हाम्रो भेट 'चिजी' हिन्दी फिल्मी सिनमा जसरी भयो। १४ घण्टाको गोन्जाव एअरपोर्टको ट्रान्जिटमा २ घण्टा नबित्दै पट्यार लागेर क्याफेमा केही किन्न जाँदै थिएँ, उनी केही किनेर फर्किंदै थिइन्।
मेरो आँखा मोबाइलमा, श्रवणको ध्यान एअरफोनमा। एउटा हात गोजीमा, उनीसँग म ड्याङ्ग ठोकिएँ! उनले बोकेर ल्याएको खानेकुरा फुत्त भुँइमा! धन्न प्याकिङ राम्रोसँग गरेको रैछ, सिङ्गै खस्यो, भित्रको सकुशल।
उही- 'ओ सरी! सरी!' भन्दै थिएँ, त्यत्रो बिघ्न एअरपोर्टमा नेपालीसँगै ठोकिएछु। त्यो पनि उनीसँग। उनी अर्थात, 'रिस्ता'। उनको नाम पनि हिन्दी-हिन्दी नै थियो।
'हाई' नाम लिन गाह्रो मान्दै म बोलें। मलाई यसै पनि यो 'हाई' देखावटी सम्बोधन लाग्छ, मुखबाट फुत्त निस्कियो। निस्कियो त निस्कियो!
'हलो' रिस्ताले जवाफ फर्काई। फेरि त्यही २-४ सेकेन्डको गाह्रोपन, अक्वार्डनेस के!
त्यो खसेको खानेकुरा उठाउन खोजे जस्तो गरें, उनले उठाइन्।
बोल्न मै सुरु गरें, 'कहाँ जाँदै?'
'काठमाडौंबाट आउँदै, ६ घण्टापछिको फ्लाइट छ सिड्नीको।'
'तिमी?' रिस्ताले सोधी।
'म बेजिङबाट काठमाडौं जाँदै, १४ घण्टाको ट्रान्जिट छ।'
ट्राभलको दाइलाई 'दाइ सस्तो टिकट, सस्तो टिकट' भनेको, दाइले १४ घण्टाको ट्रान्जिट वाला काट्दिए। '१४ घण्टाको ट्रान्जिट छ' भनेपछि मलाई हल्का लाज लागेर आयो नढाँटी भन्दा।
कुरोको चुरोमा सिधैँ पस्दा रिस्ता यानिकि मेरो पहिलेको गर्लफ्रेन्ड, अहिलेको त 'एक्स' अफकोर्स। उनीसँग ब्रेकअपपछि पहिलो पल्ट कुरा हुँदै थियो। हाम्रो भेट त काठमाडौंमा २-४ पल्ट नभएको हैन, कत्रो नै छ र काठमाडौं! फिल्म हेरेँ तै २-४ वटा ठाउँ। म:म खान त्यही २-४ वटा फेमस ठाउँ। तर ती जम्काभेटमा अक्वार्डनेस यति बिघ्न हुन्थ्यो कि बोल्ने, सोधपुछ गर्ने त प्रश्नै भएन।
एकचोटि बोतामा म:म खान जाँदा झुलुक्क भाथ्यो, म बोल्न खोजेको पनि हो। उनी त टाप कसिसकिछन्, म:म पनि खाइनन् क्यारे त्यो दिन त।
कहानी त्यही हो, खासै नौलो हैन। नालायक नेपाली फिल्मको जस्तो, स्कुल पढ्दा उनी मेरी गर्लफ्रेन्ड थिइन्। १५-१६ वर्षका टिनएजर्सले गर्ने प्रेम, बिहे गर्ने, जिन्दगीसँगै बिताउने सपना देख्ने। ओ हो हो! सम्झेर पनि लाज लाउनी! प्लस टु सक्दासम्म हामी सम्बन्धमै थियौं तर अत्यन्तै नाजुक भैसकेको थियो हाम्रो सम्बन्ध। ठ्याक्कै अहिलेको ऐमाले भित्र जस्तो।
पछि ब्याच्लर्स पढ्न थाल्दा नथाल्दै हाम्रो ब्रेकअप भयो, एसएमएसबाट। राम राम! भन्न नि लाज!
मलाई ती दिनहरु सम्झेर हाँसो लाग्छ। हाम्रो ब्रेकअपमा दोष अहिलेका रिस्ता र अमृतको थिएन। १५ वर्षीय अमृत र रिस्ताको थियो। अब ती १५ वर्षीय अमृत र रिस्ता नै छैनन् त दसौं वर्षसम्म त्यो अक्वार्डनेस किन चाहियो? यही महसुस भएर मलाई बोतामा भेट्या बेला रिस्तासँग बोल्न मन थियो, तर उनीमा १५ वर्षीय रिस्ताको केही अंश अझै थियो कि?
क्याफे जाने बाटोमा थोरै छेउ लागेर, २-४ वटा कुरा भो हाम्रो।
'एक्लै कि श्रीमानसँग?' मैले सोधें।
उनीले मलाई बिहेमा त पक्कै पनि बोलाइनन् , तर बिहे ४-५ वर्षअघि नै भएको कुरा मलाई साथीहरुबाट थाहा थियो।
एक्सको बिहेमा, 'म सेमिफाइनलबाट बाहिरिएको, फाइनल हेर्न आएको, एक्सको धोका एक ठाउँमा, मासु पुलाउ एक ठाउँमा' भन्ने जोक्समा मात्रै हो। बोलाएपनि को जान्थ्यो र!
'एक्लै हो, बुढा र छोरा सिड्नी पुगिसके। म काम नसकेर हप्ता दिन ढिला भो,' उनले भनिन्।
छोरा भएको चाँहि मलाई थाहा थिएन।
'भान्जा पनि भैसकेछन्, म मामा भएको थाहा थिएन' मनमनै भनेँ। प्वाक्क यो भनेको भए के हुन्थ्यो होला माहोल, सम्झेरै हाँसो उठ्यो।
'अनि तिमी कोसँग?'
'एक्लै म पनि,' मैले जवाफ फर्काएँ।
मेरो बिहेको बारेमा उसले सोधिन्। अब सोधिन् त सोधिन्! मेरो बिहे भएको थिएन खासमा त्यो बेलासम्म। उसको यादमा देवदास भएर बसेर पक्कै होइन। काम गर्दैं थिएँ, उमेर पनि गुज्रिसक्या थिएन।
'पख न त म पनि किनेर आउँछु, एकछिन गफ गरेर छुटिउँला' मैले प्रस्ताव राखें।
उसको त्यो बानी अझैं हटेको रैन्छ, 'दि रक' पारामा उसले देब्रे आँखीभौं र टाउको उचाल्थी केही इसारा दिन। आज त्यही गरी, आँखीभौं उचालेर टाउको क्याफे तिर हल्का ढल्काउँदैंँ मलाई इसारा दिई, म लुरुलुरु लागें।
कोल्ड-कफी मागेंँ, एक गिलास चिसो कफीको २५ आरएमबी! के साह्रो महंगो हो। कोल्ड कफी हातमा समातेर म रिस्ता भएको ठाउँमा आएँ।
'कति नम्बर गेटमा छ तिम्रो इन्ट्री?' मैले सोधें
'१७८' त्यही क्याफेसँगैको गेट रैछ उसको।
'तिम्रो?' उसले सोधी।
'मेरो त ५ मिनेट जति लाग्छ, ७९ सिधैँ पछाडि,' मैले जवाफ फर्काएँ।
क्याफेको २०-२५ मिटर अगाडि, रनवे तिर फर्केको दुई वटा सिट खाली रैछ, मैले देखेर हिँड त्यता बसौं न त भनें। हामी सिट तिर लाग्यौं।
हामी सिट तिर जाँदै थियौँ, मेरो हातमा कफी, उनको हातमा त्यही अघि खसेको खानाको पोका। मलाई एसएलसी दिएर बसेको बेला ब्रिजकोर्स बंक हानेर घुम्न गएको याद आयो। सँगै कति हिँडियो हिँडियो त्यो बेला, लखर लखर कसैले देखिहाल्छन् कि भन्ने लाज-डरसँगै बोकेर।
सँगैका ती दुई सिटमा हामी बस्यौं। सफा ठूलो सिसा सामुन्ने। रन्वे तिर फर्केकाले जहाज ल्यान्ड गरेको मजाले देखिन्थ्यो। चाइना साउथर्नको एउटा जहाज हामी बस्ने बित्तिकै ल्यान्ड गर्यो।
डोजर चलेको त रमाएर हेर्ने नेपाली, म जहाज हेरिरहें। रिस्ता त अष्ट्रेलियन, तर उसले पनि हेरिरही। जिन त नेपाली हो नि आखिर! नेपाली हो त हो! हामी एकछिन रनवेतिरै हेरिरह्यौं। मलाई उबेला फिल्म हेर्न गएको याद आयो, सँगै सिटमा बस्थ्यौँ, तर हामी फ्रेन्च सिनेमामा जस्तो हर्कत बढी गर्थ्यौं।
केही मिनेटको प्लेन हेराइपछि, मैले वाक्य फोरेँ, 'कति भो अष्ट्रेलिया बस्न थालेको?'
'भयो ५ वर्ष, बिहेपछि गएको।'
फेसबुक नचलाउने भएर मलाई खासै थाहा थिएन उसको जिन्दगीको हरियाली। खासै हैन, थाहै थिएन। अब थिएन त थिएन!
उसले इन्जिनियरिङ पढेकी थिई ब्याच्लर्स। त्यसपछि मलाई थाहा थिएन। एमई उतै गएर गरिछ। अहिले परिवारै अष्ट्रेलियाको योङ भन्ने ठाउँमा बस्ने त्यहाँको नगरपालिकामा काम गर्ने रे। नेपालको हुम्ला जस्तो हो रे, उसले मलाई नेपालीकरण गरी-गरी बुझाई।
बुढा पनि इन्जिनियर रे, त्यतै कता काम गर्ने। छोरा साढे तीन वर्ष भो रे, सासु आमासँग गयो रे सिड्नी। अलि बढी नै परिवारको बारे सुनाई मलाई। नढाँटीभन्दा मलाई सुन्न मन थिएन त्यति सबै। अब सुनाई त सुनाई। अनि फ्याट्ट सोधी, 'वाइफले के गर्ने?'
अब उसको त्यत्रो इन्जिनियर बुढा, छोरा, छोरा हेर्दिने सासुआमा। मैले 'ङिच्च परेर मेरो त बिहे नै भाछैन' भन्नै सकिनँ। अब छैन त छैन! भनेर भो!
'एनएमबी बैंक, बानेश्वर शाखामा काम गर्ने,' मैले ठाउँको ठाउँ बुढी बनाएँ। बानेश्वरमा एनएमबी बैंकको शाखा छ कि छैन, त्यो पनि खोल्दिएँ।
यस्तै कुराहरु भयो हाम्रो। ऊसँग अन्तिम चोटि के बोलेको, कहिले बोलेको मलाई सम्झना छैन। नाताहरुमा अचम्मको नाता हुन्छ यो, सबै सोधिहाल्न नि नमिल्ने, मनमा लागेको भनिहाल्न नि नमिल्ने पुरानो चिनजान भएपनि। धेरै पहिले बोतामा भेट्दा किन नबोलेको सोध्न मन थियो, सोधिनँ फेरि। यति भनें, 'अब भने काठमाडौंमा भेट्दा भागा-भाग नहुने भो।'
हामी दुवै हाँस्यौं।
जे होस् त्यो 'अक्वार्डनेस' अब रहेन हामीबीच। साथी नै त नभनौं, सामान्य चिनजानको भयौं हामी। मलाई त्यहाँभन्दा बढी चाहिएको पनि थिएन। धेरै भेट भैहाले पनि के भन्नी, उसले छोरालाई मतिर देखाउँदै 'मामालाई नमस्ते भन' भन्ली। म नमस्ते बाबु भन्नु? वाहियात!
त्यो प्रकारको नाताको नियती नै यति हो सायद, 'अक्वार्डनेस' नहुनु सफल नाता। मलाई सन्तोष महसुस भो।
'ल त छुट्टिउँ,' उसले नै बिदा मागी।
मैले 'हुन्छ' भनेँ।
म ७९ नम्बर गेटसम्म जाँदा कामना गर्दै गएँ, फेरि आर्की नातावालीसँग कहिले भेट होला र सन्तोष पाइएला। काम धेरै नै बाँकी छ।