हिजोअस्तीसम्म बाको कत्रो सान थियो
स्वघोषित ठूलो मान थियो
दुई/चार थान बानर सेनाका बीचमा
उनको जयजय गान थियो
कसैले बालाई अग्लो भनिदिए
नयाँ युगको सुरुआत भन्दै
बार्दलीका बा पोलपोलमा विज्ञापन बनिदिए।
बाको अग्लिने रहर बढ्दै गयो
दम्भ र अहंकार चढ्दै गयो
बार्दलीमा बसेर बाले जुँगा काला हुँदै आछन् भन्थे
सधैँ दुईतिहाईमा अडेको मेरो शासन भन्थे
तर उमेर घर्किँदै थियो
विवेक सड्किँदै थियो।
धरहराको बार्दलीमा बसेर
भुइँका मान्छेलाई गिँज्याउन थाले
आफन्त, इष्टमित्र सबैलाई सिध्याउन थाले
भुइँ बिर्से बाले, बार्दली बिर्सेनन्
विवेकहीन र हुल्लडबाज अर्दली बिर्सेनन्
चुच्चे नक्सा पनि मासिँदै थियो
चुच्चे रेल पनि भासिँदै थियो
बार्दलीका बाले विधि मिच्न थाले
हावाबाट बाले बिजुली निकाल्छु भन्थे
तर अक्सिजन नपाई तड्पिएका भुइँमान्छेको घाँटी थिच्न थाले।
बार्दलीका बा बेइमानी पो रैछन्
त्यसैले त, बा भुइँमा बेस्सरी थचारिए
यसपालि त बा मज्जैले लछारिए।
बार्दलीका बा, धुलो टक्टकाउँदै उठे
हनुमानहरु ख्वामितको सेवामा जुटे
सत्ता अवसानले मुर्छित मलामीहरु
तामझामका साथ बालकोटतिर अघि बढे
बा फेरि बार्दलीमा चढे
गला अवरुद्ध हुनेगरी गालीहरु पढे
बार्दलीका बा सधैँका लागि रसातलमा गढे।
ए भुइँ बिर्सने बार्दलीका बा
तिम्रो घरको बार्दलीको जगले पनि
भुइँमै टेकेको छैन र?
तिमीले उद्घाटन गरेको धरहरा पनि
भुइँबाटै ठडिएको हैन र?
आकाश छुने विशाल वृक्षका जरा
कहाँ हुन्छन् देखेका थियौ?
आफू बार्दलीमा बसेको छु भनेर
भुइँमान्छेका विरुद्ध किन सारंगी रेटेका थियौ?
आजभोलि बालाई बालुवाटार र शितल निवासको बार्दलीको
झलझली सम्झना आउँदो हो
पश्चाताप त गरेकै छैनन्
आत्मग्लानी त फिटिक्कै छैन तैपनि
विगतका कुकर्महरुले टाउको खाँदो हो
कता-कता निद्रामा पनि ऐठन पर्दो हो।
होसियार, बालुवाटारको बार्दलीमा चढ्नेहरु
भुइँमान्छेलाई बिर्सिएर अघिअघि बढ्नेहरु
तिमीहरुले पनि बाको नियति खेप्न नपरोस्
तिमी हिँड्ने अपराधको बाटो
सधैँ अदालतले छेक्न नपरोस्
हैन भने, तिमी पनि बार्दलीका बाजस्तै पछारिनेछौ
बार्दलीका बाजस्तै इतिहासबाटै लछारिने छौ।