाई धोका दिनु हो। मैले यहाँ आएर सिकेको खास कुरा यो हो कि श्रम मानिसको जीवनको अनिवार्य हिस्सा बन्नुपर्छ। अन्यथा न मानव जीवनले कुनै मूल्य प्राप्त गर्छ न त देश नै बन्न सक्छ।
प्रश्नहरुको बाढी पसेको छ मनभित्र। अर्काको माटोमा यति धेरै मेहनत वर्षाउने हामी आफ्नो देशमा किन केही नगरी बस्छौँ? यसमा हामीले दिने सहज उत्तर हो, रोजगार छैन। तर त्योभन्दा सही उत्तर यो हो कि हाम्रो मानसिकता बेरोजगार छ। हामी हरेक कुरामा अरुलाई दोष दिएर उम्कन खोज्छौँ।
हाम्रो देशमा विदेशीहरु आएर रोजगार सिर्जना गर्छन् भने हामी किन गर्न सक्दैनौँ! हामी पनि गर्न सक्छौँ तर सिर्जनात्मकतातिर हाम्रो ध्यान जाँदैन। हामी त केवल जागिरे मानसिकता बोकेर हिड्छौँ र सरकारलाई काम नदिएकोमा गाली दिइरहन्छौँ।
ग्राहकहरु फाट्टफुट्ट आइरहेछन् तर मेरो मस्तिष्कमा सोचको जुलुस निरन्तर दौडिरहेछ। वर्षौं पहिलेको राष्ट्र निर्माणको भोकले मलाई फेरि ब्युँझाइदिन्छ र भन्छ- म आफू मात्र बनेर हुँदैन। हाम्रो काँधमाथि इतिहासले जिम्मेवारीको ठूलो बोझ बोकाएको छ। अर्को पुस्ताको निम्ति हामीले आफ्नो देशको सुनौलो चित्र कोर्नु छ।
हाम्रो देश अरु कोही आएर बनाउने होइन, आफैले बनाउनुपर्छ र देशको शिर उचा राख्नुपर्छ। एक समय कमजोर अवस्थाबाट गुज्रिएका मलेसिया, सिंगापुर, दक्षिण कोरिया बन्न सक्छन् भने नेपाल किन बन्न सक्दैन? निश्चित रुपमा बन्न सक्छ। त्यसको लागि दरिलो इच्छाशक्ति, सुव्यवस्थित योजना र भ्रष्टाचारमुक्त देश चाहिन्छ। प्रकृतिको यो अनुपम सौन्दर्य बोकेको यो सुन्दर भूगोललाई स्वर्ग बनाउन सकिन्छ।
मनमा एउटा अठोट पैदा हुन्छ। अब दश मिनेट मात्र बाँकी छ। म घर जाने तयारी गर्छु। स्तन दूधले टन्किएको छ। छोरीको याद र ममताको बाढी पसिसकेको छ मनभित्र। हातमा स्टेयरिङ समातेर चार कोशको यात्रा तय गर्छु तर मेरो यो यात्रा घर पुग्ने यात्रा मात्र होइन, मेरो आफ्नै देश निर्माणको अठोटको यात्रा हो।
मेरो आफ्नै देशको सुगन्ध वृद्धिको पुष्पयात्रा हो। यो मेरो देशको शिर उचा राख्ने समृद्ध इच्छाशक्तिको यात्रा हो।