हिउँदे मासको कुलोबाट सानीले एक ठेकी पानी ल्याई। 'त्यो ताउलाको कुँडो पुड्केलाई दे,' गोठको पल्लो छेउको आवाज उसको कानमा ठोक्कियो।
उसले चुपचाप आधा ताउलो बल्लबल्ल उचाली। चिसो भुइँमा ठिहिरिएका आफ्ना खुट्टा जसोतसो हिँडाली। गोठको पल्लो छेउमा पुगी जहाँ अरु वस्तुसँगै पुड्के बाँधिएको थियो।
ऊ पुड्केको नजिकै स्वाँस्वाँ गर्दै पुगी। बल्लतल्ल उचालेको ताउलो भुइँमा थचक्क राखी। पुड्केका ठूला आँखाले ताउलोपट्टि हेरे। पुड्केले टाउको हल्लायो।
सानीले आधाभरा कुँडो पुड्केको मुख मुन्तिर राखिदिई। त्यो पनि बल्लतल्ल। सानीले पुर्लुक्क पुड्केलाई हेरी। पुड्केले आफ्नो मुख कुँडोको पिँदमा पुर्यायो। पलभरमै उसले आफ्नो मुख ताउलोबाट झिक्यो। उसले नजिकै उभिएकी सानीको जामामा लपक्क चाट्यो।
सानीले एकफेर पुर्लुक्क आफ्नो जामातिर हेरी। पुड्केले आफ्नो जामामा कुँडोको बाक्लो लेदो लगाइदियो। आफ्नो जामा फोहोर भएको देखेर सानीले दिक्क मानी।
'ए सानी! पुड्केको गोबर पनि फाल्' फेरि उसको कानमा चर्को आवाज आयो।
उसले आफ्ना चिसा हातले पुड्केको गोबर मलखादतिर हुर्याई। अँजुलीमा गोबर समात्दा उसलाई औधी चिसो भयो। उसका हातका औंला झनै ठिहिराए। पुड्केको गोबरले उसका हातका औंला कठाङ्ग्रिए। सानीले आफ्नो हात परालको सोत्तरमा पुछ्दै थिई। पुड्केले गोब्रायो।
'जा जा! ताततातो गोबर फाल' फेरि आवाज उसको कानमा ठोक्कियो। सानीले गोबर समाती। पुड्केको तातो गोबरले सानीका कठाङ्ग्रिएका हात ताता भए। उसले कुन्यूबाट एक अँगालो पराल बल्लतल्ल थुती।
ऊ निकै सानी भएकोले आफैंले थुतेको परालले उसलाई पुर्यो। उसले अँगालाभरि पराल बोकी त्यो पनि तीन/चार पटक गरेर। उसले त्यो पराल पुड्केको टाट्नामा हाली।
कलिला घाम टाठा हुँदै थिए। गाउँका एक हुल केटाहरु विद्यालय पोशाक लगाए। झोलामा किताब हाले। झोला भिरेर पश्चिमतिर लागे। विद्यालय जान लागेका गाउँका एक हुल केटाका माझमा सानीका दाइ पनि थिए।
सानीले आफ्ना दाइसँग हिंडेका एक हुल केटापट्टि आँखा डुलाई। उसले पुर्लुक्क आफ्ना दाइलाई हेरी। दाइलाई देखेर उसका आँखा र मनले केही प्रतिक्रिया जनाएन। दाइ स्कुल जान पाउँछन्। ऊ पुड्के हेर्न जान पाउँछे। गाउँका सबै केटीहरु खोला बगरमा वस्तु हेर्न जान पाउँछन्। ऊ पनि त्यही जान पाई जहाँ अरु केटीहरु जान पाउँछन्। उसले आकाशको घामतिर हेरी।
घाम छिप्पिँदै थियो। बथान छुट्यो भने पुड्के कुद्छ। पुड्केसँगै आफू दगुर्न नसकेको सम्झी। हिजो मात्रै बथान छुटेर पुड्के कुदेर आफू रोएको सम्झी। त्यो सम्झाइले उसको मन खिन्न भयो।
ला! बथान कहाँ पुगे होला! उसले झट्ट सम्झी। आज पनि छुट्ने भयो।
'आमा भात लेऊ,' उसले चर्को स्वरमा आमासँग भात मागी। आमाले भात र तिउन एउटै थालमा हालिन् र सानीलाई दिइन्।
दाहिने हातले भातको थाल र देब्रे हातले मोहीको कचौरा लिँदै ऊ बाहिर निस्की। थालको भात र तिउनसँग उसले छिटोछिटो गाँस टिपी। एक बोटुको मोही तन्न पिई। ऊ आँगनको डिलमा उभ्भिई। उसका आँखाले पुड्के हेरे। पुड्केका आँखाले उसलाई हेरे।
'भरे छिट्टै आएस् है सानी! एक बिटो झिँजा लिएर,' आमाले भनिन्, 'अरु बिर्से नि, झिँजा नबिर्सेस् नि!' भन्दै आमाले पुड्केको दाम्लो फुकाइदिइन्। सानीले हुन्छको इसारामा टाउको हल्लाई।
चौताराको अलि मुन्तिर पुगेपछि पुड्के बिछ्ट्टसँग दौडिन थाल्यो। सानी उसको पछिपछि दौडिई। यस्तो लाग्थ्यो! पुड्के र सानीबीच दौडको प्रतियोगिता चलिरहेको छ। पुड्के अघिअघि सानी पछिपछि।
दौडिँदादौडिँदै सानीका हातखुट्टा शिथिल भए। तैपनि उसले पुड्केसँगै दौडिने प्रयास गरी। उसको जीउ सिथिल भयो। हातखुट्टा काँपे। ऊ थरर्र भई र थचक्क भुइँमा बसी। वनको माझको त्यो निख्लोट पल्टिरहेको साँघुरो बाटोमा सानीले स्वाँस्वाँ गर्दै सुस्केरा तानी र फाली।
पुड्के उसको आँखाबाट ओझेल परिसकेको थियो। पुड्के बिना न त ऊ घर फर्किन सक्थी। न त बथान भेट्न नै सक्थी। सानी ह्वा, ह्वाँ गरेर रोई। त्यो आवाज पहरामा ठोक्किएर सानीतिरै फिर्ता भयो। सानीको रुवाइ कसैले पनि सुनेन! केवल पुड्के बाहेक।
सानीको रुवाइले पुड्के उसको नजिकै आयो। सानीले रुँदै भनी 'पुड्के! तिमी किन यति छिटो दगुरेको? म तिमीजति दगुर्न सक्दिनँ।'
पुड्केले आफ्ना लामा कान हल्लायो। अब पुड्के र सानीले सँगै पाइला चाले। पुड्के अघिअघि सानी पछिपछि। पुड्केले सुँघ्दैसुँघ्दै आफ्नो बथान पहिल्यायो। सानीले आफ्ना गोठाला दिदीहरु भेट्टाई।
हिउँदे तुसारोले बोटविरुवाहरु ढाक्दै थिए। सानीले पुटिलकोसा टिपेर खाँदै थिई। पुटिलकोसाको झ्याङ्गकमा भएको चिसोले उसका हातका औंला चिस्याउँथ्यो र ठिहिर्याउँथ्यो। तैपनि उसले पुटिल कोसा टिप्नु र खानु पर्दथ्यो। किनकि उसको खाजा त्यहीं पुटिलकोसा थियो। चिसोले उसका हात अझै ठिहिर्याउँदै थिए।
सानीले पुड्के गहुँबारी चर्न लागेको देखी। ऊ दौडिँदै गई र पुड्केलाई धपाउन खोजी। 'हाम्रा गोरु पनि धपाइ दे!' टाढाबाट आएको चर्को आवाज उसका कानमा ठोक्कियो। सानीले सबैका गोरु धपाउन खोजी। गहुँमा चरिरहेका पुड्के बाहेक अरु धपिएनन्।
पुड्केले मात्रै सानीले भनेको सुन्दथ्यो र मान्दथ्यो। अरु गाईवस्तुहरूले सानीले भनेको टेरपुच्छर लगाएनन्। पुड्केले 'उता जा पुड्के!' भने पनि मान्थ्यो। 'यता आ!' भने पनि मान्थ्यो। सानी रुन्थी, पुड्के फर्कन्थ्यो।
अरु गाईवस्तुहरुले सानीका कुरा पनि बुझ्दैनथे। तिनलाई ठूला लठ्ठीले पिट्नु पर्दथ्यो। तर सानी त्यसो गर्न सक्दैनथी। किनकि ऊ निकै सानी थिई। त्यो दिन पनि त्यस्तै भयो। अरु वस्तु धपिएनन्। पुड्के मात्र धपियो। सबैले सानीलाई गाली गरे। सानीको मन खिन्न भयो।
हिउँद मासको एक दिन आकाशको घाम ढाक्यो। त्यो कालो बादलले। दिन निकै चिसो बन्दै गइरह्यो। एक्कासी कसैले उसलाई भन्यो हेर त सानी! ऊ तेरो पुड्के जुधिरहेको छ।
सानी अत्तालिँदै पुड्केको नजिकै गई। पुड्केको जोडका तोड अर्को गोरुसँग जुधिरहेको थियो। सानीले ती दुवैलाई छुट्याउन बगरको धुलो माटो टिपेर उतैतिर हुर्याई जहाँ ती जुधिरहेका थिए। तर त्यो धुलो पुड्केसम्म पुगेन। पुड्के र अर्को गोरु जोडकातोड जुध्दै थिए। अरु साथीहरुले परबाट हेरिरहेका थिए।
गोठालाहरुलाई खुब रमाइलो मानिरहेका थिए गोरुको जुधाइमा। त्यसमध्येको एउटाले भन्यो 'सानी जा जा!' अर्कीले भनी 'गोरु जुधेको ठाउँमा जान हुन्न। तँलाई किच्ला। अनि बल्ल थाह पाउलिस्।'
सानीका आँखा पुड्केको सिङमा परे। त्यति बेलासम्म पुड्केको सिङ भाँच्चिएर भलभली रगत बगिरहेको थियो। त्यो देखेर सानी अत्तालिँदै रुन थाली, ह्वाँ ह्वाँ! पुड्केको नजिकै जान खोजी। परबाट एउटीले चिच्याई- 'सानी नजा! सानी नजा!'
सानीका वरिपरि यी नै आवाज गुन्जिरहेका थिए। तर उसले मानिन। ऊ रुँदै पुड्केको नजिकै गई। बेस्सरी रुन थाली र भनी 'पुड्के! पुड्के!' सानीको रोएको आवाज सुनेर पुड्के सानीको नजिक आयो।
'किन जुधेको पुड्के! तिम्रो सिङबाट धेरै रगत बगेको छ। तिम्रो रगत बगेको देखेपछि मेरो आँसु बग्छ!' सानीले पुड्केको सिङ हेरी र रुँदै भनी। पुड्केले टाउको हल्लायो! उसको सिङबाट रगतका थोपा थोपा भुइँमा खसे।
निकै समय बित्दा पनि दिनै गएन। सानीलाई यस्तै लाग्यो। पुड्केको सिङबाट रगत बगिरह्यो। सानीका आँखाबाट आँसु बगिरहे। गोठालाहरुले सानीलाई गिज्जाए। 'बल्ल खाइस् सानी! ठिक्क पर्योग सानी! किन हाम्रा गोरु धपाइदिन्नथिस्।'
सानीलाई त्यो रुखो बोली नमिठो लाग्यो। ऊ आँखाभरि आँसु र मनभरि निराश पार्दै अर्कैतिर फर्की।
बल्लतल्ल परेको साँझमा सानी र पुड्के दुवै बथानसँग उकालो बाटो लागे। बाटोमा पुड्के अघिअघि र सानी पछिपछि हिँडे। बाटोभरि पुड्केको सिङबाट रगतको चुहिँदै गयो। सानीका आँखाबाट आँसु चुहिँदै रहे। बल्लतल्ल आइपुगेको आँगनमा सानीले आमा देखी। सानीले हकानिँदै आमालाई भनी, 'आमा, पुड्केलाई दुख्यो।'
'के भएर?' आमाले सोधिन्।
'सिङबाट रगत आएर।'
आमाले पुड्केको सिङमा बेसार र तोरीको तेल लगाइदिइन्। अब हप्ता/दस दिनसम्म पुड्के गोठमा र सानी घरमा बसे।
त्यो वर्षको हिउँद सकियो। ग्रीष्म ऋतु आयो र गयो। वर्षायाम सुरु भयो। वर्षादले जमिनको माटो थिलोफिलो पार्यो। प्यासा रहेका रुखविरुवाले पानीको स्पर्श पाए। सानी र गाउँका अरु गोठालाहरु त्यसरी नै गाईवस्तुहरु लिएर खोला छेउछाउमा गए।
वर्षाको भेलले जाँदा नबढेको लमई खोलो फर्किँदा यमानको हुन्थ्यो। अरु गोठालाहरु सानीभन्दा ठूला भएकाले आफैँ खोलो तर्थे। सानी साह्रै सानी भएकोले आफै खोलो तर्न सक्दैन थिई। उसलाई अरुको सहारा चाहिन्थ्यो। सानीलाई गोठाला गएका दिदीहरुले अह्राउँथे। 'हेर सानी खोलो बढेको छ' तेरै पुड्केको पुच्छर समातेर तर्।'
सानीले अँध्यारो अनुहारमा नमिठा छिर्का पार्थी। उनीहरुतर्फ हेर्दथी र पुड्केलाई सम्झिन्थी। चर्को स्वरमा 'पुड्के! ए पुड्के!' भनेर चिच्याउँथी। पुड्के सानीको आवाजसँगै नजिक आउँथ्यो र उसका ठूला आँखाले सानीको अनुहारमा हेर्दथ्यो।
सानी उर्लेको भेल देखेर अत्तालिई। सानी अत्तालिएको देखेर पुड्के निस्तब्ध भयो! उसका ठूला आँखाले सानीलाई हेर्यो। ती चारैवटा आँखाले एक अर्कासमक्ष कुनै प्रतिक्रिया जनाएनन्। उसले विस्तारै भनी 'हिँड पुड्के, खोला तरम्! सबै खोला तरिसके। अब हाम्रो पालो। म तिम्रो पुच्छर समाउँछु।'
पुड्के टक्क उभ्भियो। सानीले पुच्छर चपक्क समाई। पुड्केले दह्रो खुट्टा पार्दै भेल कम भएतिर गयो। सानी तुन्दुङ् झुन्डिई। पारि खोला तरिसकेका गोठालाहरुले मन लगाएर हेरे। सानी र पुड्केलाई हेर्न उनीहरुले ठूला आँखा पारे। आँखा तन्काएर हेरे। मानौं उनीहरुले जात्रा हेरेका हुन्!
पुड्केले सानीलाई खोलो तार्यो। सानीको घाँटीसम्म पानीले भिज्यो। उसको जीउ चिसो भयो। ऊ जाडोले थर्र काँपी। कसैसित भन्नुको औचित्य खिसौलेपन थियो। ऊ खिसौलेपनको शिकार हुन चाँहदैन थिई। त्यसैले ऊ चुपचाप भई।
त्यस वर्षको वर्षा याममा सानीले यसरी नै खोलो तरी। वर्षा याम सकियो। घर आँगनको वरपर मखमली र सयपत्री फूलहरु फूले। ती फूलिरहेका फूलहरुसँगै चाडपर्वहरु भित्रिए। चाडपर्व आए र गएसँगै फेरि अर्को हिउँद आयो। त्यो हिउँदमा पनि सानीका हात खुट्टा ठिहिराए।
खुट्टामा चप्पल नहुनाले अझै हातभन्दा खुट्टा बढी ठिहिराए। ऊ अत्यन्त सानी भएकोले वर्षा, ग्रीष्म, शरद ऋतु थाहा नभए पनि चिसो याम भने उसका ठिहिराएका हात खुट्टाले सन्देश दिन्थे। त्यसैले चिसो भएको थाहा पाउँथी।
सबैभन्दा बढी चिसोको चाल पाउने उसका खुट्टा थिए। त्यो हिउँद पनि त्यसै खेर जान दिएन पुड्केले। पुड्क फेरि अर्को सिङ पनि भाँच्ने तरखरमा लाग्यो। दिनहुँ जसो दौतरीहरुसँग जोरी खोज्यो। दिनहुँ जसो जुध्न थाल्यो। सानी पुड्के जुधेको देखेर दिनहुँ रुन थाली। जुध्दै गरेको पुड्के सानीको नजिकै उपस्थित भयो! पुड्के आफ्नो नजिकै आउँदा सानी खुसी भई।
हिउँदको न्यानो घाममा गाईवस्तु चरिरहेका हुन्थे। गोठालाहरुले गौँथली र ढुकुरका गुँडहरु खोज्थे। तिनीहरुका चल्लाहरु झिक्थे र आगोमा पोलेर खान्थे। त्यो दिन पनि त्यस्तै केही भयो। उनीहरुले ढुकुरका चल्लाहरु आगोमा पोले। सानीलाई दिए। सानीले खान मानिन।
त्यहाँ मध्येको ठूलो केटोले सानीको मुखमा कोचाइदिन खोज्यो। सानीले आफ्नो अँजुलीले मुख छोपी। तीन/चार जना केटाकेटी जम्मा भए। सानीको अँजुली ताने। त्यस मध्येको एउटा केटोले उसको मुखमा एक टुक्रो मासु कोच्यायो, जुन उनीहरुले गौँथली र ढुकुरको चल्लाको पोलेका थिए।
सानीले मासुभन्दा पनि गौँथली र ढुकुरका साना चल्ला सम्झी। उसलाई ती चल्लाको औधी माया लाग्यो। जुन पोलिइसकेका थिए। आफ्नो मुखमा परेको मासु थुथु गरी। सानी गाईको बथान भएतिर कुदी। कुद्दै गर्दा कसैले उसको पछाडि गोबरको थाप्रोले हिर्कायो। सानीलाई गोबरले हिर्काएकोमा भन्दा आफ्नो जामामा गोबर टाँसिएकोले पिर पर्यो।
सबै गोठालाहरुले सानीलाई गिज्जाए। 'बाउनी बजै! बाउनी बजै!' सानी गाईवस्तुको बथानमा पुगी। जहाँ पुड्के थियो। टाढाबाट आवाज आइरह्यो। 'पख् तलाई! अब हाम्रो समूहमा मिसाउँदैनौं के तँलाई। अनि बल्ल खालिस्!'
सानीलाई त्यो रुखो आवाज तीतो लाग्यो निमको पातजस्तै। 'नमिसाए नमिसायो, पुड्के छँदै छ नि' सानीले च्याठ्ठिँदै भनी। तर उसको आवाज कसैले सुन्न भ्याएनन्। किनकि ऊ गोठालाहरुभन्दा निकै पर पुगिसकेकी थिई जहाँ गाईवस्तुहरु थिए। उसलाई आफ्नोजस्तो पुड्के मात्र लाग्यो। अरु सबै गिज्याउने र झिज्याउने उसको मनले ठान्यो।
हरेक साता शनाबार आउँथे र जान्थे। ती शनिबारको मतलब लेखाजोखा पनि हुँदैन थियो। तर त्यस दिनको शनिबारले ठूलो चोट दियो सानीलाई। लमई खोलामा गाउँभरिका केटाकेटीहरूले नुहाइरहेका थिए। सानी खोलाको छेउमै उभ्भिएर ती नुहाइरहेका दाइ दिदीहरुलाई एक टकले हेरिरहेकी थिई। झ्याप्प उसलाई कसैले पछाडिबाट समात्यो।
ए! भन्दा नभन्दै ऊ दहको भूमरीमा परी। भूमरीको पीँधमा पुगेर उसको टाउकोले बालुवामा स्पर्श गर्यो। उसले थोरै अनुभव गरी। उसको शरीर एक सेकेन्डमै माथि आयो। त्यसै बखत सानीलाई कसैले झ्याप्प बाहिर झिक्यो। सानी अतालिदै थिई। ऊ रुन पनि सकिरहेकी थिइन र हाँस्न पनि।
गाउँभरिकै एक हुल केटाकेटी उसको नजिकै धुरिए। आफूलाई कसले खोलामा दहको भूमरीमा हुत्यायो। उसले पत्तै पाइन। एउटा दाइले भने 'मैले फ्याल्दिएको सानी तलाई, भूमरी कस्तो लाग्यो?' ऊ खोलाको छेउमै बसेर रुन थाली।
'अहिले सानी मरेको भए' एउटीले भनी।
'विचार गर्न फालेको हुम्, माथि आउँदा झिक्छु भनेर' ती दाइले सही ठोके। हिउँदेमा लमई खोलो अत्यन्त सानो थियो। तर भूमरी भने गहिरो थियो। सानी इन्तु न चिन्तु भई। धेरै बेरसम्म सबै केटाकेटीले सानीलाई धुरिएर हेरे। सानीलाई सबैसँग रिस उठ्यो। ऊ रोई मात्र।
सानीका आँखाले पुड्के चिहाए। उसले आफू निथ्रुक्क भिजेको शरीर र बालुवा मिस्सिएको परेली उघारेर पुड्केलाई हेर्न खोजी। तर पुड्के र बथान कतै देखा परेनन्। सानी नबोलीकन गाईवस्तु भएतिर गई। आफ्नो जीउ उसलाई अत्यन्त चिसो लागिरहेको थियो। हात र खुट्टा थर्र काँपिरहेका थिए। उसलाई निकै जाडो भइरहेको थियो। त्यहाँ कसैसँग केही भने गिज्जाउने तर्खरमा हुन्थे।
सानीलाई कसैले कसैलाई गिज्जाएको मनपर्ने थिएन। त्यसैले ऊ चुपचाप भई। गोठालाहरु सबैले सबैलाई गिज्जाउँथे। हाँस्थे र त्यसैमा खुसी हुन्थे तर सानी! त्यसो गर्न सक्दैन थिई। उनीहरूले किन त्यसो गर्थे? सानीलाई बुझ्न मन थियो। तर बुझ्न सक्दैन थिई।
आफूले कसैलाई गिजाएर हाँस्न नसकेकोमा ऊ खिन्न भई। अरुभन्दा आफू बेग्ल्यै भएकोमा दिक्क मानी। त्यो दिन पनि ऊ गोठाला छोडेर गाईवस्तुको नजिकै गई। बथानमा पुड्के खोजी।
सानीका आँखाले अचानक पुड्केलाई देखे। ऊ पुड्केको नजिकै गई। पुड्केको सिङबाट रगत बगेको देखेर ऊ अत्तालिई। सानी अत्तालिएको कुनैमा सहानुभूति थिएन। सानी रुँदा र अत्तालिँदा गोठालाहरुलाई उत्तिकै मजा लाग्दथ्यो।
त्यसदिन पनि त्यस्तै भएको थियो। उनीहरु सबै हाँसे। रमाइलो माने। उनीहरुको खुसी सानी आत्तिनुमा थियो। जत्तिको मजा सानीलाई भूमरीमा फाल्दा मानेका थिए। त्यतिको मजा पुड्केको सिङ भाँच्चिदा माने। त्यस दिन पनि सानी धेरै रोई। उनीहरु हाँसे। बेलुका घर फर्किंदा पुड्के सिङबाट रगत बगाउँदै हिड्यो। सानी आँखाबाट आँसु बगाउँदै हिँडी।
गोठालाहरुले सानी रोइरहेको हेरे। एउटीले प्याच्च भनी! 'त्यस्तो जाबो गोरुको सिङ भाच्चिँदा पनि रुनुपर्छ! कस्ता आँसु? कुन्नी तिम्रा जे गरे नि आउने! पशुको पनि के साह्रो माया गर्छेऊ तिम्ले?'
'हामीले माया गरेर तिम्लाई के भयो! तिमी हाँस न, हामी रोए नि' सानीले जवाफ फर्काई।
सानी घरमा आइपुग्दा झमक्क साँझ परेको थियो। सानीले सँधैजसो झिँजा बटुलेर ल्याउँथिई। त्यसदिन झिँजा नल्याएको देखेर आमाले सोधिन्- 'किन झिँजा नल्याएकी सानी?'
'आमा पुड्केको सिङ छैन। फेरि भाँच्यो। म पनि भूमरीमा परेँ।'
'किन भूमरीमा पसिस्?' आमाले चर्केर सोधिन्। आमा फेरि आफ्नै काममा व्यस्त भइन्। आमाले दोहोर्याएर सोधिनन्। सानीले पनि दोहोर्याएर भनिन्।
सानीले मनमनै भनी, आमालाई भनेर के हुन्छ! फेरि भोलि तिनैसँगै गोरु हेर्न जानुछ! जहाँ दिनहुँ जानुछ! तिनकै कुरा के लाउनु छ! पुड्केको सिङ भाच्चियो आमा। अब कहिले पलाउँछ? 'छिट्टै पलाउँछ' आमाले सम्झाइन्।
आमाले पुड्केको सिङमा तोरीको तेल र बेसार लगाएर कपडा बाँधी दिइन्। पुड्के र सानी फेरि एक साता घरमै बसे। बेलाबखतमा सानीका आँखाले पुड्के र पुड्केका आँखाले सानी हेरे। पुड्के र सानीलाई दुःख दिने त्यहाँ अरु कोही थिएनन्। सानी ढुक्कले बसी।
त्यस गाउँमा सबै घरमा एउटा एउटा गोरु पाल्ने चलन थियो। दुईटा घरका एकएक गोरु जोडेर हल बनाउँथे। अनि खेत जोत्ने गर्दथे। त्यस्तो चलनलाई परेली भनिन्थ्यो। परेली लगाएका दुई गोरुमध्ये एउटा बिरामी भयो भने बिरामी परेकोलाई ठिक नहुन्जेल कुर्ने चलन थियो। पुड्के त्यसकै लागि नै पालिएको थियो परेली लगाउन।
अर्को वर्षको वर्षायाममा सानीले खोला तर्दा समातेको पुच्छर खिइएर मसिनो हुँदै गयो। एकदिन खिइएर मसिनो भएको पुड्केको पुच्छर चुँडियो। सानीले सोची, पुड्केको पुच्छर पनि चुँडियो। दुवै सिङ पनि भाँचिए। पुड्केलाई कत्ति गाह्रो भयो होला! आफू बोल्न सक्ने। पुड्के बोल्न नसक्ने! सम्झेर सानीको मुटु भतभत पोल्यो। ऊ निकै दुःखी भई। पुर्लुक्क पुड्केलाई हेरी र चुपचाप बसी।
समय बित्दै गयो। सानी ठूली हुँदै गई। उसलाई स्कुल जान मन लाग्यो। तर त्यो गाउँमा केटी स्कुल जाने चलन थिएन। अर्को हिउँद लमई खोलाको छेउमा उभिएर उसले निकै बेर सोची। चलन नभएको कुरा कसरी हुन्छ! चलन कसले बनाउँछ? जिबा उसले जिबा सम्झी। ती जिबाले चलन बनाउँछन्। जिबाले भनेको गाउँका सबैले मान्छन्।
ऊ एकाबिहानै जिबाकोमा गई।
'ए सानी किन आइस्?'
'जिबा म स्कुल जान्छु,' उसले रूँदै भनि।
'ए, तँ पढ्छेस्! तेरी आमालाई भनेर तलाई स्कुलमा भर्ना गर्दिउँला!'
सानी मख्ख पर्दै घर फर्की। उसले आमासित स्कुल जाने कुरा जाहेर गरी।
'तेरो दाइ स्कुल जान्छ। घरको काम कसले गर्छ! पुड्के कसले हेर्छ! छोरी मुन्छेले पढेर के हुन्छ! जान पर्दैन सानी स्कुल! छोरी मुन्छे भनेको अर्काको घर जाने जात हो। पढेर के हुन्छ!'
'जेसुकै होस् म त स्कुल जान्छु,' उसले रूँदै भनि।
एक साँझ चरनबाट फर्किदा सानीले पुड्केलाई भनी, 'पुड्के, म स्कुल जान्छु! जसरी पनि जान्छु। तिमी गोठमै बसे। तिमीलाई पुग्ने घाँस म बिहान बेलुका काट्छु।'
पुड्केले टाउको हल्लायो. सानीको मैलो र थोत्रो जामामा लपक्क चाट्यो।
त्यही वर्षको शरदमा सानी स्कुल गई। जिबा र दाइको करले आमाले सानीलाई स्कुल पठाइन्। पुड्के गोठमा बाँधिन थाल्यो। सानी स्कुलबाट फर्केपछि गोठमा जान्थी। स्कुले ड्रेस जामा लगाएकी सानीलाई हेर्दथ्यो र पुड्के जुरुक्क उठ्यो। पुर्लुक्क सानीतिर आफ्ना ठूला आँखा डुलाउथ्यो। सानी पुड्केको नजिकै जान्थी। उसले सानीको जामा लपक्क चाट्थ्यो र र्याल लगाइदिन्थ्यो।
तीन वर्षसम्म यही रीत चल्यो। सानी कक्षाकी प्रथम हुँदै गई। ऊ स्कुलबाट फर्किन्थी। पुड्के खेतबारी जोतेर फर्किन्थ्यो। साँझपखमात्र पुड्के गोठमा आउँथ्यो। पुड्केले आफ्नो थकित जीउ थचक्क थचार्दथ्यो। पुड्केको थकित अवस्थाले सानीलाई टिठ लाग्दथ्यो।
त्यो टिठ लाग्नुको कुनै अर्थ थिएन। पुड्केले खेतबारी नजोत्नुको कुनै विकल्प थिएन। पुड्के थाकेर आयो। दिनभरि भोकै पर्यो। दिनभरि हलीले पुड्के पिट्यो। यस्तै धेरै कुरा सोचेर सानीका आँखा रसिन्थे। मन भरिन्थ्यो। ऊ किन गोरु भएर जन्म्यो! सानी सोच्दथी। ऊ गोठमा जान्थी। सानीलाई देखेर पुड्के जुरुक्क उठ्थ्यो। लपक्क सानीको जामा चाट्थ्यो।
एक दिन सानीका परिवार बसाई सरेर टाढा जाने भए। सानीले हेर्दाहेर्दै घरका सबै सामान सानीबाट टाढा हुँदै गए। पुड्केलाई पल्लो गाउँमा पठाउने निधो भयो। त्यो रातभरि सानी निदाउन सकिन। पटक-पटक उठेर गोठमा गई। पुड्के हेरी र फर्की। यसै रीतले रात कट्यो।
भोलिपल्ट बिहानै सानीका मामाघरका जिबा पुड्के लिन आए। सानीकी आमाले पुड्के फुकाइदिइन्। उनले पुड्केलाई डोर्याउँदै आँगनको डिलमा पुर्याए। पुड्केले आफू बसेको गोठ र गोठका अरु साथी हेर्यो। गोठ वरपरका सबै तिर आफ्ना ठूला आँखा डुलायो।
आडैमा उभिएकी सानीलाई पुर्लुक्क हेर्यो। सानीका आँखाबाट भलभली आँसु बगिरहेका थिए। सानीका आँखा आँसुले छेके। चारै दिशा कालै देखियो। आँसुहरुको माझमा उसले कालो पुड्के आँगनको डिल पार गरेको देखी। सानी दौडिँदै नजिकै गई। त्यसबेला पुड्केले सानीको जामा चाटेन।
ऊ थचक्क आँगनीको डिलमा बसी। धुरुधुरु रुन थाली। यतिन्जेलसम्म पुड्केलाई आँगनीको डिलबाट बारीको पाटामा पुर्याइएको थियो। त्यसकै भोलिपल्ट सानी र उसको परिवार सूर्योदयभन्दा पहिला त्यो ठाउँ छोडेर बाहिरिए।
त्यो प्रवास गमन सदाका लागि थियो। सानीलाई बाटैभरि पुड्केको याद आयो। उसले पुड्के सम्झी। तुरुक्क आँसु झारी। त्यो दिन मात्र हैन, कयौं दिन झारी। पुड्केलाई लठ्ठीले पिट्छन् कि। कुँडो पराल नदिएर भोकै पो राख्छन् कि! सानीको मनमा पुड्केका बारेमा धेरै कुरा खेले। पुड्केसँग बिताएका पलहरु यादमा आए। कसैलाई थाहा नदिई सुटुक्क रोई।
सानी विदेशिएको तीन महिनापछि बिरानो ठाउँमा गाउँबाट एउटा चिठी आयो। त्यो चिठी सानीको जिबाको थियो। त्यसमा लेखिएको थियो- 'त्यहाँबाट हिँडाएको दिनदेखि पुड्केले एक त्यान्द्रो घाँस र पानीको एक घुट्को खाएन। तीन पटकसम्म फर्केर त्यहीं ठाउँमा गयो। जहाँ ऊ पहिले दिनहुँ चर्दथ्यो। त्यही खोलोको वरपर।
हामीले साँझपख खोजेर ल्याउनु पर्दथ्यो। तीन पटक समातेर ल्यायौँ। खोज्न हैरान भयो। त्यसैले गोठमै बाँध्यौं। एक रात दाम्लो चुडालेर भाग्यो। त्यसपछि तीन दिनसम्म आएन। हामी खोज्न गयौं। पुड्के तपाईंहरुकै गोठको छेवैमा लडेको भेटियो। त्यो पनि मृत अवस्थामा।'
चिठी पढेर सानी धेरै रोई। पुड्केको याद मुटुभरि समाली। अतीतको पुड्केको साथ सम्झेर भक्कानिई। पुड्के सानीको आँखाभरि संगालियो। अतीत अतीत नै हुने र फर्केर नआउने कुरा बुझ्ने भइसकेकी थिई सानी।