राप, ताप र श्रापले पिल्सिएको एउटा आरन
खरानीबाट जुरुक्क उठेर बोल्न थाल्छ
महाराज!
तपाईंको साझा फूलबारी यही हो?
मलाई
अँधेरी र पँधेरी एउटै लाग्छ
अँधेरीमा पनि बेसहारा
पँधेरीमा पनि बेसहारा
रमिते छु आफ्नै गाग्रीको
काकाकुल छु आफ्नै पानीको
बिरानो छ आफ्नै माटो
विषाक्त छ आफ्नै हावा
विभक्त छु आफ्नै बलेसीमा
जहाँ बगेको पानीमा देख्छु
आफ्नै धमिलो छाया
म एक्लो हो कि
यो दुनियाँ बेग्लो हो?
महाराज!
तपाईंको साझा फूलबारी यही हो?
मेरा लागि
यो पृथ्वी पनि घुम्छ सधैं उल्टो
र बनाउँछ मलाई अनौठो बुख्याचा
अरुले छोए पवित्र,
मैले छोए विचित्र
अरुको माथ बाटोमाथि,
मेरो माथ बाटोमुनि
अरुको जन्म उच्च
मेरो जन्म निच
सृष्टिमा दोष हो कि
दृष्टिमा दोष हो?
महाराज!
तपाईंको साझा फूलबारी यही हो?
ए ब्रम्हाका पुत्र हो
ए शिवका सृष्टि हो
माथि आकाशमा हेर
जहाँ बसेका छन् तिनै भगवान
छैन त्यहाँ आँगन चिरिएको
छैन त्यहाँ बाटो छुटिएको
छैन त्यहाँ पानी बिटुलिएको
छैन त्यहाँ रगत फाटेको
आकाशभन्दा फराकिलो मान्छेको मन
आज आरन देख्दा साँघुरो भो
फलाम पग्लन्छ आरनमा
पग्लेन मान्छेको मन
के मान्छेको मन ढुंगा हो?
महाराज!
तपाईंको साझा फूलबारी यहीँ हो?
बोल्दा बोल्दै थाक्छ आरन
अनि सुस्ताउँछ उहीँ चिसो खरानीमा
देख्छ सपना बिहानीको न्यानो घाम उदाइरहेको।