हे प्रियसी,
म तिम्रो यादको सँधियार हुँ!
कहिलेकाहीँ तिम्रो यादले सिमाना नाघ्दछ,
त्यसैले त म
बेलाबेला तिमीसँग चर्को स्वरमा बात गर्छु,
अनि एकैछिनमा फेरि,
तिमीसँगै गफ गरेर सिमाना जहाँको त्यहीँ पुर्याउँछु।
तिम्रो याद र म बीचको साँधको आलीमा तिम्रो हक छ,
तिम्रो हकमा रहेको आलीमा मेरो यादको पाइला छ,
तिम्रो यादमा हिँड्दा बसेको पाइला,
जसलाई मेट्न तिमी बेलाबेला
साँधमा आएर आली लगाइदिनुपर्छ,
किसानले रोपाइँका बेला आली लगाए झैँ।
तिम्रो आखाबाट आँसु खसेका बेला
साँधको आलीबाट पनि आँसु खस्न देऊ है!
मलाई तिम्रो आँसुले रुझेर निथ्रुक्कै हुन मन छ,
असारको बेलामा
माथ्लो खेतबाट तल्लो खेतमा पानी खसेर
तल्लो खेत निथ्रुक्कै रुझे झैँ।
तिमीलाई अनि मलाई जोड्ने
त्यो साँधको आलीमा विश्वासको फूल लुकाएर राखौं न है!
रोपाइँपछि किसानले
ढुकुरले भटमास नभेटोस् भनेर,
आफ्नो आलीमा लुकाएझैँ।