रातको १ बजिसक्यो, निद्रा पटक्कै लागेन। भित्तामा झुन्डिएको घडीको सुईको टिकटिक आवाज मनको गहिराइसम्म कसैको यादको बहावसँगै मनमा आफ्नै गतिमा घुमिरहेको थियो।
घडीले उसको याद दिलाउँथ्यो त उसको यादले घडी सम्झाउँथ्यो। उसले अन्तिमपल्ट जानेबेला भनेकी थिई, 'मेरो तर्फबाट तिमीलाई यो चिनो सम्हालेर राख है!'
उसैले भनेअनुसार कोठाको पूर्वपट्टिको भित्तामा सजाएर राखेको थिएँ। मध्यरातमा उसको याद यसरी आएको थियो कि भित्तामा झुन्डिएको घडीमा उसको अनुहार झल्किरहेको जस्तो लागेको थियो।
सुनसान मध्यरातमा कसैको यादले ऐँठन हुदाँ साह्रै पीडा हुँदोरहेछ। घरी दायाँ फर्कन्छु, घरी बायाँ फर्कन्छु तर पनि निद्रा भन्ने फिटिक्कै पर्दैन। झन् उसका यादहरुको बाढीले मनका भावनाहरुलाई छताछुल्ल बनाइरहेको थियो।
मन यति भ्रमित भएको थियो कि, कोठामा रहेका हरेक चिजमा उसको अनुहार झल्केजस्तो लागिरहेको थियो। उसका हरेक क्रियाकलापले मेरा आँखामा डेरा जमाएर बसेका थिए, नजमाउन् पनि कसरी, मैले उसको लागि मेरा सबै कुर स्वतन्त्र छोडिदिएको थिएँ।
साह्रै अत्यास लाग्यो। मनमा अनेकौं कुराहरु खेल्न थाले, हडबडाउन थाल्यो, छट्पटी झन् बढ्न थाल्यो। अनि जुरुक्क उठेँ र भान्साकोठामा गई एक कप दूध तताएर ल्याएँ। त्यसमा चिनी र कफी मिलाएर खान थालेँ।
उसले पनि खुब कफी मन पराउँथी तर मैले चिया मन पराउँथेँ। उसैको आदतले मलाई पनि कफी खान सिकायो अनि आज मध्यरातमा त्यही कफीले उसको आदत मेटाउने कोसिस गर्दै छु। उसले अन्तिमपल्ट कफी पिउँदा भनेकी थिई, 'अब हामी यो सम्बन्धलाई अगाडि बढाउन सक्दैनौँ, आजसम्म जे-जे भयो, सबै भुलिदिनुस्। अबबाट मेरो पिछा नगर्नुस्। तपाईं आफ्नो बाटो लाग्नुस्, म आफ्नो बाटो लाग्छु।'
उसले कति सजिलै सम्बन्ध तोड्ने कुरा गरेकी थिई। सँगै जिउने र मर्ने वाचा खाएका थियौँ तर त्यो वाचा पूरा हुन सकेन। उसले अर्कै बाटो रोजि। खोइ किन रोजि थाहा छैन। सायद मभन्दा दोस्रो राम्रो अरु कोही भेटेर होला।
फेरि सोच्छु, म पनि त उसलाई कति माया गर्थें। सारा संसार छोडेर उसैको पछि लाग्थेँ। उसको लागि सबै कुराहरु भुलिदिन्थेँ अनि ऊ पनि त मलाई खुब माया गरेको नाटक सजिलै गर्थी।' मलाई के थाहा कि ऊ नाटककार हो, मेरो जीवनसँग नाटक खेलिरहेकी छ वा मलाई नाटकको पात्र बनाइरहेकी छ।
झुट पनि कति सजिलै बोल्थी, 'तिमी बिना म अरुलाई कल्पना गर्न पनि सक्दिनँ। तिमी नै मेरो सबथोक हौ। मेरो प्राण हौ, मेरो जीवन हौ, मेरो धड्कन हौ।'
अहिले लाग्छ उसको यो भनाइ कुनै फिल्ममा मात्र उपयुक्त थियो। कहिले कहिले अनलाइन भएर पनि म्यासेज गर्दिन थिई।
'किन म्यासेज नगरेको? अरुसँग बोल्न लागिस्?' भन्दा उल्टो रिसाउँथी र अनेक बहानाका जाल बुनी मलाई फसाइहाल्थी। माकुराले भन्दा बढी जाल बुन्न सिपालु छे!। भन्ने कुरा मलाई के थाहा! झुट कुरालाई पनि कति सजिलै साचो बनाइदिन्थी। झुट बोलेर अरुको भावनासँग खेल्न कहाँबाट सिकेकी होली! अचम्म लाग्छ।
कहिले केटाकेटी जस्तो, कहिले साथी जस्तो, कहिले श्रीमती जस्तो त कहिले आमा जस्तो बन्न खोज्थी। कहिले कान्छा, कहिले प्यारा, कहिले बूढो त कहिले बेबी भनेर सम्बोधन गर्थी। उसको बेबी सम्बोधन भने मलाई मन पर्दैनथ्यो।
'कस्तो केटाकेटी जस्तो बेबी भन्या नि! अरु भन्न आउन्न? मलाई बेबी चाहिँ नभन है, अरु जे भने पनि' भन्थेँ। तर ऊ झन झिस्किएर वाक्य पिच्छे बेबी भनिरहन्थी। अनि कहिले कहिले ऊ रिसाउँदा सोही सम्बोधन गरेर फकाउँथेँ।
जति माया गरेको नाटक गर्थी त्योभन्दा बढी त ऊ रिसाएरै सताउँथी। फकाएपछि छिट्टै फकिने नत्र मलाई फकाउने होइन भनेर आफैं बोल्न आउँथी। कहिले कहिले घरको पर्खालमा आएर बोलाउथी, ममीलाई मेरो सासू-ममी भन्थी।
मलाई भन्न डर लाग्थ्यो उसले आफैं आएर भन्थी र मलाई सहज बनाउँथी। ममीले 'प्रगति त ठूलै गरेछस् नि बाबू' भन्नु हुन्थ्यो। म मुस्कुराउनु बाहेक अरु विकल्प पनि त थिएन।
कतै झ्यालमा आएर बोलाई पो हाल्छे कि भनेर ओछ्यानबाट उठेर गएर झ्यालको पर्दा खोल्छु। दिउँसो त नआउने ऊ मध्यरातमा कसरी आओस्! अनि फेरि आएर ओछ्यानमा पल्टिनुको विकल्प पनि त भएन।
आडैमा रहेको मोबाइल खोल्छु र पहिले गएर म्यासेज चेक गर्छु, कतै उसको म्यासेज आएको पो छ कि! तर उसको म्यासेज न त आएको हुन्थ्यो न त पठाउन नै मिल्थ्यो। अनि पुराना म्यासेज पढेर घरी मुस्कुराउथेँ त घरी टोलाउँथे ।
बेलाबेला त आँखाबाट थाहै नपाई आँसु खस्थे। कतै झगडा, त कतै प्रेम, कतै नछुट्टिने वाचा त कतै भविष्यका योजनाहरु कति सुन्दर सपना रचेका थियौँ।
सबै सपनाहरु क्षणभरमै चकनाचुर भए। मोबाइल ग्यालेरीमा सेभ गरेका एकले अर्कोलाई अंकमाल गरेका, चुम्बन गरेका, ओठमा ओठ मिलाएका, कम्मरमा हात, हातमाथि हात मिलाएका, एउटै आइसक्रिम दुवैजनाले एकैपल्ट मुखमा लगेको त, मेरो ओठले उसको निधारमा स्पर्श गरेका, उसका परेलाले मेरो नजरलाई नहालिरहेका फरक-फरक पोजका फोटाहरु हरेर धेरै समय हराउँथे।
पहिले उसको साथ र मायामा हराउथेँ त अहिले उसको याद र पर्खाइमा हराउँछु।
उसले अनेकौं बहनामा मलाई गरेको चुम्बन र मैले उसलाई गरेको स्पर्थ उत्ताउलोपन जस्ता थिए, बिहे अघि छुन पनि पाउनु हुन्न है भन्दै अनेक बहनामा नजिकिने उसको बानी खुब मिजासिलो थियो। हरेक केटाहरुको उद्देश्य हुन्छ कि आफूसँग सम्बन्धमा बसेको केटीले मनको भावना बुझोस् या शारीरिक सम्बन्धको लागि तयारी होस् या चाहना अस्वभाविक पनि होइन तर जीवनभर स्वीकार गर्न सकिन्छ भने मात्र।
केटीहरु चाहना हुन्छ कि, 'मैले विश्वास गरेको मान्छेले कहिल्यै धोका नदियोस् र सकेसम्म यसको लागि प्रस्ताव नगरोस्!' यो कुरा म उसैको मुखबाट सुनेको थिएँ।
उसले भनेकी थिई, 'केटीहरुले धोका नदियोस् भन्ने चाहन्छन्।' तर मलाई त उसैले धोका दिई। ऊसँग भावनात्मक, आध्यात्मक रुपमा नजिक भएपनि शारीरिक रुपमा खासै नजिक भइनँ। ऊ व्यवहारिक थिई। केटाहरुको पनि चाहना हुन्छ कि आफूसँग बोल्ने केटी व्यवहारिक, पारिवारिक,सामाजिक र भविष्य बारे खुलेर कुरा गरोस्।
साँच्चै ऊ त्यस्तै थिई, उसलाई नआउने केही थिएन। अन्त्यमा धोका पनि दिन जानेकी रहेछ, दिएर गई तर धेरै कुराहरु सिकाएर गई। साथमा सबै यादहरु छोडिदिएर गई।
मनमा अनेकौं यस्ता कुराहरु खेल्छन्, रात छिप्पैँदै जान्छ अनि आफूले आफूलाई यसरी बुझाउने कोसिस गर्छु, आफूले मन पराएको वा विश्वास गरेको मान्छेले धोका दिँदा मनलाई काबुका राख्न कठिन हुँदो रहेछ।
झुटको जन्जिरमा अडिएको यो मायाको संसारमा धोका खानेहरु कति होलान्? मध्यरातमा कसैको यादमा म जस्तै वेचैन, भावुक,जाग्राम बस्नेहरु कति होलान्? आँखाबाट झर्न नसकेका आँसुलाई भित्रै गुम्साएर राख्न कति सफल भएका होलान!
अनेकौं वाचा र बन्धनलाई तोडी बीचमै सम्बन्ध तोड्ने साहसिक भावनाका खेलाडीहरु कति होलान्? यादलाई सिरानी बनाएर आँसुको भेलमा मनलाई बगाउन कति बाध्य छन्!
एकले अर्कोलाई बुझ्ने कोसिस गर्नुपर्छ, सम्बन्ध टिकाउन आवश्यकता अनुसार झुक्न सक्नुपर्छ। कोही पनि पर्फेक्ट हुँदैन। त्यसैले एकले अर्कोमा भएका कमिकजोरीलाई सुधार्न सहयोग गर्नुपर्छ। भावनाको सम्मान र मायाको उच्च कदर गर्नुपर्छ। एकले अर्कोलाई विश्वास गर्नुपर्छ र विश्वास गर्ने वातावरण बनाउनु पर्छ।
झुटलाई लुकाएरभन्दा सत्यलाई देखाएर अघि बढ्नु पर्छ। उत्तेजित भावनालाई सम्हाल्दै व्यवहारिक र जिम्मेवारीपूर्ण सम्बन्ध निर्माण गर्नमा जोड दिनुपर्छ।