प्राचीन स्वच्छ सभ्यता काखमा छ हिमालको
बामे सरेर छोएको माटो हो यो निधारको।
यहीँको पञ्चतत्त्वले अस्तित्वमा छ जीवन
चन्दन ठान्छु माटो यो, पियारो छ यही धन।
सञ्जीवनी बुटी अग्लो लेकमा झुल्छ फर्फर
औषधिजन्य वायुले सुगन्ध छर्छ हर्हर।
ज्ञानको तृतीय नेत्र शिव र बुद्ध खोल्दछन्
नवदुर्गा मिली यहीँ शक्ति सञ्चार गर्दछन्।
डाँफे नाच्ने ती लेकमा रसिक मन भुल्दछन्
गुराँस बोट मुन्तिर मृगका नृत्य खुल्दछन्।
जब पढ्दछु माटाको गाथा हिम्मत जाग्दछ
दायित्व चेतले मेरो आलस्य पर भाग्दछ।
टेकी हिमाल शान्तिको सन्देश म सुनाउँछु
विश्वबाट प्रतिष्ठाको उच्च सद्भाव पाउँछु।
द्यौडा र देउसीमा नाच्छु, साथीसँग रमाउँछु
बाजाका तालमा आफ्नै जातीय गीत गाउँछु।
संस्कृति जातजातिका माटाका बीच फुल्दछन्
पवित्र श्रमका थोपा माटाका साथ घुल्दछन्।
सत्य, निष्ठा र कर्मले समृद्धि म बढाउँछु
सुखको सपनालाई माटामा म सजाउँछु।